पाकिस्तानमा विस्फोटबाट सातको मृत्यु, ११२ घाइते
कक्षा सञ्चालन भइरहेका बेला विस्फोटन
पेशावर । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मङ्गलबार बिहान भएको घटनामा परी अरु ११२ जना घाइते भएका छन् ।
स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मका बारेमा विशेष कक्षा सञ्चालन भइरहेका बेलामा विस्फोटन भएको हो । विस्फोटनमा परी मृत्यु भएका र घाइते भएका सबै विद्यार्थी रहेको जनाइएको छ ।
घटनास्थलमा शङ्कास्पद झोला भेटिएको र घटनाका बारेमा पूर्ण अनुसन्धान शुरु गरिसकिएको प्रहरी अधिकृत वाक्वार अजिमले जानकारी दिए ।
बिस्फोटनका कारण कक्षा सञ्चालन भइरहेको भवन र हल क्षतिग्रस्त भएको भिडियो पाकिस्तानी सञ्चारमाध्यमले देखाएका छन् । दृश्यमा घटनास्थल रगताम्य भएको पनि देखिएको समाचारमा जनाइएको छ ।
विस्फोटनका लागि पाँच किलो विस्फोटक पदार्थ प्रयोग गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । अस्पतालका अधिकारीहरुको मृतकको सङ्ख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
घटनामा परी केही शिक्षक र कर्मचारीसमेत घाइते भएको पाइएको छ । घाइते भएका विद्यार्थी अधिकांश २५ वर्षको हाराहारीका रहेका छन् । घाइते भएकामध्ये केही विद्यार्थी अफगानीसमेत रहेको जनाइएको छ ।
घटनालगत्तै अहिले अस्पतालमा घाइतेका आफन्त र शुभेच्छुकहरुको भीड लागेको छ । उनीहरुले घाइतेहरुको अवस्थाका बारेमा जानकारी माग्ने गरेको र भेट्न खोजेको चिकित्कसहरुले बताएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५