बिहीबार, चैत १५, २०८०
13:28 | १९:१३

भारतमा तीन महिनायताकै कम संक्रमित

तीन महिनाभित्र मङ्गलबार ४० हजारभन्दा थोरै संक्रमित

रासस/पिटिआई अक्टोबर २७, २०२०


नयाँदिल्ली–भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मङ्गलबार ४० हजारभन्दा थोरै सङ्क्रमित भेटिएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४७० जना सङ्क्रमित भएको जनाएको छ । योसँगै भारतमा कूल सङ्क्रमितको सङ्ख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ । त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ । तीमध्ये ४८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको संख्या भारतमा ७२ लाख एक हजार ७० रहेको अधिकारीहरुले जनाएका छन् । सरकारी निकायले भारतमा कोरोनाभाइरसबाट मुक्त भएकाको अनुपात ९०.६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये १.५० प्रतिशत मानिसको मात्रै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि घटेर सात लाखभन्दा कम भएको छ ।

अधिकारीहरुका अनुसार कूल छ लाख २५ हजार ८५७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा केही हप्ता अगाडिसम्म कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकोमा पछिल्लो केही हप्ता अगाडिदेखि दैनिकरुपमा घट्दै गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू