बिहीबार, वैशाख ६, २०८१
03:04 | ०७:४९

खल्लो दशैँ ! टीकाकै दिन भएन चहलपहल

रासस अक्टोबर २६, २०२०

तस्विर- अनलाइनखबर

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन ।

यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत वर्षभन्दा कम चहलपहल देखिएको हो । राजधानीमा प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घर घरमा टीका लगाउँदैछन् । 

कोरोना त्रासकै कारण यो वर्ष राजधानीबाट आ–आफ्नो थातथलोमा दशैँ मनाउन जाने पनि कम नै भएका थिए । टीका लगाउन हिँड्नेहरु पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गर्दै हिँड्ने गरेका छन् ।

उता राष्ट्रपति, प्रधानमन्त्री लगायतबाट टीकाजमरा वितरणको कार्यक्रम समेत यसपटक राखिएन ।  

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान १० बजेर १९ मिनेटको साइत उत्तम रहेको भनी निर्णय गरेको थियो । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, उनले भने 

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ११ मिनेटमा जुराइएको थियो । भ्याउनेले यसै समय देवी विसर्जन गरी सोही साइतमै टीका लगाएका छन् । नभ्याउनेले भने कोजाग्रत पूर्णिमासम्म उपयुक्त समयमा लगाउनेछन् । 

विजयादशमीको दिन आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले बताउनुभयो । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरस सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी वडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । 

त्रेता युगमा आजैका दिन भगवान रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू