बुधबार, वैशाख १२, २०८१
03:00 | ०७:४५

काबुलको आत्मघाती बम हमलामा ३० को मृत्यु

रासस-एएनआई अक्टोबर २५, २०२०


काबुल–९ कात्तिक- अफगानिस्तानको राजधानी काबुलनजिकैको एक शैक्षिक संस्थालाई लक्षित गरेर गरिएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको छ ।

अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरेर भएको सो आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणमा परी कम्तीमा पनि ७० जना घाइते भएका बताइएको छ ।

काबुलनजिकैको दश्त–ए–बार्ची क्षेत्रमा सो हमला भएको हो । उक्त क्षेत्रमा शिया मुसलमानको बाक्लो बस्ती छ । सो स्थानको भवनलाई लक्षित गरी आक्रमण भएको थियो । एकजना आत्मघाती व्यक्तिले सो भवनमा पुगेर आक्रमण गराएको बताइएको छ । ती व्यक्ति आत्मघाती भएको थाहा पाएर सुरक्षाकर्मीहरुले रोक्न खोज्दाखोज्दै विस्फोट गराएको बताइएको छ ।

त्यस आक्रमणको इस्लामिक स्टेटले जिम्मा लिएको छ । उनीहरुले सामाजिक सन्जालमा एक सन्देश पोष्ट गर्दै सो आत्मघाती विस्फोटको जिम्मा लिएका हुन् । पछिल्ला केही दिनमा अफगानिस्तानमा हिंसा बढेको छ । अधिकांश आक्रमण तालिबान समूहले गर्ने गरेको छ । तर, यो पछिल्लो आक्रमणको भने स्लामिक स्टेटले जिम्मा लिएका छन् ।

एता कतारको राजधानी दोहामा सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहेको छ । तर यता अफगानिस्तानमा भने हिंसा रोकिएको छैन् ।

सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिए
उता, अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको बताइएको छ । अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका मारिएका अफगानिस्तानको मानवअधिकार आयोगले जानकारी दिएको छ ।

उक्त आयोगले तखार क्षेत्रमा अफगानिस्तानको सरकारी सैन्य फौजले तालिबानीहरु रहेको सूचनाको आधारमा हवाई माध्यमबाट कारबाही गरेको थियो र त्यस कारबाहीमा कैयौँ व्यक्ति मारिएका र घाइते भएका छन् । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमी खालिजादले पनि सो जानकारी दिएका छन् ।

तखार प्रान्तमा हिजो गत शुक्रबार कारबम हमला गरेर कैयौंँ निर्दाेष गाउँलेको हत्या भएको थियो । उनीहरु त्यसपछि भागेका थिए ।
उनीहरुलाई कारबाहीका लागि खोज्ने क्रममा अफगानिस्तानको सरकारी सेनाले हवाई कारबाही गरेको थियो । त्यसै क्रममा बालबालिका मारिएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू