बिहीबार, वैशाख १३, २०८१
01:33 | ०६:१८

भारतमा दैनिक संक्रमितको संख्या घट्दो

रासस-एएनआई अक्टोबर २१, २०२०

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या घट्दै गइरहेको छ । कोरोनाभाइरसको महामारी शुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक संख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो । 

दैनिक झण्डै एक लाखसम्म सङ्क्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको तथ्याङ्मा देखिएको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ५४ हजार ४४ जना सङ्क्रमित भएका छन् । 

सोही अवधिमा कोरोनाका कारण ७१७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ७६ लाख ५१ हजार १०८ पुगेको मन्त्रालयले जनाएको छ । 

कुल सङ्क्रमित मध्ये सात लाख ४० हजार ९० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि तथ्यांकमा देखिएको छ । 

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्यामा पनि पछिल्ला केही हप्तादेखि कमी आएको छ । लामो समयसम्म दैनिक झण्डै १० लाख मानिस सङ्क्रमित अवस्थामै रहने गरेकोमा अहिले सात लाखको हाराहारीमा झरेको हो । 

सङ्क्रमित भएर पनि निको भइसकेकाहरुको कुल सङ्ख्या ६७ लाख ९५ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी भारतमा कोरोनाका कारण कुल मृतकको सङ्ख्या एक लाख १५ हजार ९१४ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतका प्रदेशहरु मध्ये कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिले पनि एक लाख ७४ हजार ७५५ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू