शुक्रबार, चैत १६, २०८०
06:29 | १२:१४

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता

प्रवेश गरेका मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नचाहिने

रासस अक्टोबर १९, २०२०

काठमाडौं । नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ ।

ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्काका देशमा प्रत्येक पटक प्रवेश गरेका मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र ओमानका तर्फबाट त्यहाँका परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले हस्ताक्षर गरे । सो सम्झौतापछि ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधि बढाउन सहयोग पुग्ने मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी पछिल्लो समय ओमान अन्तरराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटका रूपमा विकास भइरहेका सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिका लागि त्यहाँ हुने भ्रमणमा समेत सो सम्झौताले सहजीकरण गर्ने जनाइएको छ ।

हस्ताक्षर कार्यक्रममा उनीहरुले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामलाई थप गतिशील र सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू