शनिबार, वैशाख ८, २०८१
21:04 | ०१:४९

यूकेमा ‘अंकमा आधारित इमिग्रेसन’ कार्यान्वयनको तयारी शुरु

व्यवसायीहरुलाई नयाँ प्रणालीबारे अपडेट गर्न अभियान

नेपाली लिङ्क अक्टोबर १६, २०२०

लन्डन । बेलायतमा आउंदो वर्षको शुरुदेखि लागू हुने पोइन्ट बेस्ड् (अंकमा आधारित) इमिग्रेसन प्रणालीका लागि तयार रहन बेलायत सरकारले व्यवसायीहरुलाई आव्हान गरेको छ । नयाँ प्रणालीका बारेमा जानकारी गराउने उद्धेश्यले देशव्यापी रुपमा एक प्रबर्द्धनात्मक अभियान समेत शुरु गरेको छ ।  

होम अफिसले यसै साता शुरु गरेको अभियानअन्तर्गत विभिन्न मिडिया र माध्यमबाट व्यवसायीहरुलाई नयाँ इमिग्रेसन प्रणालीबारे अपडेट गर्ने प्रयास गरिनेछ । जसका लागि संचारमाध्यमहरुका साथै सामाजिक सन्जाल, डिजिटल मिडिया तथा विज्ञापनहरुको सहयोग लिने होम अफिसको योजना छ ।  

यो वर्षको समाप्तिसंगै बेलायतको युरोपसंगको ‘फ्री मुभमेन्ट’ सम्झौता अन्त्य हुँदैछ । जसकारण सन् २०२१ को शुरुदेखि  युरोपेली नागरिकहरुलाई काममा लगाउँदा पनि अन्य मुलुकका नागरिकको लागि जस्तै इमिग्रेसन प्रक्रिया पूरा गर्नुपर्नेछ ।  

यसअघि युरोपेली मुलुकका नागरिकहरु स्वतन्त्रतापूर्वक बेलायत आउन र निर्वाध रुपमा काम गर्न सक्ने व्यवस्था छ । ‘फ्रि मुभमेन्ट’ को अन्त्यसंगै उनीहरुले पाउंदै आएको विशेष अधिकार खोसिने भएपछि बेलायतमा काम गर्न आउने लाखौं युरोपेली नागरिकका रोजगारदाता कम्पनीहरुले इमिग्रेसन प्रक्रिया पूरा गर्नुपर्ने भएको हो ।  

युरोपेली नागरिकहरुको हकमा लागू हुने यही परिवर्तनबारे ‘अपडेट’ गराउन नै सरकारले प्रवर्द्धनात्मक अभियान शुरु गरेको बताइएको छ ।  

विदेशी कामदारलाई रोजगारी दिनका लागि स्पोन्सर लाइसेन्स लिनुपर्ने व्यवस्था रहेका कारण सम्बन्धित कम्पनीहरुलाई आवश्यक तयारीका लागि सूचित गर्ने प्रयास सरकारले गरेको छ ।  

‘फ्रि मुभमेन्ट’ को अन्त्य र अंकमा आधारित इमिग्रेसन प्रणालीको सुरुआतपछि गैरयुरोपेली मुलुकबाट आउने कामदारको लागि बेलायतमा थप अवसर मिल्ने आशा गरिएको छ । जसबाट नेपालीहरु समेत लाभान्वित हुने अपेक्षा छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू