सोमबार, असोज २८, २०८१
23:57 | ०४:४२

बैंकक वेश्यालयमा बितेका रातहरु

भीम राई अक्टोबर १६, २०२०

कप्तान प्रशान्त राईको हैकममा उडेको आर ए ४०१ को एयरबस ‘ए ३२०’ सुवर्ण भूमि विमानस्थलमा उत्रिँदा अपरान्हको सूर्य अन्डामान सागरको आकाशमा रुमलिइरहेको थियो ।

साढे तीनघण्टा अगाडि मात्रै संसारको अति कम विकसित राष्ट्रको जोखिमपूर्ण अन्तर्राष्ट्रिय विमानस्थलदेखि अति सुविधा सम्पन्न विमानस्थलमा पुग्दा मनभित्र किन किन खिन्नता पैदा भइरहेको थियो । एअरबस विमानस्थलमा उत्रेपछि निम्बु घाँस र पाक थाइको मिश्रित सुगन्धसँगसँगै तेश्रोपटक बैंकक अध्यागमनलाई हामीले कछुवा गतिमा पार गरिरहेका थियौ । त्यसपछि मेरो अनन्त यात्रामा सदैव साथ दिने जीवन संगीनीसँग एक एक वटा सुटकेस गुडाउँदै गुडाउँदै अध्यागमनबाट यात्रु प्रतिक्षालय हलमा पुगेका थियौं ।

अप्रतिष्ठित मौसमको आँधीबेरीसँग विमानमा आएको हलचलले आकुल ब्याकुल बनाउँदा हामी जानुपर्ने होटलको नाम नै भुलिसकेका थियौं । त्यसैले प्रतिक्षालयमा रहेको कुर्सीमा थचक्कै बसेर होटलको नाम पत्ता लगाउन मोबाइलमा भएको विद्युतीय पत्रहरूलाई कोट्याउन शुरु गरेका थिए । किनभने होटलको अग्रिम आरक्षण मैले आफै गरेको थिइनँ, छोराले लण्डनबाट गरिदिएका थिए ।

विद्युतीय पत्रहरू खोलेर होटलको नाम पत्ता लगाएपछि एउटा ट्याक्सीलाई समातेर हामी होटलतर्फ लाग्यौं । हाम्रो होटल लगभग ५० हजार बेश्याहरूको रमाइलो वस्ती रहेको मध्य बैंककमा अवस्थित थियो । हामी बैंकक पुग्दा त्यहाँको मौसम अति सफा एवम् आकर्षक थियो ।

त्यति रमाइलो मौसम भएपनि घरीघरी शियामको खाडीबाट उत्पन्न भएको दृश्यहीन चिसो बतास चोपराय नदीमा ठोकिएर हाम्रो गालासम्म आइपुग्दा झन् आनन्दित हुने गर्दथ्यो । एक घन्टा जतिको रमाइलो यात्रापछि हामी तिनै चोपराय नदीको किनारमा रहेको होटल ‘अर्बना साथ्रोन’ पुगेका थियौं ।

मनभरि सयकडौं कौतुहल बोकेर होटलमा पुग्दा ताराको मुहार चन्द्रमाको किरणले झै प्रज्वलित बनेका थिए । ट्याक्सीलाई बिदाइ गरेपछि मुस्कानको भूमी भनेर लब्धकीर्ति कमाएको थाइल्याण्डको पाँचतारे होटल अर्बना साथ्रोनमा हामीले पहिलो कदम पार्यौ ।

मुख्य ढोकाबाट भित्र पस्ने वितिक्कै स्वागत गर्नेले थाई मुस्कानसहित, ‘तपाईहरूलाई अर्बना साथ्रोनमा स्वागत छ,’ भन्दै हामीलाई फूलको थुङ्गाले स्वागत गरेकी थिइन । उनको त्यति आकर्षक मोहडा र कामोतेजक जिउडाल देखेपछि कृष्ण बनेर मैले सुस्तरी ‘धन्यवाद’ भन्दै उनलाई जवाफ फर्काए । हाम्रो राहदानीको पानाहरू पल्टाएर हेरेपछि कम्प्युटर पटलबाट उनी उठिन र हिँड्दै म उभिरहेको ठाउ नजिकै फेरि आइपुगिन् ।

‘महाशय। तपाईहरूको कोठा तिसौ तलामा रहेको छ । यी चाबी लिनहोस् र कुनै समस्या भएमा म यहि हुनेछु ।’ भन्दै मलाई कोठाको चाबी हातैमा थमाइदिइन् ।

मेरो हातमा चाबी परेपछि हामी विद्युतीय लिफ्ट चढेर सरासर तिसौ तलामा पुग्यौं । ढोका खोलेर कोठामा पस्ने वित्तिकै बैंकक सहरको सुदृश्य देखेपछि मेरी जीवन सङ्गीनीले पहिलोचोटी वाउ भन्दै मुख खोलिन् । त्यति ठूलो भोक बिलासीय कोठाको एक छेउको झ्यालबाट सानदार चोपराय नदी र अर्को तिरको झ्यालबाट साथोन थाई सडक किनारमा रहेका गगनचुम्वी महलहरूको मनमोहक दृश्यलाई त्यहीँबाट चुम्बन गर्न मिल्दथ्यो ।

कोठाबाट देखिएको चोपराय नदीको पानीझैं बैंककको समय निरन्तर अगाडि बढिरहेको थियो । लिफ्टबाट म सँग सँगै गुडाउँदै ल्याएको सुटकेसलाई त्यतिक्कै भुइँमा छाडेर हतारहतार बार्दलीमा निस्केर एकछिन शान्तिको सास फेरें । बैंकक सहरसँग लुकामारी खेल्दै अविरल बगिरहने चोपराय नदीको बिलोकनिय दृश्यलाई तिनै बार्दलीबाट एकोहोरो हेरि रहेको थिएँ ।

‘दृश्य मात्र हेर्ने हो कि केही खानेकुरोको पनि ब्यवस्था गर्ने हो ? मलाई त भोक लागि सक्यो ?’ नदी र सहरको दृश्यवलोकनले मन्त्रमुग्ध भएर भावनामा बहिरहँदा अचानक ताराको विषालु आवाज मेरो कानमा बज्र्यो ।

होटलको तिसौ तलामा रहेको कोठाभित्रको त्यति शान्त वातावरण लाई विश्रान्ति गर्दै निस्केको उनको जहरिलो भनाइलाई मैले राम्ररी बुझेको थिएँ । त्यसैले केही नबोली लुरुलुरु कोठाभित्र पसेर सुटकेसलाई थपक्कै पर्खाल नजिकै कुनामा राखें । केही समयअगाडि स्वागतिकासँग जिस्कँदै बोल्दा उनको मुहारमा आएको अचानक परिवर्तन मैले त्यसबेला याद गरे । तर मेरो सट्टामा जुनै मर्दले पनि बैंककको त्यस्ती सुन्दरीहरूसँग मौका पाउँदा मौकाको फाइदा उठाइहाल्छन होला भन्ने मैले मनमनै कल्पना गरे ।

तैपनि तारालाई कसरी खुशी बनाउने होला भनेर मेरो दिमागलाई थोरै अभ्यास गराए । पलङको नजिकै बिजुली कित्ली थियो । तिनै कित्लीमा भरि पानी उमालेर हामी दुवै जनाको लागि एक कप चिया बनाएँ । टेवलमाथिको बिस्कुटका केही टुक्राहरूसँगै उनको अगाडि चिया राखिदिएँ ।

तातो तातो चिया र बिस्कुटले मास्तिर लागेको थर्ममिटरको पारो सुस्तरी ओरालै ओरालो झर्न थाल्यो । त्यसपछि मैले पनि एक कप जसमिन चिया हातमा लिएर पुनः बार्दलीमा निस्केर कुर्सीमा आरामले बसें । अनि बैंककको गगनचुम्वी महलहरूलाई दोश्रोपटक नियाल्न थालें ।

हाते घडीले बेलुकीको समय ६ बजाएको थियो । यद्यपि बैंककको गर्मी दुईबाट एकमा झरेको थिएन । हामी केहीबेरपछि होटलको रिसेप्सन झरयांै । त्यहाँ झरेपछि मैले तिनै युवतीसँग सहरको एउटा नक्सा मागेर गोजीमा हाले । होटलबाट बाहिर निस्केपछि नजिकै रहेको पुलबाट साथोन थाई सडकलाई सुस्त गतिमा पार गरयौं । सडकको पारीपट्टि पुगेर अर्को कन्भन्ट रोडको पेटीमाथि हिँड्न थाल्यौ । यौनको मुख्य भूमिमा त्यसरी हिँड्दै गर्दा सडक किनारमा रहेका भट्टी पसलहरू असाध्यै रङ्गीचङ्गी र जीवित देख्न थाल्यौं ।

जति जति हाम्रा कदमहरू अगाडि बढ्दै जान्थे, उति उति हामीले मसाज पार्लरहरू पार गरिरहेका हुन्थ्यौं । त्यतिबेला मसाज पसलबाट निस्केका मेवा, चमेली, मालती, नरिवल र निम्बु घाँसका सुगन्धले हाम्रो नाकसँग जुहारी खेल्न खोजिरहेका आभास हुन्थे । अनि तिनै मसाज पार्लरहरूको चौघेरामा ठाँटिएर बसेका अर्धनग्न युवतीहरूको मुखबाट निस्केको थाई मसाज र तीन सय भाट भन्ने सुरिलो शब्दले हाम्रो कानसँग मितेरी गाँसिसकेको थियो ।

सडक किनारमा देखिएकी त्यति राम्री षोडशिहरूको पहिरन दृष्टि लगाउँदा मेरा आँखाका ढकनीहरू किन किन आफै बन्द हुन खोज्दथे । यद्यपि दुवै आँखा खोलेर सिधै नजर लगाउन नसकेता पनि छड्के नजरले उनीहरूको मधुर मुस्कानलाई चाहिँ सरम मानी मानी भएपनि हेर्दै अगाडि बढिरहन्थें । उनीहरूको चालढाल, शैली र ढर्रा देखेर लजाउन २१ औं शताब्दीको मेरो मानव मस्तिष्क र शर्मशिल आत्मालाई भित्र भित्रै धिक्कार छ भन्दै अगाडि हिँडिरहे ।

मुस्कानको सहर ‘ल्याण्ड अफ स्माइल’ मा देखा परेका सुन्दर मुहारहरूको नजर लगाउँदै लगाउँदै केहीवेरमा हामी सिलोममा अवस्थित ‘सोइ थानिया’ पुग्यौं । ‘सोई’ भन्नाले साधारणतयः थाई भाषामा मुख्य सडकबाट छुट्टिएर निस्केको सहायक मार्गहरूलाई जनाउने गर्दथ्यो । तिनै सोइ थानियादेखि पातपोङ वरिपरि क्षेत्रलाई पर्यटकहरूले विश्वको अति प्रख्यात मनोरञ्जनात्मक जिल्ला बैंकक ‘रातो बत्तिको जिल्ला’ भनेर चिन्दथे । समग्रमा पातपोङ, नाना प्लाजा र सोई काउ बोई चाँहि बैकंकको मुख्य यौनिक कर्म भूमि रहेको थियो ।

हाइनान, चाइनाबाट आएका ‘पातपोङपानीक’ परिवारले सन् १९४६ बाट त्यस क्षेत्रमा व्यापार शुरु गरेका थिए । तिनै चाइनिज पारिवारिक नामबाट त्यस इलाकालाई ‘पातपोङ’ भन्ने गरिन्थ्यो । रात्रीकालिन बजारको मुटु मानिने त्यस स्थानमा पातपोङ एक, दुई, तीन र चार गरेर समानान्तर यौन गतिविधि संलग्न हुने गल्लीहरू रहेका थिए । तर त्यस क्षेत्रमा वेश्यावृतिको मुख्य जरो गाड्ने श्रेयचाहिँ तिनै भियतनाम युद्धका पूर्व अमेरिकन सिपाहीहरूलाई जान्थ्यो ।

अङ्ग्रेजी चर्चित गायक मर्री हेडको हृदयस्पर्सी गीत ‘वान नाइट इन बैंकक’ लाई सम्झँदै सम्झँदै बैंककको यौन बजार र रात्रीकालिन बजार हामीले सँगसँगै भर्न थाल्यौं । केहीवेरमा ‘किङ्गस क्याश्चल बार’ पार गरेर पातपोङ–२ सडकमा हिँड्दै जाँदा बैंककको गर्मीले लुगा लगाउन बिर्सेर सानु बुबु छोप्ने कपडाको धर्सो र तीघ्राको बीच भागमा लिप्त भएको अन्तवस्त्र मात्र लगाएकी नगर वधुहरूसँग हाम्रो रमाइलो भेटघाट हुन थाल्यो । तिनै पाटपोङ–२ सडकको पेटीमाथि केहीवेर हिँडेपछि आयरल्याण्ड बाट ९ हजार ८ सय ५० किलोमिटर टाढा बैंककमा रहेको आइरिस भट्टी पसल ‘द पेड्डी फिल्ड’ का सामुन्ने पुग्यौं ।

त्यति रमाइलो मौसमसँगसँगै द पेड्डी फिल्ड अगाडि सडक पेटीमा एउटा हातमा गिनिस बियर र अर्को हातले थाई युवतीको नग्न फिला मालिस गरिरहेको जिम डेभिससँग मेरो अचानक भेट भयो । क्रस्वी, लिभरपुलबाट घुम्न आएको जिम लिभरपुलमा हुँदा गल्फ खेल्ने मेरो असल मित्र थिए ।

‘हे भगवान, कति सानो संसार रहेछ’ मलाई देख्ने वितिक्कै जिमले त्यसो भनेर जिस्क्याएका थिए ।

जिमसँग अचानक बैंककका भेट हुँदा हामी दुवैजना एक अर्कामा केही छिन छक्क परयौं । एउटा जिन्दगी जिउनुपर्छ, त्यसैले जीवित हुँदा मात्रै आनन्द गर्न सकिन्छ भन्ने विचारका धनी ऊ वर्षमा दुईचोटी शियाम आउने गरेका रहेछन् । धेरै लामो समयसम्म सँगसँगै गल्फ खेल्दा पनि बैंककमा आएर तरुनीहरूसँग औधि मनोरञ्जन लिन्छु भन्ने कुरो उसले मलाई कहिले पनि सुनाएको थिएनन् ।

‘खानु, पिउनु, घुम्नु र यौन मात्र मेरो जिन्दगीको परिभाषाभित्र पर्छन,’ भन्ने कुरो जिमले मलाई बैंककको वेश्यालयमा बताएका थिए । उसको त्यस्तो विचारलाई मैले केही हदसम्म स्वीकारोक्ति जनाए । कमिलाहरूको तातिमा हुने सँक्षिप्त भेटघाट झै हाम्रो पनि छोटो भेटघाट भयो ।

केहीवेरपछि तिनै बैंककमा भेटिएकी केटी साथीलाई उसले सर्लक्कै अँगालोमा बाँध्यो । अनि उनको वक्षस्थलमा दाहिने हात मज्जाले आराम गरायो । त्यसपछि केटीसँग आइरिस भट्टीपसल भित्र छिरयो । हामीले सडकको पेटीमा उभिएर रोमियो जुलियटको जस्तो जीवित नाटक त्यतिबेला हेरिरह्यौ । त्यसपछि तारा र म क्रमशः गन्तब्यहीन यात्रातर्फ अगाडि बढ्यौं ।

भट्टी पसलहरूको रातो बत्ती र सडक किनारमा बलेका चहकिलो बत्तीको प्रकाशले बैंककमा रात र दिन छुट्याउन हम्मेहम्मे पर्दथ्यो । केही समयपछि समलिङ्गीहरूको बार ‘पिङ्क प्यान्थर’ र ‘ड्रिम ब्योइ’ लाई हामीले आस्ते आस्ते पार गरयौं । त्यहीँबेला हाम्रो सामुन्ने लगभग साठीको दशकमा पुगेका जस्तो देखिने एक जना तालु खुइले अङ्ग्रेज बुढो देखा परयो ।

बायाँ हातमा बियर समातेर त्यो बुढो दुईजना चुकचुकाउँदो उमेरका वस्त्रविहीन युवतीहरुको बीचमा नव दुलाहा झै भएर बसिरहेका थिए । वेश्यालयको युवतीहरूले भन्दा पनि उसले लगाएको ‘पोर्न हब’ गन्जिले अचानक मेरो ध्यानाकर्षण गरयो । त्यति फटाहा गन्जीले उसको ह्याकुल्लो छोपीरहेको देख्दा बुढोले कहाँ भेटाएछन् भनेर मेरो कदम केही बेर टक्क रोकियो ।

फटाफट चाल्दै गरेका मेरा कदमहरू एक्कासी रोकिएकोले हाम्रा आँखाहरु दुईबाट चार भए । म उसको सामुन्ने टक्क रोकिएको देखेर ‘तिमी हरायौ ?’ भन्दै बुढाले मलाई जिस्क्यायो । मैले प्रति उत्तरमा तपाईको गन्जी ज्यादै राम्रो रहेछ भनिदिएँ । धन्यवाद भन्दै ऊ थोरै मुस्कुरायो । त्यसपछि हाम्रो एक अर्कामा भलाकुसारी शुरु भयो । उसको नाम गेरविन थोमस रहेछ । र मर्था टिडभेल, वेल्स बाट आएको भन्ने उसले बताए । सात पुस्तासम्म बेलायती बेरोजगार भत्ता खाएर बाँच्ने मर्था टिडभेलका कुहिरे पनि त्यहाँ छुट्टी मनाउन आएको देख्न पाउँदा मलाई औधी खुशी लाग्यो ।

हाम्रो भेट भएको केही मिनेटभित्रै उसको जीवन कहानी बमन गर्न थाल्यो । पारपाचुके गरेर वैवाहिक जीवनबाट सन्यास लिएपछि आनन्ददायी समागमको लागि संसारको सबैभन्दा उत्तम स्थान बैंकक हो भन्दै उसले मलाई उत्तम सल्लाह दिन थाल्यो । ‘गेरविन, तपाई असाध्यै भाग्यमानी हुनु हुने रहेछ । जस्ले गर्दा तपाईलाई एक्कै साथ दुई दुई जना कामोतेजक युवतीहरू मिलेछन् ।’ भन्दै मैले तालु खुईलेलाई जिस्काइदिएँ ।

‘थाइल्याण्डमा एक मिलियन युवतीहरुले काँचो मासुको ब्यापार गर्छन् । अझै संख्या त्यो भन्दा उभोउभो होला ? निश्चय नै तिमीले पनि एकजना भेटिहाल्नेछौ । किन त्यति चाँडै सुर्ता गर्छौ ?’

उसले सहानुभूति प्रकट गर्दै मलाई जवाफमा फर्कायो ।

सडक पेटीमा संक्षिप्त परिचय भएको गेरविनको कुरो वास्ता नगरी म सरासर अगाडि बढिरहें । तर पिङ प्यान्थर बार नजिकै भेटिएका खुईले बुढोसँगै बस्ने एक जोडी युवतीहरूचाहिँ स्त्रीलिङ्गी हुन् वा तेश्रीलिङ्गी हुन् भनेर ठम्याउन मलाई निक्कै मुस्किल परयो ।

हामीले पातपोङ २ को दायाँबायाँ किनारमा रहेका यौनकार्यसँग सम्बन्धित सर्वोत्कृष्ट गोगो बारहरू नियाल्दै अगाडि बढिरह्यौ । तर ‘पुसि गोगो’ बार भित्र पसेर एकदम कसिलो स्त्री प्रजनन अंगले सिट्ठी पुकेको, चुरोट पिएको, कोकको बोतल फुटाएको र पिङपङ बल उडाएको हेर्ने अभिष्ट आकाङ्क्षा ताराले गर्दा पूरा हुन सकेनन् ।

आ….आखिर जिन्दगीको सबै रहरहरू पनि त पूरा हुन सक्दैन भन्दै सडक पेटीबाट लामो समयसम्म यौन दोकान, कारवकी, मसाज, साउना, पिङपङ, डिस्को र बार गल्र्सको दृश्यावलोकन गर्दै हिँडिरह्यौ । त्यति राम्रो ब्यवस्थित वेश्यालयमा बिताइने रात्रीकालिन जिन्दगीको झझल्को दिलाउने प्रख्यात अङ्ग्रेजी चलचित्र ‘द डियर हन्टर’ र ‘मिस साइगन’ को छायाङ्कनस्थल नजर लगाउँदै लगाउँदै हामी होटलमा फर्केर बास बस्यौं ।

भोलि बिहानभरि सहरको परिक्रमा गरयौं । दिउँसो चोपराय नदीमा जलयात्रा गरेपछि बेलुकी सिलोम नजिकै रहेको थाई रेस्टुरेन्टमा पाकथाई भोजन गरयौं । त्यसपछि भूमिगत रेल मार्गबाट नाना प्लाजातर्फ लाग्यौं । नाना प्लाजा बैंककको अर्को रातो बत्तिको जिल्ला थिए ।

‘वेश्यावृत्तिको आवश्यक छ, नत्र भने मान्छेले सडकमा हिँड्ने सभ्य नारीहरूलाई आक्रमण गर्ने खतरा हुन्छ ।’

नेपोलियन बोनापार्टले भनेका उक्त हरपहरू बैंककको वेश्यालयमा पुगेर मैले झलझली सम्झिरहें । अनि भूमिगत रेलबाट निस्केर केहीबेरमा नाना प्लाजा होटलको अगाडि पुगेका थियौं । अनि त्यहाँका प्रत्येक भट्टी पसलहरूबाट निस्केका ठुल्ठुला सङ्गीतका आवाजहरू सडकसँग ठोकिएर प्रति ध्वनीमा परिणत भएका सुन्दै सुन्दै हिँड्यौ । हामी केहीबेरमा ‘टेम्प्टेसन गो गो’ बारलाई छाडेर ‘ट्रेप बार’ नजिकै पुग्यौं ।

ट्रेप बारको अगाडि फलामे डण्डीले बारेको सानो स्थान थियो । त्यस क्षेत्रभित्र सानो धर्सोले थोरै स्तन ढाकेर बिकिनीमा सजिएकी स्याउ स्याउती बेयराहरु देखिन्थे । हामीले तिनै बेयराहरुलाई एकएक गिलास वाईन मगायौ । र वाइन पिउँदै पिउँदै आफ्नो सिधै अगाडि परेका स्वतन्त्र वेश्याहरू ‘फ्रि लान्सर’ नियालेर हेर्न थाल्यौं ।

लखौरीहरूले आफ्नो सामुन्ने परेका कुनै पनि पुरुषलाई लटर पटर अङ्ग्रेजी भाषामा, ‘म तपाईसँग रात बिताउन चाहन्छु,’ भन्ने सुनौलो वाक्यांशहरू छाडेका हाम्रो कानसम्मै यदाकदा आइपुग्ने गर्दथ्यो । कलङ्कीत नाना प्लाजाको कुनाबाट युवतीहरूले आफ्नो शरीर बेच्नको लागि आफैले मोल मोलाइ गरिरहेको रमाइलो दृश्य त्यहाँ देख्न सकिन्थ्यो । आफ्नै आँखा अगाडि त्यस्तो बिलोकनीय दृश्य देखेपछि –

‘तारा, मानिसहरूको जिन्दगी कति अचम्मको छ हगि…?’

हातमा वाइनको गिलास समातेर बैंककको वेश्यालय अगाडि भावनामा बहेर उनलाई मैले जिन्दगीको विषयमा सोधेको एउटा जटिल प्रश्न थियो । तर मेरो प्रश्नले ताराको हृदयलाई पटक्कै छोएन, किनभने पथ्थरको दिल हुनेहरू म जति के बहकिन सक्दथे ? मैले त्यहीँ कुनामा बसेर पूर्व निरीक्षण गरेको सियोल, बर्लिन र आम्सटर्डमको वेश्यालयहरूभन्दा त्यहाँ बिलकुल फरक र भिन्न महसुस पाएँ । उक्त वेश्यालयहरूमा युवतीहरू कोठीभित्र सजिएका हुन्थे र ग्राहकहरूले झ्यालबाहिरबाट हेर्नु पर्दथ्यो । तर बैंककमा सिधै गोरु मोलाइ हुने गर्दथ्यो ।

एक्कै सासमा वाइनको गिलास रित्याएर हामी पुनः आफ्नो बाटो लाग्यौं र ‘कासानोभा बार’ नजिकै पुग्यौं । जहाँ बग्रेल्ती तेश्रोलिङ्गीहरू देखा परेका थिए, किनभने कासानोभा तेश्रो लिङ्गीहरूको आफ्नै भट्टी पसल थियो । भट्टी पसलको छेउछाउ बसिरहेका सबै तेश्रोलिङ्गीहरू हुन् भनेर तारालाई सुनाउँदा उनी केहीबेर हाँसेर मुर्छा परिन् । उनले जिन्दगीमा प्रथम पटक स्त्रीलिङ्गी भन्दा तेश्रोलिङ्गीहरू त्यति बिघ्न सुन्दरी हुने रहेछिन् भनेर चाल पाएकी थिइन् ।

तर उनीहरु तेश्रोलिङ्गी बारको नजिकै बसिरहेको देखेर मैले तेश्रोलिङ्गी हुन भनेको थिएँ । सायद सबैजना तेश्रो लिङ्गीहरु नहुन पनि सक्दछन् । जबसम्म उनीहरूलाई पुरै निर्वस्त्र बनाएर आफ्नो अगाडि सुरिलो अवस्थामा राखिदैन तबसम्म म आफै पनि उनीहरूको पहिचान ठ्याक्कै गरिहाल्न सक्दैनथें ।

मनभरि तेश्रोलिङ्गीहरूको अदृश्य स्नेह सँगालेर नाना प्लाजाबाट सधैको लागि बिदा भयौं । त्यसपछि हामी सुकुम्भित नजिक्कै रहेको प्रख्यात ‘सोइ काउबोई’ तर्फ लाग्यौं, सोइ काउबोइ बैंककको अर्को प्रख्यात रातो बत्तिको जिल्ला थियो ।

सन् १९७७ मा अमेरिकन पूर्व बायु सेना टिजी एडवार्डले त्यहाँ पहिलो भट्टि पशल खोलेका थिए ।

उसले बाचिन्जेल सम्म आफ्नो भट्टी पसलमा काउबोइ टोपी लगाएर ग्राहकहरूलाई सेवा प्रदान गरेका थिए । उसको मृत्यु पश्चात रात्रीकालिन यात्रा लेखक बर्नाड ट्रिङ्कले त्यस ठाउँको नाम सोइ काउबोई राखेर लेखहरू प्रकाशन गर्न थाले । चालिस वटा जति भट्टी पसलहरू र लगभग १५० मिटर जति लामो दुरीमा रहेको लखर लखर पैदल यात्रा गर्न मिल्ने तिनै सानो गल्लीलाई कालान्तरमा गएर ‘सोई काउबोई’ भन्ने गरियो ।

सुकम्भित रेल स्टेसन बाट हामी त्यहाँ पुग्ने बितिक्कै चार पाँचजना युवतीहरूले सोई काउबोईमा स्वागत छ भन्दै उनीहरूको भट्टी पसलमा बोलाउन थालेका थिए । अति सुष्मबस्त्रले जीउ ढाकेको युवतीहरुको आकर्षक शरीरले त्यहाँ जुनसुकै पुरुषको मन सहजै जित्न सक्दथ्यो । उनीहरूको स्वागतलाई बेवास्ता गर्दै हामी केही अगाडि बढिरह्यौ ।

त्यहाँको सबैभन्दा प्रख्यात ‘सहारा बार’ अगाडि पुगेर केहीबेर टक्क अडियौं । अनि गुलावी रङ्गको विकीनी लगाएको बारमा काम गर्ने युवतीहरूलाई राम्ररी हेरिरह्यौं । उनीहरूलाई हेरि रहँदा भट्टी पसल भित्रबाट आएको विशाल सङ्गीतले गल्ली थर्किरहेको हामीलाई आभास हुन्थ्यो ।

अति आकर्षक वत्तीको उज्यालोले काउबोई गल्ली सानदार देखिरहेको थियो । आकर्षक वत्तीको प्रकाश र सङ्गीतको तालमा हाम्रा कदमहरू विशाल ‘स्ट्रिट पार्टी’ मा भाग लिएझैं लगातार चलिरहेको थियो । अझै फरक फरक भट्टी पसलमा काम गर्ने युवतीहरूको भिन्ना भिन्नै विकिनीले सुनमा सुगन्ध थपिरहेको हुन्थ्यो । सबै तरूनीहरूले आ–आफ्नो भट्टी पसलमा आएर पेय पदार्थ पिइ दिनको लागि पदयात्रीहरूको हात हातमा समातिरहेको असहज दृश्य त्यहाँ देख्न सकिन्थ्यो । मलाई चाहिँ नाना प्लाजामा भन्दा त्यहाँ अलिक थोरै तेश्रोलिङ्गीहरू देखिएकी जस्तो भान परिरह्यो ।

हामीले केहीवेरमा ‘सुजि वङ’ लाई पार गरयौं । ‘कन्ट्री रोड’ भट्टी पसल बाहिर सडकपेटीमा राखिएको कुर्सीमा एक–एक गिलास वाइन समातेर बस्यौं । अनि वत्तीको प्रकाशले प्रभाव पारेर विचित्रसँग टल्किएको कामोत्तेजक तरुनीहरूको रमिता आँखा दुखिन्जेलसम्म हेरि रह्यौं । केही समयपश्चात् हातमा चाङ वियर लिएर हाम्रो छेऊमा एकजना कुहिरे पनि हामीसँगै बस्न आइपुगे । 

हाम्रो परिचयको क्रममा उसको नाम जोन मर्फि भन्यो । ऊ डब्लिन, आएरल्याण्डबाट त्यहाँ घुम्न आएका थियो । 

हामी डब्लिन पहिले नै पुगिसकेको थियौं । त्यसैले जोनलाई टेम्पल बार, डब्लिनसँग सोई काउबोई तुलना गर्न लगाए । उसले सोई काउबोई ज्यादै मन पर्ने तर गोजी चाँडै रितिने ठाउँ हो भने । उदाहरणको लागि अन्य ठाउँमा ९० भाट पर्ने वियरलाई सुजि वङमा १९० भाटसम्म पर्छ, उसले भने ।

यद्यपि वेश्यालय र भट्टी पसलको राम्रो ब्यवस्थापन गरेको हुनाले थाइल्याण्डले ६.५ बिलियन डलर वर्षेनी राजस्व असुल्ने गरेका छन् । तपाई आफै विचार गर्नुहोस, हरेक वर्ष बेलाय बाट मात्र १ लाख पर्यटकहरु थाइल्याण्ड आउने गरेका छन् । प्रत्येक हिउँदमा सोई काउबोईमा अनुहार देखाउने जोनले त्यहाँ भएका सबै गोगो बारहरूको कथा हामीलाई मज्जाले सुनाइरह्यो । धेरै बोलेर ऊ थाकेपछि मैले एक सिरिप वाइन पिएर –

‘जोन, यहाँका बारमा काम गर्ने तरूनीहरु असाध्यै राम्रा हुने रहेछन्, हगि….?’ गल्लीमा हुने ठुल्ठुला हल्लालाई चुनौति दिँदै जोनको कान नजिक गएर सुस्तरी मैले प्रश्न सोधें ।

मेरो प्रश्नको उत्तर दिने क्रममा, तपाईलाई जुन युवती मन पर्छ, त्यो युवतीसँग समय बिताउन सक्नुहुनेछ । तर सबैभन्दा पहिले मन परेको युवती छानेर भाउ मिलाउनु पर्छ । त्यसबाहेक युवतीले बार छाडेकी बारको जरिवाना पनि तिर्नुपर्छ । अनि युवतीलाई आफूले चाहेको ठाउँ टोकियोको जस्तै ‘लभ होटल’ तिर लान पाइन्छ । तर एउटा कुरो याद गर्नुहोला, त्यहाँ देखिएका सबै युवतीहरू थाइहरू चाँही होइनन् । कुनै कुनै चाइनिज, भियतनामिज, लावोसियन र रसियनहरू पनि हुन् । तपाईलाई सायद थाहा नहुन पनि सक्छ । थाइल्याण्डमा रसियन वेश्याहरूको संख्या मात्र पाँच हजार भन्दा बढिरहेका छन् ।

‘मिस्टर राई, बैंकक जोई टिङ्ग्रेहरूको लागि राम्रो स्थान नभए पनि कामुक युवतीहरूको नरम स्तन, रापिलो शरीर र अनुभवी रतिक्रिया मन पराउने असल मर्दहरूको लागि विश्वको सबैभन्दा उपयुक्त भूमि हो ।’

नशाको तालमा जोनले भनेको यावत कुराहरू सुनिरहँदा, म दुखिन्जेलसम्म जिब्रो टोकिरहेको थिएँ ।

बेलायतमा बस्दै आएका लेखक पूर्व ब्रिटिस गोर्खा सैनिक हुन्  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू