बुधबार, वैशाख १२, २०८१
12:53 | १७:३८

इंग्ल्याण्डमा २ सय ४० जनामध्ये एक संक्रमित

सोमबार थप प्रतिबन्धको घोषणा गर्ने तयारी

नेपाली लिङ्क अक्टोबर ९, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले प्रतिबन्धसम्बन्धी थप कडा नियम लागू गर्ने तयारी गरिरहेको छ । पछिल्ला दिनमा बेलायतमा कोरोना संक्रमितको संख्या र मृतकको संख्या गएको ५ महिना यताकै उच्च रहेको तथ्याँकमा उल्लेख छ ।

इंग्ल्याण्डमा २ सय ४० जनामध्ये एकजनामा कोरोना संक्रमण रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । कोभिडसम्बन्धी लक्षण अध्ययन गर्ने एप्लिकेशनको तथ्यांकअनुसार बेलायतमा कोरोना संक्रमण बढेको तर सेप्टेम्बरको शुरुवातको तुलनामा भने कम छ ।

अस्पतालमा भर्ना हुनेको संख्या बढ्दै गएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । गत मार्च १९ मा  ५ सय ८६ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए भने अक्टुबर ६ मा ५ सय २४ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।

यसरी हेर्दा कोरोनाको पहिलो लहरको शुरुवातको चरणमा पुग्न लागेको ‘मेम्बर अफ द साइन्टिफिक एडभाइजरी ग्रुप फोर इमर्जेन्सी’ (एसएजीइ) का मार्क वाल्पोर्टले जनाएका छन् । त्यस्तै वेलकम ट्रष्टका निर्देशक एवं एसएजीईका अर्का सदस्य जेरेमी फरारले भनेका छन्- ‘हामीहरु मार्चको शुरुवात अवस्थामा पुगेका छौं, निर्णय गर्न ढिला गरेको खण्डमा महामारीको ठूलो संकट झेल्नुपर्नेछ ।’

कोरोना संक्रमणको गति नियन्त्रणभन्दा बाहिर गएको मन्त्रीहरुले  व्यक्त गरेका छन् । पछिल्ला दिनमा म्यानचेस्टर, लिभरपुल, न्यूकासल, नटिङहम लगायत क्षेत्रहरूमा संक्रमण तीव्र बढेको छ ।

बढ्दो संक्रमण नियन्त्रण गर्न सरकारले आगामी सोमबार थप प्रतिबन्धको घोषणा गर्ने र बुधबारदेखि लागू गर्ने तयारी रहेको संचारमाध्यममा उल्लेख छ । तर, कस्तो किसिमको प्रतिबन्ध लागू गर्ने भन्ने विषयमा अझै छलफल भइरहेको छ ।

बेलायतमा हिजो बिहीबारमात्र २४ घण्टामा १७ हजार भन्दा बढी संक्रमित भएका थिए भने ७७ जना कोरोना संक्रमितको मृत्यु भएको  ‘डिपार्टमेन्ट एण्ड सोसल हेल्थ केयर’ ले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू