शुक्रबार, वैशाख १४, २०८१
10:31 | १५:१६

लन्डन दूतावासमा यूकेका सक्रिय चलचित्रकर्मी सम्मानित

नेपाली लिङ्क अक्टोबर ७, २०२०
लन्डन । बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीहरुलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । मंगलबार साँझ दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले उनीहरुलाई सम्मान गरेका हुन् ।
लामो समयदेखि बेलायतमा रहेर कला क्षेत्रमा योगदान पुरयाएबापत राजदूत सुवेदीबाट विशेष सम्मान पाउनेमा निर्देशकद्वय कुशल श्रेष्ठ र सनमकुमार वैराग छन् । उनीहरु दुवैलाई नेपाली खुकुरी, पुष्पगुच्छा र मायाको चिनोसहित राजदूतले सम्मान गरेका थिए । एक दशक लामो समय बेलायतमा रहेर मिडियाकर्ममा सक्रिय निर्देशक श्रेष्ठले झन्डै तीन दर्जन नेपाली म्यूजिक भिडियो निर्देशन तथा छायांकन गरेका छन् । उनीसँग आधा दर्जन नेपाली चलचित्रमा छायांकनको अनुभव पनि छ ।
त्यस्तै, सम्मानित हुने अर्का निर्देशक सनमकुमार वैरागले नेपाल तथा बेलायतमा रहेर लामो समय कला क्षेत्रमा योगदान गरेका छन् । बेलायतमा आफ्नै निर्देशन र अभिनयमा नेपाली नाटकहरु प्रस्तुत गर्दै आएका उनले चलचित्र निर्माण तथा निर्देशन पनि गर्दै आएका छन् ।
त्यसअवसरमा राजदूतबाट सम्मानित हुने अन्य चलचित्रकर्मीमा नायक ध्रुव दत्त, नायिका मिरुना मगर, कलाकार मनिष श्रेष्ठ, निर्माता निकेश लिम्बू, निर्देशक प्रेम लामा, सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राई, मोडल रोश्ना कार्की र विष्णु खरेल लगायत थिए ।
उक्त महोत्सवमा बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्यूजिक भिडियोहरुको प्रस्तुति गरिएको थियो । बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्यूजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गरिएको दूतावासले जनाएको छ ।
महोत्सवमा राजदूत सुवेदीले लेखेका ‘दुख्ने मुटु’ र ‘अधर’ बोलका दुई गीतमा निर्देशक कुशल श्रेष्ठद्वारा निर्देशित म्यूजिक भिडियोहरु तथा निर्देशक सनमकुमार वैरागद्वारा निर्देशित ‘शून्य’ नामक लघु चलचित्र लोकार्पण गरे ।
महोत्सवमा बेलायतमा निर्माण भएका नेपाली चलचित्रहरुलाई समेटेर तयार गरिएको संक्षिप्त भिडियो प्रस्तुत गरिएको थियो । साथै, नाटक तथा चलचित्र निर्देशक तथा कलाकार वैरागले बेलायतमा नेपाली चलचित्रको विकास र विस्तार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू