बुधबार, वैशाख १२, २०८१
09:13 | १३:५८

भारतमा कोरोनाबाट एक लाख बढीको मृत्यु

रासस-एएनआई अक्टोबर ३, २०२०


नयाँदिल्ली १७ असोज– भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्ममा कुल मृतकको संख्या एक लाखभन्दा बढी पुगेको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ८४२ जनाको मृत्यु भएको जनाएको छ ।

एकैदिनमा सङ्क्रमित हुनेहरुको संख्यामा भने कमी आएको देखिएको छ । केही दिन अघिसम्म दैनिक झण्डै एक लाख मानिस सङ्क्रमित हुने गरेकोमा अहिले घटेर ८० हजारको हाराहारीमा झरेको छ ।

सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७९ हजार ४७६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ६४ लाख ७३ हजार ५४५ पुगेको मन्त्रालयले जनाएको छ ।

कुल सङ्क्रमित मध्ये ५४ लाख २७ हजार ७०७ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने नौ लाख ४४ हजार ९९६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा सवैभन्दा धेरै सङ्क्रमितहरु महाराष्ट्र प्रदेशमा रहेका छन् भने त्यसपछि क्रमशः कर्नाटक, केरला, आन्ध्रप्रदेशमा धेरै सङ्क्रमितहरु रहेका छन् ।

भारतमा अहिलेसम्म सात करोड ७८ लाख ५० हजार ४०३ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये शुक्रबार मात्रै ११ लाख ३२ हजार ६७५ जनाको कोरोना परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू