शुक्रबार, वैशाख ७, २०८१
05:26 | १०:११

बेलायतमा थप ६ हजार ४२ नयाँ संक्रमित थपिए, ३४ को मृत्यु

हालसम्म संक्रमितको संख्या ४ लाख २९ हजार २ सय ७७

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२०

लन्डन । बितेको २४ घन्टामा बेलायतमा थप ६ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यसैगरी सोहि अवधिभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । पछिल्ला दिन बेलायतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्दै गएको छ ।

गत मंगलबार २४ घन्टाभित्र ४ हजार ९ सय २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । बुधबार सार्वजनिक तथ्याँक अनुसार थप एक चौथाई कोरोना संक्रमित थपिएर यो संख्या ६ हजार एक सय ७८ पुग्यो । बिहीबार ६ हजार ६ सय ३३ जनामा कोरोना  संक्रमित पुष्टि भएको थियो भने शुक्रबार यो संख्या बढेर ६ हजार ८ सय ७४ पुगेको छ ।  यो संख्या विगत ६ महिना यताकै सबै भन्दा बढी हो । तर, आज शानिबार सार्वजनिक गरिएको तथ्यांकमा संक्रमितको संख्या शुक्रबारको तुलनामा सामान्य घटेर ६ हजार ४२ मा झरेको छ ।

बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख २९ हजार २ सय ७७ पुगेको छ । यसैगरी कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४१ हजार ९ सय ७१ पुगेको छ । बेलायतमा कोरोना संक्रमित पुष्टि भएको २८ दिनभित्र मृत्यु भएको खण्डमा कोरोना संक्रमितको मृतक घोषणा गरिन्छ । जुन नियम भर्खरै मात्र लागू गरिएको हो । उक्त नयाँ नियम अनुसारको मापदण्ड लागू भएपछी बेलायतमा यसअघि घोषणा गरिएको मृतक संख्यामा करिब ५ हजार कम भएको थियो ।

कोरोनाको संक्रमण बढेसँगै यसको नियन्त्रणका लागि बेलायत सरकारले थप कडा कदम चालेको छ । ‘रुल अफ सिक्स’ को नियम लागू गरिसकेको छ जस अन्तर्गत ६ जना भन्दा बढीको सामाजिक भेटघाटलाई गैर कानूनी घोषणा गर्दै जरिवाना समेत तोकिसकेको छ । मास्क नलगाउने र ‘रुल अफ सिक्स’ को नियम उल्लंघन गरेवापतको जरिवाना दोब्बर गरेर दुई सय पाउण्ड पुरयाइएको छ ।  यसअघि यो जरिवाना रकम पहिलोपटक एक सय पाउण्ड निर्धारण गरिएको थियो ।

यसैगरी कोरोना संक्रमित पोजिटिभ भएकाहरुले सेल्फ आइसोलेशनको नियम पालना नगेर एक देखि १० हजार पाउण्डसम्म जरिवाना तिर्नुपर्ने नियम आउँदो सोमबार अर्थात सेप्टेम्बर २८ बाट लागू हुँदैछ ।

प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार टेलिभिजन सम्बोधन मार्फत गत बिहीबारदेखि इङ्ल्यान्डका पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी सेक्टरका सबै व्यवसाय राति १० बजे बन्द गरिसक्नुपर्ने बताएका थिए । खुला रहेको समय पनि ‘टेबल सर्भिस’ मात्रै दिन पाइनेछ । बेलायतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेर ‘अलर्ट’ लेभल ४ पुग्दै गर्दा सरकार थप सतर्कताको प्रयासमा जुटेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू