शुक्रबार, चैत १६, २०८०
06:55 | १२:४०

बेलायतबाट फर्कन चार्टर्ड फ्लाइटभन्दा दोब्बर महँगो भाडा

उडान कम हुँदा यात्रु चर्को भाडा तिर्न वाध्य

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२०

लन्डन । चार्टर्ड फ्लाइटको भाडा महँगो हुने भएकाले नियमित उडानको प्रतिक्षामा बसेका बेलायतका नेपालीहरु यतिबेला झन् अन्योल र मारमा परेका छन्। कोभिड १९ का कारण जारी लकडाउनले गर्दा थुप्रै नेपाली संसारभर नै अलपत्र परेका छन् । नियमित उडान गर्ने नेपाल सरकारको निर्णय पटक पटक स्थगित हुँदै अन्तत: बन्दाबन्दीको पाँच महिनापछि सेप्टेम्बर १ तारिख अर्थात गत भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन भएको छ ।

नियमित उडान शुरु हुनु अघि चार्टर्ड फ्लाइट मार्फत विभिन्न मुलुकमा अलपत्र रहेका नेपालीलाई प्रथामिकताका आधारमा नेपाल फर्काउने काम भएको छ । 

चार्टर्ड फ्लाइटमा भाडा महँगो भएको भन्दै सर्वत्र विरोध भएपनि हाल सुचारु नियमित उडानको भाडा चार्टर्ड फ्लाइटको भन्दा झन् महँगो भएको छ ।

चार्टर्ड फ्लाइटको भाडा महँगो भएको भन्दै नियमित फ्लाइटको प्रतीक्षा गरेर बसेका राजकुमार गुरुङ अहिले पछुतोमा छन् । ‘काठमाण्डौंका लागि अनलाइनमा हेर्दा २ हजार ३ सयसम्म देखाउंछ, ट्राभल एजेन्सीसंग सम्पर्क गर्दा टिकट पाउन पनि गाह्रो र झन् महँगो पो देखियो’- गुरुङले भने ।

बेलायतस्थित ट्राभल कन्सोलका निर्देशक बिराज भट्ट यो सबै सरकारको नीतिले गर्दा भएको बताउँछन् । अहिले सरकारले उडान सिमित गरेको हुँदा फ्लाइट एकदमै कम छन् तर यात्रु बढी छन् । पहिला जस्तो एउटा नभए अर्कोमा जान्छु भन्ने विकल्प पनि छैन । प्रतिस्पर्धा नभएका कारण उपभोक्ताहरु मारमा परेका हुन् ।

कम्प्युटर रिजर्भेशन प्रणालीले गर्दा भाडादर पनि निकै महँगो भएको भट्टले बताए । अक्टुबरमा केहि सस्तो भएपनि सेप्टेम्बरमा एक हजार दुई सय देखि दुई हजार तीन सयसम्म भाडादर निर्धारण भएको भट्टले बताए ।

पहिला जस्तो आँफै अनलाइन बुक गरेर जान अहिले निकै झंझटिलो हुने र विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सकेसम्म ट्राभल एजेन्टमार्फत नै टिकट लिन भट्टले आग्रह गरेका छन् ।

सरकारले निश्चित शर्तसहित कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको छ । दैनिक पाँच सय यात्रु नकट्ने गरी नियमित उडान सञ्चालन गरिने र यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान समेत  सञ्चालन गरिने सरकारले बताएको छ । 

तर सरकारले यात्रु आगमनमा गरेको नियन्त्रण र ७२ घण्टाभित्रको अनिवार्य पीसीआर परिक्षणका कारण विदेशमा अलपत्र नेपालीहरु थप मारमा परेका छन् ।

७२ घन्टाको छोटो अवधिको पीसीआर टेष्टको प्रमाण देखाउनुपर्ने हुँदा निर्धारित उडानको अन्तिम समयमामात्र परीक्षण गराउनुपर्ने भएकोले समयमै पीसीआर नतिजा नपाउँदा उनीहरु यात्रा गर्नबाट समेत बन्चित हुनुपरेको छ ।

सामान्यतया बेलायतमा पीसीआर परिक्षण गरेको अर्को दिन र बढीमा ७२ घण्टाभित्र इमेल तथा फोन म्यासेजमार्फत रिजल्ट प्राप्त हुने बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले उल्लेख गरेको छ ।

‘फिट टु फ्लाई’ का लागि विभिन्न प्राइभेट कम्पनीमार्फत पनि कोभिड १९ परीक्षण गर्न सकिन्छ । यस्तो परीक्षणको लागि फ्लाइट भन्दा ३-५ दिन अगाडी बुक गर्नुपर्ने हुन्छ । कोभिड १९ परीक्षण गरेवापत यस्ता कम्पनीहरुले १ सय ५० पाउण्डसम्म दस्तुर लिने गर्दछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू