शुक्रबार, वैशाख १४, २०८१
05:31 | १०:१६

कोरोना संक्रमण भन्दा समाजको बढी डर

रासस सेप्टेम्बर ८, २०२०

प्रतिकात्मक तस्बिर

चितवन–कोरोना भाइरस सङ्क्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन भन्ने समाचार दिनहुँ आइरहेका छन् । सामाजिक सञ्जालमा पनि यस्ता कार्यहरुको व्यापक आलोचना हुने गरेको छ ।

तर, पनि मानिसको व्यवहारमा सुधार आउन सकेको छैन । कोरोना भाइरस सङ्क्रमण समुदायसम्म नै पुगेको छ तर सङ्क्रमित र उनीहरुको परिवारलाई माया र आवश्यक सहयोग गरौँ भन्ने सकारात्मक सन्देशले भने समुदायमा प्रवेश पाउन सकेको छैन । 

शिक्षित र सम्भ्रान्त समुदाय बसोबास गर्ने समाजमा नै सङ्क्रमितका परिवार पीडित बन्नुपर्ने अवस्था झन् बढ्दै गएको छ । चितवन जिल्ला शिक्षा र स्वास्थ्यका दृष्टिकोणले तराई तथा मधेशका अरु जिल्लाका तुलनामा अगाडि रहेको मानिन्छ । यही जिल्लाका मुख्य शहरी क्षेत्रमा बसोबास गर्ने शिक्षित भनिएको बर्गबाट नै कोरोना भाइरस सङ्क्रमितका परिवारहरु पीडित बन्नुपरेको तीतो यथार्थ यहाँ अहिले पनि कायमै छ ।

पत्रकार वसन्त ढुङ्गानाका दाजुलाई सङ्क्रण देखिएपछि उनी २४ दिनसम्म दाजुसँगै घरमै बसे । उनीहरुको घर भरतपुर महानगरपालिका वडा नं. ८ लालिगुराँस चोकमा छ । उनीहरुको यो २४ दिनको समय पूरै तनावमा बित्यो । दाजुलाई सङ्क्रमण भयो, भाउजू छोराछोरी र उनलाई सङ्क्रमण भएन । दाजुको सङ्क्रमण अवधिभर परिवार पूरै मानसिक तनावमा रहनु परयो । उनले दुखेसो गरे, ‘दाजुलाई रोगका कारणले भन्दा समाजका कारणले हामीलाई तनाव सिर्जना भयो ।’

उनका अनुसार घरमा बाहिरबाट तयारी खाना कसैले ल्याइदिँदै गर्दा स्थानीयले प्रहरीलाई खबर गर्थे । केही छिनमा प्रहरी आइपुग्थे । उनले भने, ‘मानौँ हाम्रो घर कुनै अपराधीको घरजस्तो भयो ।’ उनले अगाडि थपे, ‘कहिलेकाहीँ त यस्तो ठाउँमा किन घर बनाइएछ भने जस्तो पनि भयो, निकै पछुतो लाग्यो ।’

स्थानीयले नबुझेर त्यसो गरेको भन्ने सोचेर आफूहरुले चित्त बुझाउने गरेको उनले बताए । गएको साउन २६ गते सङ्क्रमण देखिएपछि दाजुलाई सङ्क्रमणमुक्त हुन लामो समय लागेको ढुङ्गानाले जानकारी दिए । जिल्ला अदालत, चितवन बार एशोसिएशनका अध्यक्ष कमल पाठककी १०९ वर्षीया मावली हजुरआमाको कोरोना सङ्क्रमणका कारण मृत्यु भयो । उनको स्याहारमा जुटेका पाँच जना सानीआमा, एक नातिनी र एक नातिनी ज्वाइँमा पनि सङ्क्रमण देखियो । पाठकको एकजना सानीआमा अहिले पनि भरतपुर अस्पतालका सघन उपचार कक्षमा उपचाररत छन् ।

खैरहनी नगरपालिका वडा नं ३ का स्थायी वासिन्दा पाठकको भनाइअनुसार त्यसपछि त्यहाँ जोडिएका ६१ सदस्य १८ दिनसम्म क्वारेन्टिनमा बस्नुपरयो । परिवारले भोगेको पीडा यहाँ भनेर व्याख्या गर्न नसकिने उनको अनुभव छ । पाठकले भने, ‘क्वारेन्टिनको अवधि पार गरेर पिसिआर नेगेटिभ आउँदा समेत अहिले समाजमा घुलमिल हुन दिइएको छैन् । म नजिक गएँ भने कतिपय बसिरहेका मानिस उठेर हिँड्छन् ।’

सानीआमालाई अस्पतालमा भएको गाह्रो आफैँमा पीडादायी भएको उनी बताउँछन् । सघन उपचार कक्ष बाहिरबाट बिरामी हेर्दै गर्दा मन भक्कानिने गरेको उनको गुनासो छ । अक्सिजन फाल्ने, शैयाबाट भुईंमा झर्ने जस्ता समस्या हुने गरेको भए पनि डर र त्रासका कारण त्यस्ता बिरामीले उपचार राम्रोसँग पाउन नसकेको उनले बताए ।

सङ्क्रमितमध्येकै अन्य बिरामीले सक्नेले नसक्नेलाई सेवा गरिरहेको उनी बताउँछन् । पाठकले भने, “आफन्त गुमाउँदाको पीडा, बिरामीको पीडा त  छँदैछ, समाजले दिने पीडा झन् ठूलो बनेको छ ।”

उनले सुरक्षा मापदण्ड र भौतिक दूरी कायम गर्दै दुःखमा सहानुभूति दिन आउनेहरुलाई समेत समाजले नराम्रो नजरले हेर्ने गरेको देख्दा झनै नरमाइलो लाग्ने गरेको सुनाए ।

भरतपुर महानगरपालिका वडा नं. २ निवासी अमिर रामदामको एकाघरमा बस्ने काकाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । सँगै बसेका ७४ वर्षीय हजुरबुबा सङ्क्रमित छन् । उनले गुनासो गरे, “हामीले यतिबेला एक्लो महसुस गरेका छौँ ।” कतिपय साथीभाइले टेलिफोन गर्दा समेत कोरोना सर्ला जस्तो गरेको उनको भनाइ छ । सीमित सम्पर्कमा आएकाहरुबाट रासन पानी मगाएर गुजारा चलाउने गरेको रामदामको दुखेसो छ । उनले भने, “दुःखका बेला समाजले सहयोग गर्ला भन्ने आशा थियो, तर निराश भइयो ।”

नेपाल पत्रकार महासङ्घ चितवनका सदस्यसमेत रहेका रामदामले समाजलाई बुझाउन नसक्दा समस्या आउने गरेको बताए । उनले भने, “समाजले अझै पनि रोग कसरी सर्छ भन्ने राम्रोसँग बुझेको छैन ।” 

कोरोनालाई जितेर काम थालेका भरतपुर अस्पतालका प्रसूति रोग विशेषज्ञ डा. सुनिलमणि पोखरेल सङ्क्रमण देखिँदै गर्दा परिवारलाई निकै पीडा भएको आफूले भोगेको बताउँछन् । रोगका बारेमा बुझिनसकेकै कारण समाजमा धेरै त्रास रहेको उनको भनाई छ । शुरुका दिनहरुमा एचआइभी एड्स सङ्क्रमितलाई जुन रुपमा हेरयो, अहिले त्यही ढङ्गबाट कोरोना सङ्क्रमितलाई हेर्ने गरेको उनको बुझाई छ । मनोबल उच्च राख्न सके रोगलाई परास्त गर्न सकिने बताउँदै उनले भने, ‘समाजलाई बुझाउन सकेमा समाजबाट हुने पीडा कम गर्न सकिन्छ ।’

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीको सङ्क्रमणपछि उनीसँगै काम गरेका अस्पतालका चिकित्सक तथा कर्मचारी, बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधि, उच्च पदस्थ व्यक्ति, परिवारमा समेत सङ्क्रमणको आशङ्का भयो । परिवारसँग छुट्टिएर काठमाडौँबाट चितवन आएसँगै उनमा सङ्क्रमण देखिएको थियो । उनकी श्रीमती शीला तिवारी शुरुका दिनमा निकै पीडा महसुस भएको बताउँछिन् । तिवारीमा लक्षणसमेत देखिएकाले केही भइहाल्छ कि भन्ने आफूमा चिन्ता भएको उनको अनुभव छ ।

विश्वभरको तथ्याङ्कलाई हेर्दा ४० देखि ६० वर्षका बढी प्रभावित भएको, विश्वभरका मानिस डराएका, ठाउँठाउँमा लकडाउन र निषेधाज्ञा गरिएको, सामाजिक सञ्जाल र समाचारहरुमा कोरोनाकै बारेमा आइरहँदा र आफ्नै घरको मुख्य मानिसलाई सङ्क्रमण देखिँदा पीडा महसुस भएको डा. तिवारीको अनुभव छ ।

आफू पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने भएको र क्रमशः लक्षण हराउँदै जाँदा पीडा पनि कम हुँदै गएको उनले बताए । डा तिवारीका श्रीमती र छोराछोरी काठमाडौँ छन् भने बुबाआमा चितवनकै घरमा । तर परिवारका कसैलाई पनि सर्न पाएन । उनले भने, “सङ्क्रमण भएकाले आत्मबल बलियो बनाउने र समाज र परिवारले प्रोत्साहन दिन सकेमा कोरोनालाई परास्त गर्न सहयोग पुग्छ ।”

कोरोना सङ्क्रमित भएर आइसोलेसनमा रहेका पत्रकार रमेश बस्ताकोटीकी श्रीमती सिर्जना कण्डेलले कोरोना सङ्क्रमित र उनीहरुका परिवारलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्दा यसले सङ्क्रमितको मनोबल झन् घट्दै गएको बताइन् । उनले भनिन्, “समाजमा अझै चेतनाको स्तर विकास हुन सकेको छैन, कोरोना सङ्क्रमितको परिवारलाई हेय भावले हेर्ने र उनीहरुलाई समाजमा नै एक किसिमले बहिष्कार नै गर्ने प्रवृत्ति देखिएको छ । यो सबैभन्दा खतरानक हो ।”

आफ्नो श्रीमान् कर्तव्यपालना र कामकै सिलसिलामा सङ्क्रमित भएको भन्दै उनले समाजले गर्ने व्यवहारबाट जोसुकै सङ्क्रमितका परिवार पनि हतास भएको बताइन् । “सङ्क्रमितको परिवारसँग बोल्दैमा, उनीहरुको घरको बाटो हिँड्दैमा कोरोना सर्ला भन्ने मनोबिज्ञानबाट मानिसहरु ग्रसित छन् । मानिसको यस्ता त्रास हटाउन जरुरी छ,” उनले  बताइन् ।

उनले श्रीमान् सङ्क्रमित भएपछि आफू र छोरी पनि सात दिनसम्म घरभित्रै बसेको स्मरण गर्दै समाजका प्रबुद्ध भनिएका व्यक्तिहरु समेत यस विषयमा जानकार नभएजस्तो व्यवहार गर्दा आफू अचम्मित भएको गुनासो गरिन् ।

कण्डेलले समाजले सङ्क्रमित र उनीहरुका परिवारलाई हौसला मात्र दिने हो भने पनि आधा रोग त्यसै निको हुने बताइन् । उनको सुझाव छ, “एकापसमा सद्भाव कायम गर्नुपर्छ, एकले अर्कोलाई सहयोग गर्नुपर्छ अनि मात्र कोरोनासँगको लडाई जितिन्छ ।”

भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरका वसन्त पराजुलीको अनुभव भने फरक छ । उनले समाजबाट सकारात्मक सहयोग पाएको प्रतिक्रिया दिए । उनको घरको भूई तलामा भाडामा रहेका तीन जनामा सङ्क्रमण देखिएपछि पराजुली परिवार पनि घरमै सुरक्षित बसिरहेको छ । पिसिआर रिपोर्ट नआउँदासम्म आवश्यक सामग्री छरछिमेकीले घरको गेटसम्म ल्याइदिएर सहयोग पुरयाएको उनको अनुभव छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सावधानी सबैले अपनाउनु पर्ने तर त्रसित् हुन नपर्ने बताउँछन् । तिवारीका अनुसार सङ्क्रमितले ह्याछ्यु गर्दा, खोक्दा निस्कने छिटाबाट रोग सर्ने हुँदा दुई मिटरको दूरी कायम गरेर, मास्क लगाएर, समय समयमा साबुन पानीले हात धोएमा रोग सर्नबाट बच्न सकिन्छ ।

सामान्य लक्षण र लक्षण नभएका घरमै सुरक्षित तरिकाले राख्न सकिने भएकाले टोल, समुदाय आत्तिनु नपर्ने उनको भनाइ छ । उनले भने, “सङ्क्रमितलाई प्रोत्साहन दिऔँ, हतोत्साहित नबनाऔँ ।” 

टाढा र हावाबाट रोग नसर्ने भएकाले त्रसित हुन नपर्ने उनले जानकारी दिए । घरमै रहेका सङ्क्रमितलाई समय समयमा ध्यान दिने, कपडा र प्रयोग भएका वस्तुहरु सर्फ पानी, क्लोरिनले सफा गर्ने गरेमा रोग अरुलाई सर्नबाट बचाउन सकिने उनको भनाई छ ।

घरमा बसेका सङ्क्रमित छिटो निको हुने गरेको तथ्याङ्क पनि उनमा छ । उनले भने, “सङ्क्रमिलाई अपमानित गर्नु हुँदैन ।” 

सङ्क्रमितको मृत शरीरबाट अरुमा सङ्क्रमण सर्ने सम्भावना ज्यादै न्यून हुने उनले बताए । उनले भने, “मृतक व्यक्ति र तिनका परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन ।” 

शव व्यवस्थापन गर्न परिवारले चाहेमा उच्च सावधानी अपनाएर गर्न सकिने उनको राय छ । उनले थपे, “अहिले ठाउँठाउँमा क्रिया बसेकाहरुलाई फरक व्यवहार गरेको सुनिएको छ, त्यो राम्रो होइन ।”

मलामी गएकाहरुमा शवबाट नभएर मलामी मलामीबीचको सम्पर्कबाट रोग सर्ने गरेको उनले बताए । “मलामीमध्ये एउटा सङ्क्रमित हुँदा अरुलाई सर्ने गरेको छ । यस्तो अवस्थामा सावधानी अपनाउनु पर्छ”-उनले भने ।  

कोरोना सङ्क्रमित र सङ्क्रमितको परिवारलाई सुरक्षा सावधानी अपनाउँदै आवश्यक सहयोग र प्रोत्साहन गर्नेतर्फ सबै लाग्न आवश्यक छ ।

हालसम्म चितवनमा कोरोना भाइरसबाट १ हजार ५२ जना सङ्क्रमित भएका छन् । तीमध्ये २५३ जना निको भएर घर फर्किएका छन् भने ७८७ जना उपचाररत या आइसोलेसनमा छन् । यस जिल्लामा मात्र १२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । तर, विभिन्न जिल्लाबाट उपचार गराउन आएकासमेत गरी हालसम्म चितवनमा २२ जना सङ्क्रमितको मृत्यु भएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू