एसक्यूइ रुटबाट बेलायतको सोलिसिटर बनिन् लिसा डंगोल



लन्डन । नेवा कला संस्कृति र सम्पदा संरक्षणमा रुचि राख्ने लिसा डंगोल बेलायतको सोलिसिटर बनेकी छन् ।
एलपीसी रुट फेज आउट हुंदै गएका बेला उनी एसक्यूइ (सोलिसिटर्स क्वालिफाइङ एक्जामिनेसन) रुटबाट सोलिसिटर बन्ने सम्भवतः पहिलो नेपाली महिला बनेकी हुन् ।
लिसाका अनुसार क्वालिफाइड सोलिसिटर बन्न एसक्यूइ १ र एसक्यूइ २ परीक्षा दिनुपर्छ । एसक्यूइ १ भित्र पनि एफएलके १ र एफएलके २ का दुई दिनसम्म परीक्षा हुन्छ । एफएलके १ र २ गरि जम्मा ३६० वटा मल्टिपल च्वाइस प्रश्न हुन्छन् । यसमा एकदर्जन बढी कानूनका विविध विषय समेटिन्छ ।
एसक्यूइ १ को परीक्षा वर्षमा जनवरी र जुलाईमामात्र हुन्छ र यो एकदम कठिन मानिन्छ ।
दुई वर्षको ‘क्वालिफाइङ वर्क एक्सपेरियन्स’ पछिमात्र एसक्यूइ २ दिन पाइन्छ । तर, लिसा नेपालको क्वालिफाइड लयर (अधिवक्ता) भएर १० वर्ष जति काम गरेकाले उनलाई यो तह छुट भयो ।
लिसाले गत जुलाई २०२५ मा परीक्षा दिएकी थिइन् । नतिजा सेप्टेम्बरमा आयो जसमा ४१ प्रतिशतमात्र पास भएका थिए । उनले बेलायतका सोलिसिटरहरुलाई नियमन गर्ने निकाय सोलिसिटर्स रेगुलेसन अथोरिटी (एसआरए) बाट गत २६ नोभेम्बरमा योग्य भएको प्रमाणपत्र प्राप्त गरेकी हुन् ।
‘एकदम टफ थियो परीक्षा । तर म टप २० पर्सेन्ट हायष्ट स्कोरर बन्न सकें’, उनले सुनाइन् । उनी सन् २०२३ सेप्टेम्बरमा बेलायत आएकी थिइन् । उनले नोभेम्बर २०२४ देखि परीक्षा तयारी शुरु गरेको बताइन् ।
‘मैले जागिरसहित पढाइ पनि एकसाथ लगेर परीक्षा दिएको हुं । मलाई एभरेष्ट लका प्रिन्सिपल सोलिसिटर राजु थापा र अरु कलिग्सहरुले पनि इन्करेज गर्नुभयो’, उनले सुनाइन्, ‘परिवार र साथीभाईबाट समेत धेरै इन्करेज भयो । उहांहरु सबैप्रति आभारी छु ।’
लिसालाई शुरुमा बेलायतको सोलिसिटर बन्छु भन्ने नै थिएन । उनले खुलाइन्, ‘नेपालमा कानूनको विद्यार्थी भएपनि यूकेको लिगल सिस्टम एकदम एड्भान्स र कम्प्लिकेटेड भएकाले यो मेरो कल्पना बाहिर थियो र शुरुमा गारहो पनि भएको थियो ।’
लिसाले नेपाल ल क्याम्पसबाट एलएलबी गरेकी थिइन् । ब्याचलर्स पढ्दा संवैधानिक कानूनमा उत्कृष्ट नतिजा ल्याएर लिसाले कृष्ण प्रसाद चापागाईं पदक र पारिवारिक कानूनमा पनि उच्च अंक ल्याएर शान्ता थपलिया पुरस्कार पाएकी थिइन् ।
उनले मास्टर्स भने चीनस्थित उहान विश्वविद्यालयबाट इन्टरनेशनल लमा गरिन् । उनले पूर्ण छात्रवृत्तिमा चीनमा मास्टर्स गर्ने अवसर पाएकी थिइन् ।
बेलायत आउनु अघि उनी एड्भोकेसी फोरम नेपालमा प्रोग्राम अफिसर थिइन् । उनीसंग काठमाडौं युनिभर्सिटी अन्तर्गत स्कुल अफ लमा एक टर्म अध्यापनको अनुभव पनि छ । साथै, उनले युनी ग्लोव कलेजमा करिब ४ वर्ष ‘प्लस टु’ लाई कानून पढाएकी थिइन् ।
एभरेष्ट ल सोलिसिटर फर्ममा दुईवर्ष तीन महिना काम गरेकी लिसा पासा पुचः गुथि यूकेले गर्ने कार्यक्रमहरुमा समेत संलग्न हुने गरेकी छिन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



