शुक्रबार, ९ जनवरी, २०२६
06:57 | १२:४२

पूर्व गोर्खा बुढामगर बने सेभेन समिट पूरा गर्ने पहिलो ‘डबल एभब नी’ आरोही

नेपाली लिङ्क जनवरी ८, २०२६

लन्डन । पूर्व गोर्खा सैनिक हरि बुढामगरले अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनको सफल आरोहणसंगै विश्व इतिहास रचेका छन्।

बुढामगर विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (घुँडा माथि दुबै खुट्टा नभएका) आरोही बनेका हुन्।

क्रिसमसको पूर्वसन्ध्यामा बेलायतबाट अन्टार्कटिका प्रस्थान गरेका हरिले आफ्ना सहयोगीहरू अबिरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पाको साथमा ३ दिनको कठिन आरोहणपश्चात् जनवरी ६, २०२६ राति १० बजे ४,८९२ मिटरको उचाइमा पाइला टेके ।

अन्टार्कटिकाको -२५ डिग्री सेल्सियसको अत्यधिक कठाङ्ग्रिँदो चिसो, हावा र ठाडो हिउँको भिरलाई कृत्रिम खुट्टाको सहायताले परास्त गर्दै उनले ‘असम्भव केही छैन’ भन्ने सन्देश विश्वभर फैलाएका छन्।

आरोहणपछि हरिले आफ्नो सपना र दृढ संकल्पले जीवनका जस्तोसुकै अवरोधलाई जित्न सकिने बताउँदै यो सफलता अपाङ्गता भएका व्यक्तिहरूप्रतिको धारणा बदल्ने अभियानमा एउटा ठूलो कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन्।

‘हामीले केही पनि असम्भव छैन भनेर देखाएका छौं र अपाङ्गताप्रति जागरूकता जगाएका छौं’, शिखरमा पुगेपछि हरिले भने ‘अरूलाई आफ्नै पहाड चढ्न र जे भए पनि आफ्नो सपना पूरा गर्न प्रेरित गरेका छौं।’

उनी अगाडि थप्छन्, ‘यदि तपाईंसँग सपना छ र आफूलाई समर्पित गर्नुहुन्छ भने तपाईं जे पनि हासिल गर्न सक्नुहुन्छ ।’

उनले आफ्नो यो ऐतिहासिक यात्रा सफल पार्न सहयोग गर्ने परिवार, साथीभाइ, सहयोगी संस्थाहरू र सम्पूर्ण समर्थकलाई हृदयदेखि धन्यवाद दिएका छन्।

उनले यसअघि ६ महादेशका सबै अग्ला शिखर आरोहण गरेका थिए ।

बुढामगरले १३ अगष्ट २०१९ मा युरोपस्थित मोन्ट ब्ल्यांक (४,८१० मि.), ८ जनवरी, २०२० मा किलिमन्जारो (५,८९५ मि.) अफ्रिका, १९ मे २०२३ मा माउन्ट एभरेष्ट (८,८४९ मि.) एसिया, २८ जुन २०२४ मा उत्तर अमेरिकाको डेनाली (६,१९४ मि.), २२ फेब्रुअरी २०२५ मा एकोनकागुवा (६,९६१ मि.) दक्षिण अमेरिका र १८ अक्टोबर २०२५ मा ओसिनियास्थित कार्सटेन्ज पिरामिड (४,८८४ मि.) को सफल आरोहण गरेका थिए ।

उनले डेनाली र कार्सटेन्ज पिरामिडको टुप्पोमा पुग्ने घुँडा माथि दुबै खुट्टा नभएका व्यक्तिमा पहिलो बनेर पर्वतारोहणको अर्को इतिहास पनि रचेका छन्।

३१ वर्षको उमेर थियो, रोयल गोर्खा राइफल्समा कार्यरत उनी जागिरकै दौरान सन् २०१० मा अफगानिस्तानको लडाइँमा खटिँदा एक ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ मा पाइला टेकेर विष्फोट हुँदा घुँडाभन्दा माथि दुवै खुट्टा गुमाएका थिए ।

बुढामगरको परिवार हाल बेलायत क्यान्टबरीमा छ । गत वर्षमात्र बुढामगरले बेलायतको प्रतिष्ठित ‘एमबीइ’ अवार्ड प्राप्त गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू