नेतृत्व चयनमा साझा नेपाली समाज यूकेमा विवाद- उपाध्यक्षले दिए राजीनामा, लेष्टरको बहिष्कार



सोमबार ५ जनवरीमा सम्पन्न अधिवेशनबाट साझा नेपाली समाज यूकेमा नयाँ नेतृत्व चुनिएको थियो।
लन्डन– बेलायतको मिडल्यान्डस्थित साझा नेपाली समाज यूकेमा नयाँ नेतृत्व चुनिएसंगै विवाद चुलिएको छ ।
गत सोमबार वुल्भरह्याम्प्टनमा सम्पन्न समाजको अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नारायण फुंयालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । तर, पूर्व सहमति अनुरुप जिम्मेवारी नदिइएको भन्दै उपाध्यक्ष घोषित शिव खरालले भोलिपल्टै राजीनामा दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष बनाउने भद्र सहमतिपछि अध्यक्ष प्रत्यासीबाट आफू हटेपनि कार्यसमिति घोषणा गर्दा उपाध्यक्ष भनेर अपमान गरिएको भन्दै खरालले राजीनामा दिएका हुन् । भद्र सहमति तोडेर तानाशाही प्रवृत्ति दर्शाई उपाध्यक्ष घोषणा गरिंदा आफ्नो आत्मसम्मानमा गहिरो ठेस लागेको खरालले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
अध्यक्ष पदमा नारायण फुंयाल र शिव खरालको उम्मेदवारी परेपछि चुनाव नगरि सर्वसम्मत कार्यसमिति गठनका लागि १३ सदस्यीय मेलमिलाप समिति गठन गरिएको थियो जसमा कृष्णप्रसाद शर्मा, शंकर भण्डारी, रणबहादुर केसी, राजु कंडेल, गंगाधर गौतम, महेश अधिकारी, केशव भण्डारी, गोमा पौडेल, दीपक सापकोटा, दयानिधि सापकोटा, प्रविन पाण्डे, विष्णु चालिसे, गोविन्द खरेललगायत थिए। थिए । उक्त समितिले निर्वाचन नगरि मिलाएर लैजान खराललाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति गरेको थियो ।
तर, यस विपरित निर्वाचन समितिले कार्यसमिति घोषणा गर्दा उनलाई उपाध्यक्षकै रुपमा बोलायो । कृष्ण शर्माको नेतृत्वमा पवन कंडेल र डिलाराम गौतम रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो।
राजीनामा पत्रमा खरालले पूरै अधिवेशनभर अध्यक्ष र महासचिवको वर्णनबाहेक अरु कसैको योगदानको कदर नगरिएको, अन्य संस्थाबाट बोलाइएका अतिथीहरुलाई बधाई दिनबाट वञ्चित गरिएको, आर्थिक कारोबार पारदर्शी नराखिएको र संस्थामा बेथिती बढ्दै ‘म’ मात्रै भन्ने प्रवृत्ति मौलाएको आक्षेप लगाएका छन् ।
नवनिर्वाचित अध्यक्ष नारायण फुँयालले भने संस्थामा सामान्य असन्तुष्टि रहेपनि यसलाई छिट्टै समाधान गरिने बताएका छन् । यस खालका असन्तुष्टि र विवाद विगत अधिवेशनहरुमा समेत हुने गरेका स्मरण गर्दै फुंयालले भने, ‘कार्यसमिति बैठक बसेर हामी यसलाई मिलाउंछौं । साझा एक ढिक्का भएरै अगाडि बढ्छ ।’
तर, खरालले अधिवेशनको सट्टा कार्यसमितिले वरिष्ठ उपाध्यक्ष बनाएपनि नस्वीकार्ने बताएका छन् ।
श्रृजनशील लेष्टर नेपाल बाहिरियो
उता, मिडल्याण्डकै अर्को संस्था श्रृजनशील लेष्टर नेपाल, यूके पनि साझाप्रति रुष्ट बन्दै बहिष्कारमा उत्रिएको छ ।
उक्त संस्थाले सिफारिस गरेका व्यक्तिहरु कार्यसमितिमा समावेश नभएपछि साझा नेपाली समाज यूकेबाट बाहिरिने घोषणा गरेको छ ।
श्रृजनशील लेष्टर नेपाल, यूकेले अध्यक्ष पदमा नारायण फुंयाल, उपाध्यक्षमा पुण्डरी अर्याल र सदस्यमा दिनानाथ अर्याललाई पठाएको थियो ।
अध्यक्ष शिव पराजुली र महासचिव वरुण भण्डारीले जारी गरेको एक विज्ञप्तिमा साझाको वास्तविक मर्म अनुरुप संस्थापक एवं आवद्ध संस्थाहरुबाट संस्थागत रुपमा उम्मेदवारहरु आउनु पर्ने व्यवस्था खारेज गराउने प्रयास भएको जनाउंदै साझाबाट बाहिरिएको जानकारी गराइएको छ।
साझाबाट संस्थागत रुपमै अलग बन्ने लेष्टर पहिलो संस्था हो। तर वुल्भरह्याम्पटन र नटिङ्हम पनि असन्तुष्ट रहेको र बाहिरिने बारे छलफल शुरु भएको स्थानीय अभियन्ताहरुले बताएका छन्।
असन्तुष्ट बन्दै उम्मेदवारी फिर्ता र बहिष्कार
साझामा देखिएको विवादको क्रममा केही उम्मेदवारहरुले आफ्नो उमेद्वारी फिर्ता मात्र गराएनन्, संस्थाबाटै बाहिरिने घोषणा समेत गरेका छन्।
अध्यक्ष पदका उम्मेदवार रविन्द्र शर्माले आफ्नो उम्मेद्वारी फिर्ता गर्दै संस्थाबाट अलग भएको घोषणा गरे। त्यस्तै, लेष्टरबाटै उपाध्यक्ष पदका उम्मेदवार पुण्डरी अर्याल पनि अधिवेशनमै गएनन्।
मिडल्याण्डमा बस्ने नेपालीहरुको साझा संस्थाको रुपमा सन् २०१२ मा साझा नेपाली समाज यूके स्थापना गरिएको थियो। संस्थामा सबै क्षेत्रका स्थानीय नेपाली संस्थाहरुको प्रतिनिधित्व र सहभागिता रहँदै आएको थियो।
संस्था स्थापनाको मर्म र भावनाअनुसार नचलेको र नेतृत्व चयनमा सिमित व्यक्तिहरुको हालीमुहाली रहेको भन्दै असन्तुष्टि बढ्दै गएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



