शनिबार, वैशाख ८, २०८१
04:38 | ०९:२३

राष्ट्रसङ्घद्वारा कोभिड संक्रमण नियन्त्रणबारे सोच्न जी २० लाई आग्रह

रासस/सिन्ह्वा सेप्टेम्बर ४, २०२०

संयुक्त राष्ट्रसङ्घ-१९ भदौ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्ने विषयमा सोच्न जि २० का सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले यो महामारी नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि पनि ती देशहरुलाई आग्रह गर्नुभएको छ ।

बिहीबार साउदी अरेबियाद्वारा आयोजना गरिएको भर्चुअल बैठकमा सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । महासचिव गुटर्रेसले हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा लकडाउनको सामना गरिरहेका बताउनुभयो ।

विश्वका देशहरुले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाका मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न उहाँले आग्रह गर्नुभएको थियो ।

महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले त्यस विषयमा पनि सोच्न उहाँले भन्नुभयो । सोही बैठकमा उक्त संगठनका विदेशमन्त्रीहरुले भने देशका सीमा खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्य मापदण्ड अपनाएर सीमा खोल्नुपर्ने बताएको समाचार जनाइएको छ ।

साउदी अरेबियाको पहलमा भएको जि २० को सो भर्चुअल बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरुको सहभागिता थियो ।

सो बैठकमा सबै देशका विदेशमन्त्रीहरुले कोभिड १९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसविरुद्ध मिलेर र समन्वय गरेर लड्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू