बिहीबार, वैशाख २०, २०८१
22:51 | ०३:३६

पूर्व राष्ट्रपति मुखर्जीको निधनमा विश्व नेताहरुद्वारा श्रद्धाञ्जली

रासस-एएनआई सेप्टेम्बर १, २०२०

नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको निधनले आफूलाई निकै दुःख लागेको बताएकी छन् ।

प्रधानमन्त्री हसिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोमबार लेखेको पत्रमा भारतका पूर्व प्रधानमन्त्री मुखर्जीको निधनले आफूलाई निकै दुःख लागेको भन्दै आफ्नो र बंगलादेशका तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

त्यसैगरी भुटानका प्रधानमन्त्री लोतये छिरिङले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा भुटानी जनताका तर्फबाट भारतीय जनतालाई समवेदना दिएका छन् ।

त्यसैगरी श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजपाक्छेले पनि मुखर्जीको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनको खबर सुन्दा आफूलाई निकै दुःख लागेको बताएका छन् ।

उनले ट्वीट गर्दै आफ्नो तर्फबाट र श्रीलंकाली नागरिकको तर्फबाट भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवार र सबै भारतीय नागरिकप्रति समवेदना व्यक्त गरेका छन् ।

त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि भारतीय पूर्व प्रधानमन्त्री मुखर्जीको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भारतमा रहेको रुसी दूतावासले दिएको जानकारीअनुसार भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रुसी राष्ट्रपति पुटिनले सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका छन् ।

उनले सो पत्रमा रुसका एक सच्चा मित्र गुमाउन पुगेको भन्दै उनको कार्यकालमा रुस र भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका छन् । भारतका १३ औँ राष्ट्रपति मुखर्जीको सोमबार निधन भएको थियो । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म थियो । मुखर्जीको आजै अन्त्येष्टि गरिने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू