शुक्रबार, चैत १६, २०८०
09:28 | १५:१३

अस्वस्थताका कारण जापानी प्रधानमन्त्रीद्वारा राजीनामा

रासस-एएनआई अगस्ट २८, २०२०


टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जापानको सरकारी प्रसारण संस्था एनएचकेले सम्प्रेषण गरेको समाचारमा उनले अस्वस्थताका कारण राजीनामा दिने मनस्थिति बनाएको बताइएको छ ।

उनले शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । आफू अस्वस्थ्य हुंदा हुंदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिन लागेको आबेले बताएका छन् ।

आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उनको भनाई छ । पार्टीले प्रधानमन्त्रीको अर्को उम्मेदवार नछान्दासम्म मात्र आफू पदमा बस्ने उनले बताए ।

नयाँ प्रधानमन्त्री छान्ने विषयमा उनको डेमोक्र्याटिक पार्टीले अर्को हप्ता आवश्यक छलफल गरी निर्णय लिने बताइएको छ । कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उनले अहिले नै राजीनामा घोषणा गरे ।

सन् २०१२ देखि लगातार शक्तिमा रहेका आबे जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री भएका नेता हुन् । उनले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पछि सुधार भएपछि फेरि प्रधानमन्त्री निर्वाचित भएका थिए ।

पछिल्लो दुई हप्तामा उनी दुई पटक अस्पताल गएका थिए । उनी अर्को महिनादेखि ६६ वर्ष लाग्दैछन् । उनलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समय समस्या झन् बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् ।

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न राम्रोसँग नसकेको भन्दै जापानमा सरकारको लोकप्रियता अहिले केही खस्किएको छ । लोकप्रियता खस्किएको र काम गर्न नसकेको कारणले भने राजीनामा दिन लागेको भनिएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू