मंगलबार, वैशाख ११, २०८१
18:01 | २२:४६

फिनल्यान्डकी प्रधानमन्त्री कम उमेरमै सोसल डेमोक्रयाटको अध्यक्ष चयन

रासस–एपी अगस्ट २३, २०२०


हेल्सिन्की, ७ भदौ––फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्रयाट पार्टीको अध्यक्षमा चयन भएकी छन् ।

फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उनी पहिलो महिला हुन् ।

फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्रयाट पार्टीको अधिवेशनले मरिनलाई पार्टी अध्यक्षमा आइतबार निर्विरोध चयन गरेको हो । उक्त पार्टीमा महिलाले नेतृत्व सम्हालेको यो दोस्रो पटक हो ।

फिनल्यान्डमा निकै लोकप्रिय युवानेतृ मरिनले पार्टी नेतृत्वका लागि उम्मेदवारी दिएकी थिइन् र उनको विपक्षमा कुनै पनि व्यक्तिले उम्मेदवारी दिएका थिएनन् ।

मरिनको आठ महिने सरकारको अधिकाँश समय कोरोनाभाइरस महामारीसँग जुध्दै ठीक्क भएको छ । उनले कोरोनाभाइरस नियन्त्रणमा गरेको सुझबुझपूर्ण कार्यलाई लिएर देशभित्र निकै प्रशंसा भएको छ । फिनल्यान्डमा हालसम्म ३३४ जनाको मृत्यु भएको छ ।

सोसल डेमोक्रयाट पार्टीको फिनल्यान्डको दक्षिणी शहर टाम्परमा गतसाता अधिवेशन सम्पन्न भएको थियो । पार्टीले सन् २०१९ को चुनावमा करिब १८ प्रतिशत मत प्राप्त गरेर संसदमा सबैभन्दा ठूलो दल बनेको थियो । हाल यस पार्टीले अरु स–साना पाँच वटा पार्टीको समर्थनमा सरकार बनाएको छ ।

हाल पार्टी अध्यक्षमा एन्टी रिन्न छन् । उनले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू