शनिबार, वैशाख १५, २०८१
01:53 | ०६:३८

बेलायतका नेपाली महिलाले ‘मिस’ गरे तीज रौनक

बेलायतका केही ठाउंमा सानो जमघट बाहेक देखिएन रमझम

नेपाली लिङ्क अगस्ट २२, २०२०

तस्बिर शिव भण्डारी

लन्डन । कोभिड १९ का कारण यसपाली तीजको रौनक उति सारो देखिएन । बेलायतमा विगत वर्षहरुमा नियमित गरिने तीज कार्यक्रम यो पटक हुन सकेन । यद्यपि बेलायतस्थित नेपाली महिलाले आ-आफ्नै तरिकाले तीज मनाएका छन् । तर, यो पटकको तीज बिल्कुलै फरक रह्यो । न त ठूला कार्यक्रम भए, न त रातो, हरियो अनि पहेंलो रंगका वस्त्रमा सजिएका महिलाहरुको जमघट नै देख्न पाइयो ।

कोरोना कहरले नेपाल जस्तै बेलायतका केही ठाउंमा २-४ जनाको जमघट बाहेक खासै रमझम देखिएन । कोभिड १९ बाट जोगिन घरघरमै तीजको दर खाने र नाचगान भयो । प्राय मन्दिरमा हुने पूजाआजा कार्यक्रम कोरोना संक्रमणका कारण स्थगित गरिए ।

‘बेलायत बसाइको दुई दशकमा पहिलोपल्ट एक्लै बसेर तीज मनाइयो, मन्दिरमा गएर पूजा गर्न पाइएन’- नेप्लिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठले भनिन् । विश्वमै महामारीका रुपमा फैलिएको कोभिड १९ बाट सुरक्षित रहनु नै सबैभन्दा महत्वपूर्ण भएकाले यतिबेला रमझम गर्नु भन्दा आफू सचेत भएर बस्न उचित ठानेको श्रेष्ठले बताइन् ।

प्रत्येक वर्ष नेपाली दूतावास लन्डन र अन्य संघसंस्थाले
 गर्ने तीज कार्यक्रममा सहभागी भएको स्मरण 
गर्दै श्रेष्ठ यसपटक खल्लो महशुस भएको बताउंछिन् ।

गायिका तथा नेपलिज वुमन एसोसिएसन यूकेमा समेत आवद्ध सितु खरेलले पनि यसपालिको तीजमा रमाइलो गर्न नपाउंदा खल्लो महशुस गरेकी छन् ।’ यसपालीको तीज घरमै पूजाआजा गरेर बिताइयो, रातो लुगा लगाएर वरिपरिका २/४ जना साथीहरुसंग बसेर दर खाइयो, आफ्नै जीवन रक्षाको लागि हो । आफू सुरक्षित रहे तीज त अर्को साल पनि आइहाल्छ नि’, उनले भनिन् । नेपाली दूतावास लन्डनले प्रत्येक वर्ष गर्ने तीज कार्यक्रम लगायत अन्य विभिन्न कार्यक्रम ‘मिस’ गरेको उनले बताइन् ।

करिब २८ वर्षको बेलायत बसाइमा पहिलोपल्ट साथीहरुबाट अलग रहेर तीज मनाउनुपरेको उनी बताउंछिन् । साथीभाई तथा आफन्तबाट टाढा बस्दा कस्तो हुंदोरहेछ भन्ने अनुभव सितुले गरिन् ।

लगभग २५-३० जनाको ग्रुप जम्मा भएर रमाइलो गर्दै २५ वर्ष देखि बेलायतमा तीज मनाएको स्मरण गर्छिन् बिन्दु सुब्बा । उनी लन्डन आएका शुरुका वर्षतिर अहिले जस्तो धेरै नेपाली नभएपनि चाडपर्वमा एकत्रित भएर रमाइलो गर्दै आएकोमा अहिले पहिलोपटक एक्लै बसेर तीज मनाउंदा खल्लो भएको उनले बताइन् । ‘२-४ जना जम्मा भएर दर खाइयो । मन्दिरमा गएर पूजा गर्न पाइएन, समय र परिस्थिति अनुसार चल्नै पर्छ’, सुब्बाले भनिन्- ‘कोरोनाबाट सुरक्षित रहन सके अर्को साल रमाइलो गरौंला । सबैजना स्वस्थ्य र सुरक्षित रहनुस् ।’

विगतका वर्षहरुमा तीजको विभिन्न कार्यक्रममा भ्याईनभ्याई जानुपर्दाको हैरानी, नयां कपडा किन्नुपर्ने झन्झटबाट यसपटक विश्राम पाएको अनुभव गर्छिन् कोसेली नेपाली सांस्कृतिक परिवारकी अध्यक्ष शर्मिला सिंह । बेलायतमा ३० वर्ष बिताइसकेकी उनले परिवार तथा आफन्तसंग बसेर तीज मनाएको बताइन् ।

साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा तीज विशेष पूजाआजा कार्यक्रम सम्पन्न भएको छ । मन्दिरका मूलगुरु ज्योतिष पन्डित निलहरि घिमिरेद्वारा पूजा कार्यक्रम तथा सांझ आरती सम्पन्न गरिएको थियो ।

महामारीको असहज अवस्थामा पनि व्रतालु महिलाहरुका लागि पूजाआजासम्म गर्न सक्ने वातावरण बनाउने कोशिस गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कंडेलले बताए ।

विशेषगरी हिन्दू नारीहरुको महान पर्व तीज आफैंमा ऐतिहासिक पर्व हो । अहिलेको जस्तो भौतिक सुविधा नभएको अवस्थामा चेली माइतीबीचको भेटघाट गर्ने एउटा माध्यमको रुपमा तीज अर्थात हरितालिका पर्वको विकास भएको पाइन्छ ।

वर्षदिनभरि मनभित्र गुम्सिएका दुःख, पीडा र दर्द संगालेर तीजको प्रतिक्षामा बस्ने परम्परा अहिलेको अवस्थामा दन्त्य कथामा परिणत भइसकेको छ । तर यो वास्तविकता धेरै पूरानो छैन्, एक दुई पुस्ता अगाडिका भोगाइलाई नियाल्ने हो भने छर्लंग हुन्छ । हरितालिका तीजको व्रत बस्दा अविवाहितले चिताएको वर पाइने तथा विवाहितले आफ्ना पतिको दीर्घायू तथा सुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता छ ।

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउं भनि व्रत बसेकी र उनको व्रत पूर्ण भइ महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउंदै आएका छन् । यसको अर्थ पार्वतीको जस्तै तपस्या गर्नु मात्र नभई कुनै पनि कार्यको लागि एकचित्त भएर लागिपरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने बुझ्न पनि जरुरी छ ।

पछिल्लो समयमा आएर तीज पर्व एउटा मनोरन्जन र प्रदर्शनीको माध्यम बनेको छ । तीजको मौलिकतालाई भन्दा पनि लगाउने, खाने अनि देखाउने होडबाजीमा यस पर्व विकास हुंदै गएको छ । देश तथा विदेशमा महिनौं अघिदेखि तीज कार्यक्रम गर्ने परम्परा चलिसकेको छ । तीजको अवसरमा महिलाहरु रातो, हरियो, पहेंलो रंगका पहिरन अनि चुरा पोतेमा सजिएर नाचगान गर्दै रमाइलो गर्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू