सोमबार, १ जुन, २०२६
17:36 | २२:२१

नयाँ नियम आउनुअघि नै ब्रिटिश नागरिकता लिन लाखौंको आवेदन

नेपाली लिङ्क जुन १, २०२६

लन्डन- बेलायतमा अहिले नागरिकताको लागि ठूलो भीड लागेको छ । हजारौँ होइन, लाखौँ आप्रवासी ‘बोरिसवेभ’ भनिने लुपहोल बन्द हुनुअघि ब्रिटिश नागरिकता सुरक्षित गर्न दौडिरहेका छन् ।

एक रिपोर्ट अनुसार, पछिल्लो एक वर्षमा मात्रै ३ लाख १२ हजारभन्दा बढी मानिसले ब्रिटिश नागरिकताको आवेदन दिएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको छ ।

यस्तै, ३ लाख ३१ हजारभन्दा बढी मानिसले आइएलआर अर्थात् स्थायी बसोबासका लागि आवेदन दिएका छन् । यो गतवर्षको तुलनामा २८ प्रतिशत बढि हो ।

‘बोरिसवेभ’ बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन्को समयमा लागू गरिएको पोस्ट-ब्रेक्जिट आप्रवासन नीतिसँग जोडिएको शब्द हो । त्यतिबेला नयाँ भिसा र कामदार नीति ल्याइएपछि यूकेमा आप्रवासन अत्यधिक बढेको थियो ।

अब भने सरकारले स्थायी बसोबास र नागरिकता पाउन अझ कडा नियम ल्याउने तयारी गरिरहेको छ । त्यसैले, नयाँ नियम आउनुअघि नै धेरै आप्रवासीले नागरिकता सुरक्षित गर्न खोजिरहेका छन् ।

ब्रिटिश नागरिकता प्राप्त गर्न आप्रवासीहरूले कम्तीमा पाँच वर्ष बेलायतमा बसेको हुनुपर्छ । तर यदि उनीहरूको विवाह ब्रिटिश पासपोर्टधारी व्यक्तिसँग भएको छ भने तीन वर्ष बसेकै आधारमा पनि आवेदन दिन सकिन्छ ।

त्यस अवधिमा उनीहरूले यूकेबाहिर ४५० दिनभन्दा बढी समय बिताएको हुनु हुँदैन । यसका साथै, उनीहरूले ‘लाइफ इन यूके’ परीक्षा पास गर्नुपर्छ । कम्तीमा GCSE स्तर बराबरको अंग्रेजी बोल्न सक्ने प्रमाण दिनुपर्छ र उमेर कम्तीमा १८ वर्ष पुगेको हुनुपर्छ ।

आवेदकले आफूलाई चरित्रवान् पनि प्रमाणित गर्नुपर्छ । यसका लागि गम्भीर आपराधिक मुद्दा, कर छलेको इतिहास वा आप्रवासन कानुन उल्लङ्घन गरेको हुनुहुँदैन ।

यस्तै, आइएलआर प्राप्त गर्न पनि आप्रवासीले लगातार पाँच वर्ष बेलायतमा बसेको हुनुपर्छ । लाइफ इन यूके परीक्षा पास गर्नुपर्छ र अंग्रेजी भाषा सम्बन्धी मापदण्ड पूरा गर्नुपर्छ । तर, सरकारले आइएलआर प्राप्त गर्न आवश्यक योग्यता अवधि पाँच वर्षबाट बढाएर १० वर्ष बनाउने तयारी गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू