शनिबार, वैशाख ८, २०८१
06:12 | १०:५७

राष्ट्रकविको निधनप्रति अनेसासबाट दुःख व्यक्त

रासस अगस्ट १९, २०२०

फोटो सागर बस्नेत

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले दुःख व्यक्त गरेको छ ।

समाजकी अध्यक्ष एवम् साहित्यकार गीता खत्रीले आज शोक विज्ञप्ती जारी गरी कविवर घिमिरेको निधन भएको दुःखद समाचारले अनेसास परिवार स्तब्ध भएको बताउनुभएको छ । “नेपाली शास्त्रीय छन्दका कविता र गीति कविताका माध्यामबाट नेपाली साहित्यलाई दर्जनौँ कालजयी कृति दिएर नेपाली साहित्य भण्डारलाई समृद्ध बनाउनुभएका राष्ट्रकविको परलोक गमनसितै नेपाली साहित्यको एक युगको अवसान भएको छ,”–विज्ञप्तीमा भनिएको छ ।

अनेसास बोर्ड अफ ट्रष्टिका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ ले नेपाली साहित्य क्षेत्रको विकासका लागि राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभयो । नेपाली साहित्यको इतिहासलाई वजनदार बनाएर राष्ट्रकवि विदा भएको उहाँको भनाइ छ ।

अनेसासले एक शताब्दी लामो उतारचढावपूर्ण जीवन बिताएर १०१ वर्षको उमेरमा परलोक भएका राष्ट्रकविको चिरकाल बैकुण्ठमा बासको कामना समेत गरेको छ ।

वियोगको यस शोकाकुल घडीमा धर्मपत्नी, छोराछोरी, सकल परिवारजन तथा देश विदेशमा रहनुभएका नेपाली भाषा साहित्यका साधक तथा शुभचिन्तकमा अनेसासले हार्दिक समवेदना प्रकट समेत गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू