बिहीबार, वैशाख १३, २०८१
19:01 | २३:४६

डेमोक्र्याटबाट अमेरिकी उपराष्ट्रपति उम्मेदवार कमला

रासस-सिन्ह्वा-एएनआई अगस्ट १२, २०२०

वासिङ्टन । २८ साउन–अमेरिकाको उपराष्ट्रपति पदका लागि डेमोक्र्याट पार्टीका तर्फबाट सिनेटर कमला ह्यारिसलाई उम्मेदबार बनाइने भएको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले मंगलबार ह्यारिसलाई उम्मेदवार बनाउने घोषणा गर्नुभएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ, “निडर लडाकूका रुपमा रहेकी र देशको सेवाका लागि सधैँ क्रियाशील रहनु भएकी ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइने भएको छ ।”

सन् २०१६ मा भएको निर्वाचनमा ५५ वर्षीया ह्यारिस अमेरिकाको माथिल्लो सदन सिनेटमा निर्वाचित हुनुभएको थियो । अफ्रिकी अमेरिकी महिला माथिल्लो सदनमा निर्वाचित भएका मध्ये उहाँ दोस्रो हुनुहुन्थ्यो । त्यस अगाडि उहाँ क्यालिफोर्नियाको महान्यायाधिवक्ताको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

बाइडेनले छनौट गरेसँगै उहाँ अमेरिकी इतिहासमा उपराष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्ने तेस्रो महिला हुनु हुने भएको छ । यसअघि डेमोक्र्याटको तर्फबाट गेराल्डीन फेर्रारो सन् १९८४ मा उपराष्ट्रपतिको उम्मेदवार हुनुभएको थियो भने त्यसपछि सन् २००८ मा रिपब्लीकनका तर्फबाट सराह पालिन उपराष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिनु भएको थियो ।

बाइडेनले ह्यारिस जस्तो प्रभावशाली, क्षमतावान र प्रतिबद्ध नेतृलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पाउँदा निकै गौरब र खुशी लागेको बताउनुभएको छ । बाइडेनले ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग मिलेर काम गरेको पनि सम्झना गर्नुभएको छ ।

भारतीयमूलकी ह्यारिसकी आमा भारत र बुबा जमैकामा जन्मिनु भएको हो । अमेरिकामा अहिलेसम्म अश्वेत महिलाले उपराष्ट्रपति पदमा उम्मेदवारको टिकट पाएका छैनन् भने अहिलेसम्म महिला राष्ट्रपति चुनिन पनि सकेका छैनन् । यसअघि राष्ट्रपतिकै उम्मेदवार बन्ने तयारी गर्नुभएकी ह्यारिस गत डिसेम्बरमा त्यस प्रतिस्पर्धाबाट बाहिरिनु भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू