शुक्रबार, चैत १६, २०८०
21:50 | ०३:३५

लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

रासस-एएनआई अगस्ट ११, २०२०


२७ साउन–गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीनामा दिनुभएको छ । सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यस विस्फोटनका कारण लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका थिए । नागरिकले प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका थिए ।

यसैक्रममा प्रधानमन्त्री हसन दीयाबले सोमबार आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री दियाबले लेबनानको राष्ट्रिय टेलिभिजनमार्फत सोमवार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीको पद त्याग गरेको घोषणा गर्नुभएको थियो ।

लेबनानका नागरिकले सरकारमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । उनीहरुले सो विस्फोट हुनुमा पनि सरकारको भ्रष्टाचारजन्य क्रियाकलाप जोडिएको बताएका थिए ।

त्यसैगरी यहाँका नागरिकले वर्तमान प्रधानमन्त्री र सरकारमाथि र असक्षमताको आरोप पनि लगाएका छन् । लेबनानमा आक्रोशमा रहेका मानिसहरूले सोमबार पनि लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए ।

राजधानी बेरुतमा भएको प्रदर्शनमा प्रहरीसँग पनि झडप भएको थियो । बेरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको भनिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँका २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने अरु हजारौँ जना घाइते भएका थिए ।

उहाँले सो टिभीमा दिएको सम्बोधनमा आफूले भ्रष्टाचार नगरेको भन्दै बचाउ पनि गर्नुभएको थियो । तर देशमा भ्रष्टाचार भएका कारणले नै त्यो विस्फोट हुन पुगेको बताउनुभएको थियो । उहाँले लेबनानमा भ्रष्टाचार देशभन्दा पनि ठूलो रहेको भन्दै त्यही भ्रष्टाचारमध्येको एक घटना बेरुतमा भएको विस्फोट हो भन्नुभयो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू