मंगलबार, वैशाख ११, २०८१
19:10 | २३:५५

भारत र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता, सहकार्य गर्ने सहमति

रासस/एएनआइ अगस्ट ७, २०२०

वासिङ्टन, २३ साउन- अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ । त्यस वार्ताका क्रममा उहाँहरुबीच अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको थियो । यी दुई देशबीचको शान्ति, समृद्धि र सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।

त्यसैगरी दुई विदेशमन्त्री बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा पनि कुराकानी भएको बताइएको छ । अफगानिस्तानमा अमेरिकी प्रयासमा शान्ति वार्ताको प्रयास भएको बताइएको छ ।

त्यसैगरी हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसले अमेरिका र भारतमा धेरै नागरिक सङ्क्रमित बनाएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि आपसमा मिलेर एक अर्काेलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले सो वार्तापछि भन्नुभयो– भारतका विदेशमन्त्री एस जयशंकरसँग राम्रो कुराकानी भयो, त्यसक्रममा विशेषगरी अमेरिका र भारतबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो । उहाँले अमेरिका र भारतका बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा एकमत रहेको पनि सो कुराकानीका क्रममा स्पष्ट गरिएको जानकारी पनि दिनुभयो ।

अफगानिस्तानको सरकार र त्यहाँ हिंसा जारी राखेका तालिबान सशस्त्र विद्रोहीहरुबीच गत फेब्रुअरी २९ मा शान्ति वार्ताका लागि एक सम्झौता भएको थियो । कतारको राजधानी दोहामा भएको भनिएको त्यस सम्झौताको नेतृत्व अमेरिकाले गरेको थियो । त्यस शान्ति सम्झौताअनुरुप अमेरिकाले पनि अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने बताएको थियो ।

अमेरिकाले पनि आफ्ना केही सेना फिर्ता गरिसकेको छ । त्यस्तै उता तालिबानका तर्फबाट पनि उनीहरुले गरेको माग बमोजिम अफगानिस्तानको सरकारले सरकारको थुनामा रहेका तालिबानका केही लडाकूहरुलाई रिहा गरिरहेको जनाएको छ । वार्ताको वातावरण बनेको बताइएको छ । तर वार्ता कहिलेबाट शुरु हुने हो भन्ने बारेमा भने केही स्पष्ट भएको छैन ।

गत हप्ता बकर इदको समयमा तालिबानहरुले अफगानिस्तानभरी युद्ध विराम गरेको घोषणा गरेको थियो । तालिबानको त्यस युद्ध विरामको अमेरिका र अफगानिस्तानको सरकारले पनि स्वागत गरेका थिए ।

पछिल्लो समयमा तालिबान र अफगानिस्तानको सरकारका बीचमा शान्ति वार्ताका लागि वातावरण बन्दै गएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू