आइतबार, कार्तिक १८, २०८१
07:50
|
१३:३५
विस्फोटनपछि बेरुतबाट तीन लाख मानिस विस्थापित
रासस-एएनआई
अगस्ट ५, २०२०
बेरुत, २१ साउन–लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै तीन लाख मानिस विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन् ।
स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण सङ्कलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताउनुभयो । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विष्फोट भएको थियो । विस्फोटनमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् ।
करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको स्थानीय बासिन्दाले बताएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।
लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विष्फोटलाई देशको ठूलो विपत्तिको रुपमा लिइएको बताउनुभएको छ । उहाँले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
विस्फोटनको घटनाप्रति विश्वभरबाट सहानुभूति र समवेदना व्यक्त भइरहेको छ । कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५