बिहीबार, चैत १५, २०८०
17:14 | २२:५९

लेबनान विस्फोटमा मृत्यु हुनेको संख्या एक सय नाघ्यो

४ हजार बढी घाइते

रासस-एएफपी-एएनआई अगस्ट ५, २०२०

फोटो एएफपी 

बेरुत-२१ साउन: लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ ।

करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।

सो विस्फोट निकै टाढासम्म सुनिएको यहाँका स्थानीयवासीले जनाएका छन् । अहिले पनि सो विस्फोटपछि धुवाँ उडेका तस्बिरहरु यहाँका सञ्चारमाध्यमहरुले दिइरहेका छन् । ती तस्बिरहरु हेर्दा अवस्था निकै क्षतविक्षत देखिएको छ ।

विस्फोटपछिका अनलाइनमा राखिएका भिडिओहरुमा धुवाँको विशाल मुस्लो देखिएको छ र यहाँ धेरै क्षति भएका भौतिक संरचनाको अवस्था पनि देखिएको छ त्यस गोदाममा कुनै बाह्य आक्रमण भएका कारण यो विस्फोट भयो कि आफैं विस्फोट हुन पुगेको हो भन्ने कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।

लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताउनुभएको छ ।

लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति हो भन्नुभएको थियो । उहाँले यस विषयको अनुसन्धान शुरु भइसकेको र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताउनुभएको छ ।

उहाँले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नहरुलाई कडा कारबाही गरिने छ र उनीहरुलाई उम्किन दिइने छैन भन्नुभएको छ ।

गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी पाँच महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो ।

विस्फोटप्रति राष्ट्रपति ट्रम्पसहित विश्व नेताद्वारा दुःख व्यक्त लेबनानमा भएको विस्फोटबाट कैयौँ नागरिकको ज्यान गएको घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ । उहाँले सो घटनालाई एक डरलाग्दो घटना भन्नुभएको छ ।

ह्वाइटहा हाउसमा आयोजना गरिएको प्रेस भेटघाटमा सम्वाददाताहरुसँग उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ– ‘यो एकदमै डरलाग्दो घटना भएको छ, यसबाट लेबनानका कैयौँ नागरिकको ज्यान गएको छ, म लेबनान सरकार र त्यहाँका सबै नागरिकप्रति सान्त्वना दिन चाहन्छु ।’

उहाँले लेबनानको सरकार र त्यहाँका नागरिकहरुसँग अमेरिकाको राम्रो सम्बन्ध रही आएको छ म यस्तो अप्ठेरो परेको अवस्थामा लेबनान सरकारलाई आवश्यक सबै खालको सहयोग गर्न अमेरिका सरकार तयार छ भन्ने सन्देश दिन चाहन्छु ।

त्यसैगरी अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसस् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उक्त विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँहरुले यस्तो अवस्थामा जेजस्तो प्रकारको सहयोग गर्नु परे पनि आफूहरु तयार रहेको जानकारी लेबनान सरकारलाई गराउनुभएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू