शनिबार, वैशाख ८, २०८१
07:03 | ११:४८

धितोपत्र बोर्डको सूचनामा सगूनको ध्यानाकर्षण

नेपालबाट लगानी जुटाउने मनसाय नरहेको स्पष्टोक्ति

नेपाली लिङ्क अगस्ट ४, २०२०

 काठमाडौं  । नेपालीहरुको पहलमा स्थापित सोसल कमर्स प्लेटफर्म सगून डटकमले नेपाल धितोपत्र  बोर्डबाट प्रकाशित सूचनामा ध्यानाकर्षण भएको जनाएको छ ।

धितोपत्र बोर्डलाई एक पत्र लेख्दै सगूनले नेपालबाट लगानी जुटाउने आफ्नो कम्पनीको कुनै मनसाय नरहेको स्पष्ट समेत गरेको छ।

धितोपत्र बोर्डले हालै एक सार्वजनिक सूचना प्रकाशित गरी  ‘विदेशमा दर्ता भएको सगुन इन्कोर्पोरेशन जस्ता कम्पनीले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निस्काशन जारी गरेको’ भन्ने भनाइमा कुनै सत्यता नरहेको सगूनको ठहर छ 

सगुन नेपाल प्रालिद्वारा बोर्डलाई पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको कानून अनुसार नेपालको धितोपत्र बजारबाट रकम जुटाएर विदेशमा लगेर लगानी गर्न प्रतिबन्ध लगाइएकाले सगूनले नेपालमा लगानीकर्ताहरुबाट रकम उठाउन चाहेको भन्ने भनाइ सरासर गलत छ। हाम्रो अहिले वा निकट भविष्यमा पनि त्यस्तो कुनै योजना छैन ।’

त्यसैले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा २७.१ तथा २९.१ आफ्नो कम्पनीको हकमा आकर्षित नहुने पनि सगुनले स्पष्ट पारेको छ।

‘अमेरिकाको कानूनले विदेशी नागरिकहरुलाई पनि अमेरिकी कम्पनीहरुको शेयर खरिद गर्न कुनै रोकतोक गर्दैन । अमेरिकाको कानूनअनुसार अमेरिकी कम्पनीमा नेपालबाट शेयर खरिद गर्न पनि मिल्छ । तर त्यसका लागि नेपाल सरकारले अनुमति नदिएको मात्र हो’-सगूनले स्पष्ट गरेको छ । 

‘संयुक्त राज्य अमेरिका, भारत तथा नेपालमा सम्बन्धित मुलुकका कानूनहरुको पूर्ण परिपालना गरी संचालनमा रहेको यो कम्पनीले नेपालको कानून उल्लङ्घन गर्ने भन्ने प्रश्नै आउँदैन । नेपालको धितोपत्र बजारबाट रकम जुटाएर विदेशमा लगानी गर्ने यस कम्पनीको कुनै मनसाय नरहेकोले नेपाल धितोपत्र बोर्डमा दर्ता नगरेको हो । त्यसैले धितोपत्र बोर्डमा दर्ता नभएको कम्पनीलाई लगानीकर्ताहरुलाई आकर्षित गर्न खोजेको आरोप लगाउनु तथा त्यो उद्देश्यले कुनै पनि सूचना तथा विज्ञापन प्रकाशन/प्रसारण नगर्न/ नगराउन त्यस कार्यालयबाट जारी सूचना असान्दर्भिक रहेको समेत अनुरोध गर्न चाहन्छौं,’ कम्पनीले भनेको छ।  

‘काठमाडौँमा हाम्रो आफ्नै कार्यालय रहेको तथा यस कम्पनीको गतिविधिबारे केहि बुझ्न आवश्यक भए हामीलाई लिखित वा फोनबाट सम्पर्क गर्न सकिनेमा सार्वजनिक रुपमा सूचना प्रकाशित गर्ने कामले विदेशमा रहेका हाम्रा लगानीकर्ता तथा शुभचिन्तकहरुमा भ्रम उत्पन्न भएको छ । उक्त सूचनाले हाम्रो कम्पनीको सार्वजनिक छविमा पनि नराम्रो असर पर्न सक्ने हामीले ठानेका छौं। त्यसैले सार्वजनिक रुपमै उक्त सूचना सच्याई दिन पनि हामीले धितोपत्र बोर्डलाई अनुरोध गरेका छौं,’ संयुक्त राज्य अमेरिकास्थित सगुन इन्कर्पोरेशनका सहसंस्थापक कबिन सिटौलाले भने।

नेपाल बाहेक संसार भरिबाट सगूनमा लगानी गर्न पाइने नेपालको कानूनले नेपालबाट पैसा जुटाएर विदेशी मुद्रामा विदेशी कम्पनीमा लगानी गर्न रोक लगाएको छ । त्यस्तै अमेरिकी कानूनले प्रतिबन्ध लगाएका इरान, उत्तर कोरियाजस्ता केहि मुलुकहरु बाहेक संसारका अन्य सबैजसो मुलुकहरुबाट अमेरिकास्थित सगून इन्कर्पोरेशनमा लगानी गर्न सकिने सो कम्पनीले जनाएको छ।

‘ग्लोबल ब्राण्ड स्थापना गर्ने प्रवासी नेपालीहरुमध्ये सगून पहिलो सुरुवातकर्ता हो ।सगूनले नयाँ गोरेटो कोर्दै नेपाली नयाँ पुस्तालाई प्रेरणा दिन चाहन्छ । हाम्रो सफलताले नवीनतम सोच र काममार्फत विश्वसँग प्रतिस्पर्धा गर्न नेपाली नयाँ पुस्तालाई आत्मविश्वास जगाउन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ,’  कम्पनीले भनेको छ।

‘हामी सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा १ करोड ५० लाख भन्दा बढी व्यक्तिहरु विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्दछन् । नेपालका यति धेरै प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जालहरुमा राखिएको विज्ञापनबाट अन्तर्राष्ट्रिय  सामाजिक सञ्जालहरुले बार्षिक करिव २२ अरब रुपैयाँ नेपालबाट कमाउँछन् । त्यो रकम नेपालमा नै रहोस् भन्ने चाहना र कोसिस सगुनको रहेको छ, रहिरहने छ,’ सगूनको भनाइ छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू