फोटो-भिडियोग्राफीमा ख्याति बटुल्दै राजेन्द्र



राजेन्द्र पौडेल
लन्डन । लकडाउनका बेला ‘लक’ नभइ आफ्नो क्रियशनमा झन् निखार ल्याउन जुटे भिडियो/फोटोग्राफर राजेन्द्र पौडेल । ‘कोभिड १९’ महामारीले ल्याएको आफ्नो व्यवसायिक संकट भुलेर उनी फूर्सदिलो समयमा निशुल्क फोटोसेसन गरिदिएर मानिसहरुको मन जिते । ‘हो, अहिले व्यवसाय ठप्प छ । तर मैले त्यो पाटो बिर्सेर आफ्नो पेशामा पूर्णबिराम लगाइन’, एक सांझ लन्डनमा भेटिएका राजेन्द्रले भने ।
राज फोटोग्राफी लोगोमा देखिने तस्विर उनैले खिचेका हुन् । लकडाउनका बेला उनले निशुल्क फोटोसेसनको अफर दिएर लन्डनलाई ‘राजमय’ बनाए । ‘आफूलाई अपडेट गराइराख्न पनि मैले क्यामेरा चलाइरहनु पर्छ । त्यसकारण समयानुकल हेरेर केही सुट सित्तैमा गरिदिन मलाई समस्या भएन’, उनले भने ।
विगत ५ वर्षदेखि यो पेशामा छन् उनी । शुरुमा सौख तर पछि पेशाकै रुपमा लिए उनले । भिडियोबाट शुरु गरेर अहिले फोटोग्राफी पनि एकसाथ लगिरहेको पौडेलले सुनाए । बिहे, व्रतवन्ध, पास्नी, जन्मदिन जस्ता पारिवारिक-धार्मिक समारोह, सांस्कृतिक कार्यक्रम (कन्सर्ट), मोडल, कलाकारहरुको फोटोसुट, जस्तो सुकै पार्टी लगायत सबै क्षेत्रको फोटो-भिडियो गर्ने उनी बताउंछन् । ‘अहिले त फोटो, भिडियो खिच्नेहरु यत्रतत्र छन्’, राजेन्द्र भन्छन्, ‘आइफोन वा अन्य स्मार्टफोनले पनि खिचिन्छ फोटो त । तर, मेन क्वालिटी हो ।’
बेलायतको नेपाली समाज बढ्दै गएको र कार्यक्रम पनि धेरै हुन थालेको उनको अनुभव छ । ‘अचेल फोटोग्राफी बिना कार्यक्रम नै हुन्न’, उनको अनुभव छ, ‘साथीहरुमा प्रतिष्पर्धाको भावना र खुट्टा तान्ने प्रवृत्ति भने बढेको देखिन्छ ।’ म सस्तोमा गरिदिन्छु भनेर कार्यक्रम भांडिदिएका अनुभव उनीसंग छ । ‘किन उसलाई पैसा तिर्नुपरयो म सित्तैमा गरिदिन्छु’ भनेर कार्यक्रम रद्द गरिदिएका भोगाइ पनि उनीसंग छन् ।
यो पेशामा चुनौति देख्छन् उनी । ‘आफूलाई अपडेट राख्न जरुरी छ’, उनको धारणा छ, ‘फरक-फरक सफ्टवेयर, इडिटिङ, कलरिङ र मानिसका चाहना फरक फरक भएकाले चित्त बुझाउन सहज छैन् ।’ उनले बेलायतमा जातीयता प्रमुख समस्याका रुपमा देखे ।
अन्य व्यवसाय जस्तै मनोरन्जन विद्याभित्र पर्ने भिडियो, फोटोग्राफी कोभिड १९ को चपेटामा परेको पौडेल बताउंछन् । यो सिजनको बेला लकडाउन खुलेपछि जम्मा ६ वटा फोटोसुट गरे उनले । बेबी सावर, प्रिग्नेन्सी फोटो, गुन्युचोलो फाट्टफुट्ट आएपनि पार्टीमा बोलाउन मानिसहरुले डर मानिरहेका उनले बताए । ‘वर्तमान परिस्थितिले तीजका केही गीतमा म्यूजिक भिडियो बनाउने काम गर्न सकिएन । सायद सन् २०२० मा सामान्य फोटोसुट बाहेक अन्य काम होला जस्तो मलाई लाग्दैन्’, उनी भन्छन् ।
कार्यक्रम वा पार्टीमा कति मान्छे छन्, कति खिच्नु पर्ने हो त्यसमा आफ्नो पारिश्रमिक भर पर्ने उनी बताउंछन् । नेपालीले इभेन्टमा पैसा कम खर्च गर्ने गरेको उनको बुझाइ छ । ‘तर विदेशी समुदाय भने कुनै इभेन्टलाई विशेष अवसरका रुपमा लिएर फोटोग्राफी गर्न पैसामा कम्प्रमाइज गर्दैनन्’, उनले भने, ‘नेपालीहरु काम चल्ने भए हुन्छ टाइपका कुरा गर्छन् ।’
बेलायतमा बजार सानो भएकाले यसलाई आफूले ‘साइड’ पेशामा राखेको उनले बताए । ‘यसैबाट बांच्न अब गारहो छ किनकि प्रतिष्पर्धा बढ्यो र कोभिड १९ थप संकट थपियो’, उनले दुःख बिसाए ।
राजेन्द्रको विगत
सन् २००७ मा बेलायत आए उनी । नेपाल छंदा कलेजको कोर्षमै फोटोग्राफी पढे तर बेग्लै प्रशिक्षण लिएका होइनन् । ग्राफिक डिजाइन, फोटोसप, पेजमेकर पढेपछि उनलाई यस पेशाको धेरथोर ज्ञान भएको थियो । पछि कम्प्युटर हार्डवेयरको काम सिके । सन् २००२ तिर कम्युटर इन्सटिच्यूटमा पढाउंथे उनी । सन् २००५ मा सडक विभाग, सशस्त्र प्रहरी जस्ता सरकारी निकायमा कम्प्युटर बनाउने काम गरेको उनी स्मरण गर्छन् । उनको ‘लाइक नेपाल’ नामक युट्युब च्यानल पनि छ जसमा पप, लोक, आधुनिक गायक गायिकादेखि फिल्मी कलाकार गरि ६ सय भन्दा बढिको बायोग्राफी भिडियो छ ।
राजेन्द्रले ‘हेल्लो डक्टर’ नामक कार्यक्रम पनि चलाए जसमा विभिन्न विद्याका चिकित्सक बोलाएर अन्तर्वार्ता गरिन्थ्यो । उनले फेसन सम्बन्धि कार्यक्रम पनि बनाए ।
लन्डनमा बसेरै आफूले लाइभ दोहोरी कार्यक्रमको १०२ एपिसोड सुट गरेको उनी बताउंछन् । लोक दोहोरी गाउने प्रतिभा भएर पनि बाहिर आउन नसकेका कलाकारलाई प्लेटफर्म दिने कार्यक्रम थियो त्यो ।
आधा दर्जन जति म्यूजिक भिडियो बनाइसकेका राजेन्द्रले खिचेका केही तस्बिरहरुः










सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



