बिहीबार, वैशाख २७, २०८१
21:11 | ०१:५६

कोरोनाको दोस्रो महामारी आउन सक्ने एनआरएनए स्वास्थ्य समितिको चेतावनी

नेपाली लिङ्क अगस्ट २, २०२०

लन्डन । गत वर्षको डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड  १९) विश्वभर महामारीको रुपमा फैलिएको छ । हालसम्म कोरोनाका कारण विश्वभर ६ लाख ९२ हजारभन्दा बढीको मृत्यु भैसकेको छ । अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत, भारत इटाली तथा स्पेन जस्ता मुलुकहरु बढी प्रभावित भएका छन् । जहाँ ३० हजार भन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ ।

युरोप तथा बेलायत लगायत मुलुकहरुमा कोरोना संक्रमणको दोस्रो लहर आउने आंकलन गरिरहँदा गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले पनि दोस्रो महामारी आउन सक्ने चिन्ता व्यक्त गरेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण दर निरन्तर रुपमा वृद्धि हुँदै गएपछि संघद्वारा शुक्रबार प्रस्तुत कोभिड १९ तथ्याँक अपडेटमा उक्त कुरा उल्लेख गरिएको हो ।

समितिले स्पेन, बेल्जियम, यूके, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ । समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भवना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य मानिसहरु भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतार लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् । यसैबीच नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण यो साता विदेशमा थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ । कोरोना संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको  गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको छ । कोरोना संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू