बुधबार, वैशाख १२, २०८१
03:12 | ०७:५७

गोर्खा आन्दोलनका योद्धा गुरुङको सम्झनामा श्रद्धाञ्जलि सभा

नेपाली लिङ्क अगस्ट २, २०२०

लन्डन । गोर्खा आन्दोलनका एक योद्धा भूतपूर्व सांसद एवं नेपाल भूपू सैनिक संघका संस्थापक अध्यक्ष स्वर्गीय मेजर दिपकबहादुर गुरुङको सम्झनामा लन्डनमा एक श्रद्धाञ्जलि सभा गरिएको छ ।

ब्रिटिश गोर्खा नेपाल भूतपूर्व सैनिक (बिजिनेशा) यूकेले शुक्रबार साउथ इष्ट लण्डनको प्लमस्टेडस्थित जिगेसो हलमा एक शोकसभा गरेर स्वर्गीय गुरुङप्रति श्रद्धाञ्जलि अर्पण गरेको हो । गुरुङको ८४ वर्षको उमेरमा जुलाई तेश्रो साता नर्भिक हस्पिटलमा निधन भएको थियो ।

बिजिनेशा युकेका सभापति केशबहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त शोक सभामा उपाध्यक्ष दिल जिसी, कोषाध्यक्ष डम्बर गुरुङ, भोजप्रसाद गुरुङ, खुमबहादुर गुरुङ, दुर्गा राणा, एनआरएन आइसीसी सदस्य तथा आरजीएनएस उपाध्यक्ष लीलादेवी गुरूङ लगायतले सम्बोधन गरेका थिए । सभा 
सञ्चालन सचिव हरिकुमार मल्लले गरेका थिए ।

उक्त कार्यक्रममा स्वर्गीय गुरुङको तस्बिरमा फूलमाला चढाएर शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि प्रार्थना गरिएको थियो । शुरुमा १ मिनेट मौनधारण समेत गरिएको थियो ।

कार्यक्रममा बिजिनेशाका महासचिव तर्कजङ गुरुङका पिता भूपू राष्ट्रिय पञ्चायत सदस्य नन्दजङ गुरुङको अल्डरसटस्थित केयर होममा भएको असामयिक निधनमा पनि शोक व्यक्त गर्दै श्रदान्जली अर्पण गरियो । स्वर्गीय गुरुङको ‘नन्दजङ गुरुङ आत्मकथा’ प्रकाशित छ ।

शोकसभामा बिजिनेशाका कोषाध्यक्ष डम्बरबहादुर गुरुङको सासुआमा अइराती गुरुङको असामयिक निधनमा पनि श्रद्धान्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा सभापति एवं बिजिनेशा सभापति केशबहादुर गुरुङले तीनै जनाको छोटो जीवनी प्रस्तुत गरेका थिए । सभापति गुरुङले स्वर्गीय गुरुङ गोर्खा हकहितका लागि लड्ने अभियन्तामात्र नभइ एक कुशल 
राजनीतिज्ञ साथै सक्षम र निडर नेता भएको स्मरण गरे ।

मादी गाउंपालिका-२, ताङतिङ कास्की घर भइ पछिल्लो समय काठमाडौंमा बसोवास गर्ने स्वर्गीय दिपकबहादुर गुरुङ ब्रिटिश आर्मीमा ३० वर्ष सेवा गरेर मेजर पदबाट अवसकार लिएपछि नेपाल गएर सन् १९९० मा नेपाल भूपू सैनिक संघको स्थापना गरि ब्रिटिश गोर्खाको हक हितका लागि अहोरात्र खटिएका थिए । उनले २८ वर्षसम्म संघको ३ पटक अध्यक्ष भएर काम गरे । 
भारतमा शिक्षा लिएर नेपाल फर्किएपछि उनी केही वर्ष शिक्षण पेशामा संलग्न भएर राजनीतिमा होमिए ।

गुरुङ नेपाली कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभा सदस्यका रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरे ।

तमु बौद्ध सेवा समिति नेपालका संस्थापक तथा पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय गुरुङ दर्जनौं सामाजिक संस्थामा संलग्न थिए । ब्रिटिश सेनाका अफिसरलाई नेपाली भाषा सिकाउने काम समेत गरेका स्वर्गीय गुरुङले बेलायती महारानीसंग समेत निकट हुने अवसर पाएका थिए ।

गुरुङले महारानीले भनेको ‘गोर्खा अफिसर इज द भेरी ब्रेभ’ भन्ने वाक्यांश स्मरण गराइरहन्थे । क्याप्टेन रामबहादुर भिसीलाई अंग्रेजी राम्ररी नआउने भएपछि उनको सहयोगी भई गुरुङले लन्डनको बकिङघम दरबारमा डेढ वर्ष काम गरे । सो अवधिमा तत्कालिन ब्रिटिश प्रधानमन्त्री मार्गरेट थ्याचर लगायत कयौं उच्चपदस्थ मन्त्री तथा सांसदहरुसित परिचित हुने मौका पाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू