बुधबार, वैशाख १२, २०८१
17:38 | २२:२३

ताङतिङ ग्लोबल नेटवर्कको प्रथम जुम मिटिङ

नौ राष्ट्रबाट २९ जना ताङतिङे सहभागी

नेपाली लिङ्क जुलाइ २२, २०२०

लण्डन — पछिल्लो समय निकै प्रयोगमा रहेको जुम प्रबिधिमार्फत  कास्की जिल्ला मादी गाउँपालिका वडा नं २ ताङतिङ मातृभूमि भइ विश्वभर छरिएर रहेका गाउँलेहरुको साझा प्लाटफर्म ‘ताङतिङ ग्लोबल नेटवर्क’ को प्रथम जुम मिटिङ सम्पन्न भएको छ । 

ताङतिङ समाज युकेका अध्यक्ष लण्डन बरो अफ बार्नेटका उपमेयर काउन्सिलर लक्ष्य ब. गुरुङको संयोजनमा सम्पन्न उक्त मिटिङमा जन्मभूमिसंग सम्बन्धित विविध विषयमा छलफल भएको थियो ।

हालसालै निधन भएका ताङतिङ समाज युकेका संरक्षक भूपू माननीय (राष्ट्रिय पंचायत सदस्य) स्वर्गीय नन्दजङ्ग गुरुङ र भूपू माननीय (राष्ट्रिय सभा सदस्य, नेपाली कांग्रेस) स्वर्गीय मेजर दीपक ब. गुरुङ तथा कोभिडबाट विश्वभर मृत्यु भएका सबैको सम्झनामा दुःख व्यक्त गर्दै एक मिनेट मौन धारण गरी प्रारम्भ भएको बैठकमा उपमेयर कान्सिलर लक्ष्यबहादुर गुरुङले सहभागी सम्पूर्ण गाउँलेहरुलाई स्वागत गर्दै प्रथम जुम मिटिङको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो । 

बैठकको शुरुवातमा विभिन्न देशहरुमा बसोबास गरिरहनुभएका गाउँलेहरुको हालखबर, कोभिडबाट कसैलाई संक्रमण भए नभएको र कोभिडको असरबारे जानकारी लिइएको थियो ।

बैठकमा ताङतिङ दुधपोखरी समाजघर पोखराको पुन:निर्माण, ताङतिङ कल्याणकारी कोष, ताङतिङ लगानी कम्पनी, ताङतिङ खेल मैदान र ताङतिङमा शिक्षाको विकासका सम्बन्धमा छलफल भएको थियो ।

यी विषयहरुमा सम्बन्धित व्यक्तित्वहरुले हालसम्मको प्रगति विवरण र त्यससंग सम्बन्धित अरु कुराहरु सहभागी गाउँलेहरुलाई जानकारी गराएका थिए । साथै बैठकमा मादी गाउँपालिका वडा नं १ सिक्लेस र वडा नं २ ताङतिङबीचको सिमाना सम्बन्धमा गहन छलफल भएको थियो ।

मादी गाउँपालिकाका अध्यक्ष बेद ब. गुरुङ्ग (श्याम) र मादी गाउँपालिका वडा नं. २ का अध्यक्ष एक्कजङ्ग गुरुङले सहभागी गाउँलेहरुलाइ प्रस्तुत प्रस्तावनाहरुबारे नेपाल सरकार र स्थानीय सरकारको पक्षबाट कानुनी प्रावधान, नीति नियम आदिबारे प्रष्ट पार्नुभएको थियो ।

बैठकमा हालसालै नेपाल सरकारले कटौती गर्ने भनेको ‘सामाजिक सुरक्षा भत्ता’ सम्बन्धमा पनि जनप्रतिनिधिहरुबाट जानकारी लिइएको थियो । त्यसैगरी कोभिडको कारण बेरोजगार भइ बिदेशबाट फर्किनुभएका गाउँलेहरुको पुनर्स्थापना, गाउँमा कृषि र युवा स्वरोजगार सम्बन्धमा लागू गर्न सकिने कार्ययोजनाहरूबारे छोटो छलफल गरिएको थियो ।

ताङतिङको सर्बाङ्गिण बिकास सम्बन्धमा यसरी बृहत् रुपमा झण्डै साढे चार घण्टा समय लगाएर प्रबिधिमार्फत छलफल गरिएको यो प्रथम बैठक हो ।

बैठकमा नेपालबाट मादी गाउँपालिका अध्यक्ष बेद बहादुर गुरुङ (श्याम), मादी गाउँपालिका वडा २ का अध्यक्ष एक्कजङ्ग गुरुङ, श्री हिमालय मिलन मा. बि. ताङतिङका प्रधानाध्यापक ओम प्रकाश गुरुङ, पोखराबाट ताङतिङ दुध पोखरी समाजका अध्यक्ष सुबेदार मेजर हेमप्रसाद गुरुङ, ताङतिङ दुध पोखरी समाजका निवर्तमान अध्यक्ष सुबेदार मेजर टोकबहादुर गुरुङ, ताङतिङ दुध पोखरी समाजका भूपू अध्यक्ष समाजसेवी हर्कध्वज गुरुङ, गुरुङ चलचित्र संघ नेपालका अध्यक्ष भोजबहादुर गुरुङ, फोटो पत्रकार युनीस गुरुङ, ताङतिङ युथ क्लबका अध्यक्ष हिमाल गुरुङ, निवर्तमान अध्यक्ष भोजबहादुर गुरुङ र ताङतिङका महिला अभियन्ताहरु श्रीमती कुमारी गुरुङ, श्रीमती काशी गुरुङ, श्रीमती योमाया गुरुङ सहभागी थिए । काठमाडौंबाट ताङतिङ समाज काठमाडौंका कोषाध्यक्ष रनधोज गुरुङ र उनकी धर्मपत्नी श्रीमती जुनु गुरुङ सहभागी थिए ।

त्यसैगरी बैठकमा अफ्रिकाबाट संयुक्त राष्ट्र संघमा कार्यरत अधिकृत जीत गुरुङ, बेल्जियमबाट ताङतिङ समाज युकेको निवर्तमान सचिब दुर्गा गुरुङ, हङकङबाट ताङतिङ युथ क्लबका भूपू अध्यक्ष पदम गुरुङ, जापानबाट लाल गुरुङ, अष्ट्रेलियाबाट श्रीमती सिमा गुरुङ, अमेरिकाबाट ताङतिङ कल्याणकारी कोषका अध्यक्ष मेजर बालासिंह गुरुङ र सोम गुरुङ, पोर्तुगलबाट केश गुरुङ सहभागी थिए । 

त्यसैगरी युकेबाट ताङतिङ समाज युकेका अध्यक्ष उपमेयर लक्ष्यबहादुर गुरुङ, ताङतिङ समाज युकेका संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एमबीइ, ताङतिङ समाज युकेका सल्लाहकार केसबहादुर गुरुङ, सचिब टौ गुरुङ, युवा संयोजक मेक गुरुङ र अन्य सदस्यहरु गरी नौ राष्ट्रबाट २९ जना ताङतिङे सहभागी थिए ।

उक्त जुम संवादको संचालन ताङतिङ समाजका सचिब टौ गुरुङले गरेका थिए । उक्त नेटवर्कको अर्को जुम मिटिङ अगष्ट ९ तारिखमा हुने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू