शुक्रबार, वैशाख १४, २०८१
07:44 | १२:२९

भीसीको शालिकमा चन्दा दिन चाहनेहरु ‘वेटिङ लिस्ट’ मा

सहयोग रकम धमाधम जम्मा हुँदै

नेपाली लिङ्क जुलाइ २०, २०२०


लन्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटीको विशेष प्रोजेक्टका रुपमा निर्माणाधिन प्रथम भिक्टोरिया क्रस विजेता हवल्दार कुलवीर थापाको शालिकका लागि बेलायतस्थित नेपाली संघसंस्था र समुदायको सहयोग आउने क्रम जारी छ ।

यसै क्रममा गत शुक्रबार सोंपाल समाज यूकेले १ हजार १० पाउन्डको सहयोग हस्तान्तरण  गरेको छ । समाजका अध्यक्ष युक्त गुरुङले गोर्खा मेमोरियल प्रोजेक्टका संयोजक मेजर खिम गौचन, जिआरएनसी अध्यक्ष रामधन राई र प्रोजेक्टका कोषाध्यक्ष टोप  पल्लीसहितको टीमलाई  संयुक्त रुपमा सहयोग चेक हस्तान्तरण गरे ।  

त्यस अवसरमा समाजका महासचिव भरत गुरुङ, सचिव चिन गुरुङ, ट्रष्टी के रि राजेन्द्रमान गुरुङ, सल्लाहकार डेभिड गुरुङ, फानबरो संयोजक कपिल गुरुङ लगायतका प्रतिनिधि पनि उपस्थित थिए ।

 

यसैगरी, अल्डरसट गोर्खा आमा समूह एम्पायर हल (ए) ले पनि भीसी शालिक निर्माणको लागि १ हजार १ सय २० पाउन्ड सहयोग प्रदान गरेको छ ।

समूहकी अध्यक्ष तारा गुरुङ, महासचिव भगवती घले, संरक्षक घनमाया गुरुङसहितको संस्थाको टोलीले जिआरएनसी अध्यक्ष रामधन राई, गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता तथा जिआरएनसी पूर्व अध्यक्ष ओमप्रसाद थापा काउचालाई चेक हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण कार्यक्रममा जिआरएनसी उपाध्यक्ष मान गुरुङ  सदस्य पार्वती थापा काउचा समेतको उपस्थिति थियो ।

सहयोगदाता वेटिङ लिस्टमा 

प्रथम भीसी विजेताको शालिक निर्माण गर्ने ऐतिहासिक प्रोजेक्टका लागि सहयोगको ईच्छा जाहेर गर्नेहरुको लहर नै चलेको छ । 

शुरुमा करिब १ सय २५ संघसंस्था एवम् व्यक्तिबाट १ हजार पाउण्ड सहयोग लिने योजना बनाइएकोमा सहयोग गर्न खोज्नेहरुको संख्या धेरै भएपछि १ सय ४० संस्था तथा व्यक्तिबाट सहयोगको प्रतिबद्धता जुटाइएको छ । सहयोगी संख्या बढेपछि शालिकको आकार बढाउनुको साथै थप स्तरीय बेस निर्माण हुने भएको छ। 

अहिलेसम्म सहयोग प्रतिबद्धता गर्नेमध्ये ४७% दाताहरूले आफ्नो सहयोग रकम खातामा जम्मा गराइसकेको प्रोजेक्टका कोषाध्यक्ष टोप पल्लीले जानकारी दिएका छन्  कोषाध्यक्ष पल्लीका अनुसार कतिपय दाताले प्रतिबद्धता गरेभन्दा बढी रकम समेत जम्मा गराएका छन् ।  

प्रोजेक्टलाई आवश्यक रकमको प्रतिबद्धता जुटिसकेपछि नयाँ दाताको प्रतिबद्धता लिने क्रम रोकिएको छ । प्रोजेक्टमा योगदान गर्न चाहने करिब आधा दर्जन सहयोगदाता अहिले पनि ‘वेटिङ लिस्ट’ मा छन् । पहिले नै प्रतिबद्धता गरेकाहरुबाट आउंदो नोभेम्बरभित्रै रकम जम्मा नभए अहिले वेटिङ लिस्टमा रहनेहरुले मौका पाउनेछन् ।  

शालिकको आधारमा राखिने शिलालेखमा नाम लेखाउनको लागि प्रतिबद्धता गरिएको रकम नोभेम्बरभित्रै जम्मा गराउनुपर्ने प्रोजेक्टले बताएको छ । प्रवक्ता ओमप्रसाद थापा काउचाका अनुसार नोभेम्बरपछि रकम जम्मा गर्नेको नाम शिलालेखमा रहने छैन ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू