बिहीबार, वैशाख १३, २०८१
07:39 | १२:२४

नेपालमा कोरोनाबाट थप १ सय १ संक्रमित, एकको मृत्यु

रासस जुलाइ १७, २०२०

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमित १०१ थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा गरिएका चार हजार ६८८ नमूना परीक्षणमा १०१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ४४५ पुगेको छ ।
प्रदेशगतरुपमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ८१५, प्रदेश नं २ मा चार हजार ४८०, बागमती प्रदेशमा ८५१, गण्डकी प्रदेशमा एक हजार ३५७, प्रदेश नं ५ मा चार हजार १३५, कर्णाली प्रदेशमा एक हजार ८०४ र सुदूरपश्चिम प्रदेशमा चार हजार तीन जना रहेका छन् ।
त्यस्तै, हालसम्म कोरोनाको उपचारपछि निको भएर घर फर्किएकामध्ये प्रदेश नं १ मा ७४४, प्रदेश नं २ मा दुई हजार ५८८, बागमती प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ९४६, प्रदेश नं ५ मा तीन हजार ४९२, कर्णाली प्रदेशमा एक हजार ४९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६५९ रहेका छन् ।
मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार देशभरका क्वारेन्टिनमा हाल १२ हजार ७५६ रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ८७१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या २८५ रहेको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ५३४ छ । कूल कोरोना सङ्क्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमले दिएको हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३९ लाख ६४ हजार ७९९ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ९३ हजार ४९ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि छ ।
नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये पुरुष र महिलाको अनुपात क्रमशः ८७ र १३ प्रतिशत रहेको छ । हाल ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । सक्रिय एउटा पनि केस नभएका जिल्लामा मनाङ, मुस्ताङ र हुम्ला रहेको पनि उनले जानकारी दिए ।

थप एकको मृत्यु

पछिल्लो २४ घन्टामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

सप्तरी राजविराजका एकजना ७३ वर्षीय पुरुषको बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो ।

डाइविटिज र मुटुको दिर्घरोगी ति वृद्ध असार ३१ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू