विश्व व्यापार संगठनको नेतृत्वका लागि छ जना प्रतिष्पर्धामा
जेनेभा, २४ असार–विश्व व्यापार संगठन (डब्लुटिओ) को आगामी नेतृत्वका लागि सम्भावित छ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
उम्मेदवारीका लागि बुधबार अन्तिम दिन बांकी छ । डब्लुटिओका महानिर्देशक रोबर्टो अजिभिडोले राजीनामा दिएपछि नयां नियुक्तिको दौड शुरु भएको हो । ब्राजिलका कुटनीतिक व्यक्तित्व अजिभिडोले एक वर्षे कार्यकाल बांकी रहंदै डब्लुटिओबाट राजीनामा दिएका थिए ।
नयां नेतृत्वका लागि इजिप्ट, केन्या, मेक्सिको, मोल्डोभा, नाइजेरिया र दक्षिण कोरियाबाट उम्मेदवारी परेको छ ।
पछिल्लो समय संयुक्तराज्य अमेरिकाले डब्लुटिओको कार्यशैलीमाथि प्रश्न उठाउंदै डब्लुटिओबाट नै अलग्ग हुने धम्की दिंदै आएको छ । अमेरिकाले गत डिसेम्बरदेखि नै डब्लुटिओको विवाद समाधान प्रणालीमा न्यायाधीश नियुक्तिमा अवरोध गरिरहेको छ । अमेरिकाले चीनलाई विकासशील मुलुकको समूहबाट माथि लैजान माग गरिरहेको छ ।
डब्लुटिओको प्रमुखका लागि सामान्यतया मतदान हुने गर्दैन । उम्मेदवारहरुबीच सहमतिका आधारमा एक पछि अर्को उम्मेदवारले आफ्नो उम्मेदवारी परित्याग गर्ने व्यवस्था छ । कुनै सहमति नभएमा मात्र मतदानको प्रावधान छ ।
सन् १९९९ मा दुई सम्भावित उम्मेदवारबीच सहमति हुन नसक्दा दुबै उम्मेदवारलाई कार्यकाल आधाआधा बांडिएको थियो । डब्लुटिओको प्रमुखको कार्यकाल ६ वर्षको हुने गर्दछ ।
डब्लुटिओका आगामी उम्मेदवारका अगाडि निकै ठूला चुनौतीहरु छन्, खासगरी चीन र संयुक्तराज्य अमेरिकाबीचको बढ्दो व्यापारिक तनाबले समस्या सिर्जना गर्नेछ । साथै, विश्वव्यापी कोरोनाभाइरसको महामारीले शिथिल बनाएको विश्व व्यापारमा नयां किसिमका चुनौती समेत देखा पर्ने अनुमान गरिएको छ ।
विश्व व्यापार संगठनका अनुसार यसपटक उम्मेदवार दिनेहरुमा दक्षिण कोरियाका व्यापार मन्त्री यू म्यूङ–ही, केन्याका पूर्व विदेशमन्त्री अमनिा मोहमद, मेक्सिकोका पूर्व डब्लुटिओ उपमहानिर्देशक जेसस सिड कुरी, नाइजेरियाका पूर्व विदेश तथा अर्थमन्त्री नोजी ओकोन्जो–इवेला, इजिप्टका पूर्व कूटनीतिज्ञ हमिद ममदोउ र मोल्डोभाका पूर्व विदेश मन्त्री टुडोर उलियानोभ्ची छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५