बुधबार, वैशाख १२, २०८१
16:17 | २१:०२

भारतमा कोरोना भाइरस संक्रमित करिब सात लाख

रासस-एएनआइ जुलाइ ६, २०२०

नयाँ दिल्ली ।  भारतमा गत २४ घण्टामा कोभिड–१९ का २४ हजार २४८  नयाँ केस  थपिएपछि संक्रमितको संख्या  करिब सात लाख पुगेको छ । भारतमा हालसम्म कुल सक्रमितको संख्या ६ लाख ९७ हजार ४१३ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

विगत २४ घण्टामा भारतमा थप २४ हजार २४८ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४२५ संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ । विज्ञप्तिका अनुसार सोमबार बिहानसम्म ४ लाख २४ हजार ४३२ संक्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।

सोमबारसम्मको विवरणअनुसार भारतमा अझै २ लाख ५३ हजार २८७ व्यक्तिले संक्रमित छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरेहका छन् ।  भारतमा कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र यहाँ २ लाख ६ हजार ६१९ संक्रमित रहेका छन् भने ८ हजार ८२२ जनाको मृत्यु भएको छ ।

दोस्रो स्थानमा तमिलनाडु रहेको छ र यहाँ १ लाख ११ हजार १५१ जना संक्रमित छन् भने १ हजार ५१०  जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेश छ । जहाँ ९९ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार ६७ जनाको मृत्यु भएको छ । 

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि  व्यवसायिक अन्तराष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू