शनिबार, वैशाख ८, २०८१
02:37 | ०७:२२

एयर फ्रान्सले ७ हजार ५०० कामदार हटाउने

रासस–एपी जुलाइ ५, २०२०


पेरिस, २१ असार– कोरोनाभाइरसका कारण हवाई उड्डयनका क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत सात हजार ५०० कामदार हटाउने निर्णय गरेको छ ।

तर एयर फ्रान्सको मुख्यालयमा ट्रेड युनियनले कम्पनीको घोषणाको विरोधमा प्रदर्शन गरेको छ । कम्पनी र युनियनका प्रतिनिधिबीच एयर फ्रान्सको प्रस्तावका विषयमा वार्ता पनि शुरु भएको छ ।

फ्रान्स सरकारले गत मे महिनामा ल्याएको आर्थिक सहायता कार्यक्रमबाट एयर फ्रान्सले करिब ८ अर्ब डलर सरकारी कोष प्राप्त गरे पनि मजदूर निकाल्ने निर्णयमा पुगेको भन्दै मजदूर युनियन आक्रोशित भएका हुन् ।

मजदूर युनियनले एयर फ्रान्सको निर्णयले फ्रान्सेली अर्थतन्त्रमै असर पार्ने चेतावनी दिएका छन् । सरकारी सहायता रकमबाट कम्पनीमा सुधार गर्नुपर्नेमा उल्टै मानिसलाई बेरोजगार बनाएको युनियनका नेताहरुको गुनासो छ ।

एयर फ्रान्सका प्रतिनिधिसँग पहिलो चरणको वार्तापछि कम्पनी व्यवस्थापनले एयर फ्रान्सबाट ६ हजार ५०० देखि ४१ हजार कर्मचारी, कामदार हटाउने तथा एयर फ्रान्सको सहायक कम्पनी हपले एक हजारदेखि दुई हजार ४०० मजदूर सन् २०२२ सम्ममा हटाउने घोषणा गरेको थियो ।

एक अनुमान अनुसार विश्वभर यस वर्ष एयरलाइन्सहरुले करिब ८४ अर्ब डलर नोक्सानी व्यहोर्ने छन् । एयरलाइन्सको आम्दानीमा झण्डै आधा घट्ने छ । केही विमान कम्पनी बन्द हुनेक्रममा रहेका छन् । अधिकारीहरुले विश्वको एयरलाइन्स व्यवसायलाई बचाउन वा लयमा फर्किन केही वर्ष लाग्ने बताएका छन् ।

कोरोनाभाइरसका कारण एयर फ्रान्सले आफ्ना उडानमा विगत तीन महिनाभित्र करिब ९५ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीले प्रति दिन एक करोड ५० लाख युरो गुमाउनु परेको छ ।

सरकारले उपलब्ध गराएको वित्तीय सहायता ऋण र ऋणको प्रत्याभूतिका रुपमा दिइएको छ । उड्डयन क्षेत्रमा फ्रान्स सरकारले करिब १५ अर्ब युरोको आर्थिक सहयोगको व्यवस्था गरेको छ ।

फ्रान्समै रहेको युरोपेली बिमान निर्माता कम्पनी एयरबसले पनि शुक्रबार कम्पनी बचाउन करिब १५ हजार कामदार, कर्मचारी हटाउने घोषणा गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू