शुक्रबार, वैशाख १४, २०८१
23:08 | ०३:५३

गैर आवासीय नेपाली संघद्वारा डिजिटल परिचयपत्र सुरु

नेपाली लिङ्क जुन २९, २०२०

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डिजिटल परिचयपत्र वितरण सुरु गरेको छ । एनआरएनएलाई डिजिटल प्रविधियुक्त बनाउन स्मार्ट एनआरएनए प्रोजेक्ट घोषणाको दुई महिना नबित्दै डिजिटल परिचयपत्र वितरण सुरु गरिएको हो ।

पहिलो चरणमा गैरआवासीय नेपाली संघ अमेरिकाका राष्ट्रिय समन्वय परिषदबाट परिचयपत्र वितरण सुरु गरिएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका छन् । गैरआवासीय नेपाली संघले चरणबद्ध रुपमा अन्य देशमा पनि परिचयपत्र योजनाबद्ध तरिकाले वितरण गर्ने योजना बनाएको छ ।

नयाँ प्रविधिको डिजिटल परिचयपत्र प्राप्त गर्न सबै पन्जिकृत सदस्यहरुको विवरण गैरआवासीय नेपाली संघको केन्द्रीय प्रणाली (एमआईएस) मा नाम दर्ता गरेको हुनुपर्नेछ । यसको सम्पूर्ण जिम्मा नेपालको एक कम्पनीलाई टेण्डरमार्फत दिइएको संघका महासचिव शर्माले जनाए ।

सो कम्पनीले सचिव गौरी जोशीको नेतृत्वमा रहेको स्मार्ट एनआरएनए कमिटीसँग संयोजन गरेर काम गर्नेछ । गैर आवासीय नेपाली संघलाई समयसापेक्ष बनाउंदै अगाडी बढ्न यो प्रोजेक्ट कोषे ढुङ्गा सावित हुने संघले जनाएको छ । स्मार्ट एनआरएनए प्रोजेक्ट प्रयोगमा आएपछि संघका सदस्यहरुको विद्युतीय डाटाबेस तयार गरिने छ ।

सदस्यता फाराम आ–आफ्नो मोबाइलबाट भर्न सकिने छ भने पहिलेको एमआईएस पद्दतीलाई सरल, सुरक्षित र व्यवस्थित गरिने छ । यसैगरी संघका सम्पूर्ण गतिविधि मोबाइल एप्सबाट प्राप्त गर्न सकिनेछ । सदस्यहरुले आ–आफ्नो मोबाइल फोनमा डिजिटल आईडी कार्ड डाउनलोड गर्न सक्नेछन् ।

प्रत्येक सदस्यको युनिक सदस्यता नम्बर हुनेछ, सदस्यता नवीकरण सहज हुनेछ भने संघका बिभिन्न निकायका निर्वाचन विद्युतीय पद्धतीबाट गर्न सकिनेछ । सदस्यहरुले पाउने सुविधा र सहुलियत अनलाइनबाट व्यवस्था गरिनेछ । सदस्यहरुले क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी संघलाई आर्थिक सहयोग गर्न सक्ने छन् भने निर्वाचनमा रजिष्ट्रेसन शुल्क तिर्न घन्टौं लाइन बस्नु पर्ने छैन ।

हरेक राष्ट्रिय समन्वय परिषदको वेभसाइटको व्यवस्था गरिनेछ । वेवसाईटमा एकरुपता ल्याइनेछ भने आईसीसीको वेवसाइटलाई आधुनिकरण गरिनेछ । संघका दस्तावेज, बैंठक, सम्मेलन, प्रोजेक्ट आदिको डिजिटल लाइब्ररी तयार गरिने संयोजक जोशीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू