शनिबार, वैशाख १५, २०८१
22:23 | ०३:०८

भारतमा कोरोनाबाट एकै दिनमा १७ हजार भन्दा बढी संक्रमित

भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

पीटीआई /रासस जुन २६, २०२०

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको दैनिक सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले पनि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ ।

अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २ सय ९६ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोनाबाट कुल सङ्क्रमितको सङ्ख्या चार लाख ९० हजार ४ सय एक  पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ३ सय एक जनाको मृत्यु भएको छ । तीमध्ये ४सय ७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मन्त्रालयले स्थानीय समयानुसार शुक्रबार बिहान ८ बजेसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो ।

उनीहरूले भारतमा अहिले पनि एक लाख ८९ हजार ४ सय ६३ जना सङ्क्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । त्यसैगरी अरु दुई लाख ८५ हजार ६ सय ३६ जना सङ्क्रमणमुक्त भएका छन् । यो तथ्याङ्कअनुसार कुल सङ्क्रमितमध्ये ५८.२४ प्रतिशत बिरामी सङ्क्रमणमुक्त भएका छन् । यसलाई सरकारी अधिकारीहरूले सकारात्मक सङ्केतका रुपमा व्याख्या गरेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकामध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशका रहेका छन् । महाराष्ट्र प्रदेशमा मात्रै एक दिनमा १ सय ९२ जनाको मृत्यु कोरोनाकै कारण भएको छ । त्यसैगरी, केन्द्रीय राजधानीसमेत रहेकाे दिल्ली प्रदेशमा ६४ जना, तमिलनाडुमा ४५ जना, गुजरातमा १८ जना, पश्चिम बङ्गाल र उत्तर प्रदेशमा १५/१५ जना, आन्द्र प्रदेशमा १२ जना, हरियाणामा १० जना, मध्य प्रदेशमा आठ जनाको पनि पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

मन्त्रालयकाअनुसार पञ्जाबमा सात जना, कर्नाटकमा छ जना, तेलङ्गनामा पाँच जना, राजस्थानमा चार जना र जम्मु कश्मिरमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू