बुधबार, वैशाख १२, २०८१
10:06 | १४:५१

विश्वभर कोरोना संक्रमितको संख्या ९५ लाख नाघ्यो

रासस–एएफपी जुन २५, २०२०

लन्डन– महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ४३ हजार पुगिसकेको छ जसमध्ये करिब ५२ लाख मानिस निको भएर डिस्चार्ज भएका छन् । करिब ५८ हजार मानिस अहिले पनि कोरोनाभाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् ।

कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरीजस्ता सामान्य नियम समेत तोड्न थालिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी समेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारतजस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिनेक्रम रोकिएको छैन ।

अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ ।

अमेरिकामा सङ्क्रमित हुनेको संख्या २४ लाख ६२ हजार ७ सय ८ पुगेको छ । ब्राजिल र रुस अमेरिकापछिको सबैभन्दा बढी प्रभावित राष्ट्र हुन् । यसैगरी भारत चौथो र बेलायत पाँचौं सबैभन्दा बढी प्रभावित राष्ट्र अन्तर्गत पर्दछन् ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ४२ हजार ७ सय २५ जना नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा हालसम्म २४ लाख ६२ हजार ७ सय ८ जना कोरोना संक्रमित रहेका छन् भने ब्राजिलमा ११ लाख ९२ हजार ४ सय ७४ जना संक्रमित छन् ।

तेस्रो संक्रमित मुलुक रसियामा ६ लाख १३ हजार ९९४ र चौथो मुलुक भारतमा ४ लाख ७४ हजार २७२ जना संक्रमित रहेका छन् । बेलायतमा ३ लाख ६ हजार ८ सय ६२ जना कोरोनाबाट संक्रमित रहेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू