बिहीबार, वैशाख ६, २०८१
11:00 | १५:४५

आमाको जन्मदिनमा विपन्न परिवारलाई राहत

शिवजी श्रेष्ठ जुन २४, २०२०

लन्डन ।  जन्मदिन मनाउने भन्ने बित्तिकै विभिन्न भोजभतेरसहित महँगो उपहारको चित्र सबैको मानसपटलमा आउंछ । तर ओखलढुंगाका एउटा परिवारले भने आफ्नो आमाको जन्मदिनलाई फरक ढंगले मनाएका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा न ११ का होम बहादुर श्रेष्ठ तथा प्रेम कुमारी श्रेष्ठका सन्तानले आफ्नी आमा प्रेमकुमारी श्रेष्ठको ८१ औ जन्मदिनमा अहिलेको विश्वव्यापी महामारी बनेको कोभिड-१९ को कारण लकडाउनमा परि काम र मामविहिन हुन पुगेका केहि विपन्न परिवारहरुलाई दैनिक जीवनयापनको लागि अत्यावश्यक सामग्रीहरु वितरण गरेर मनाएका छन् ।  

सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो राहत वितरण कार्यक्रममा मेयर मोहन श्रेष्ठले सम्पूर्ण विश्व नै कोभिड १९ रोगसंगै भोकले आक्रान्त भएको बेला यसरी आफ्नी आमाको जन्मदिनमा विपन्न परिवारलाई राहत वितरण गरेर जन्मदिन मनाउने सोचबाट आफू प्रभावित भएको बताए । यसैपनि सामाजिक कार्य गर्ने मान्छे धेरै कम रहेको भन्दै उनले  देश-विदेशमा रहेका सन्तानहरुले यस्तो अवस्थामा आफ्नी आमाको जन्मदिनमा यसरी दीन दुखीलाई राहत दिनु सह्राहनीय कार्य हो भने । 

यसैगरी सोहि नगरपालिकाका उपमेयर इच्छा गुरुङले आफ्नो खर्च कटाएर आफ्नो आमाको जन्मदिनमा विपन्न परिवारलाई राहत बाडेर पुण्य कर्म गरेको उनै आमाका सन्तान शिवजी श्रेष्ठले ३ दिन अगाडि आफ्नी श्रीमतीको जन्मदिनमा पनि यसरी नै इलाममा राहत बाडेर जन्मदिन मनाएको सन्दर्भमा यो परिवार सबैको लागि उदाहरणीय रहेको बताइन् । त्यस अवसरमा परिवारको तर्फबाट बुहारी सम्झना श्रेष्ठले आमा-बुवाको इच्छा बमोजिम ‘हुने खानेलाई हैन, हुँदा खाने’ को लागि केहि गरौ भनेर नै यस कोभिड-१९ महामारीमा कुनै  परिवारको चुल्हो निभ्न नपाओस्  भन्ने उदेश्यले समाजसेवी र जनप्रतिनिधिहरुको समेत सहभागिता र सिफारिसमा छानिएकाहरुलाई आज राहत वितरण गरिएको जनाइन् । 

आजभन्दा ५ वर्षअघि उनीहरुले आफ्ना बुवा-आमाको नाममा सामाजिक संस्था गठन गरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्धेश्यले होम बहादुर-प्रेम कुमारी ट्रष्टको नाममा विभिन्न स्थानमा सहयोग पुर्याउदै आएका छन्  ।

ओखलढुंगामा आफूहरु पढेको विद्यालयमा इ-लाइब्रेरी स्थापना गरेर आफ्नो कार्य शुभारम्भ गरेको ट्रष्टमा सीमाविद बुद्धिनारायण श्रेष्ठको अध्यक्षतामा अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा शंकर खनाल, सर्बोच्च बारका अधिवक्ता श्रीमती लक्ष्मी पोखरेल, जनक शिक्षा सामाग्री केन्द्र ३ न प्रदेशका निमित्त इन्चार्ज रामविनय श्रेष्ठ , खानेपानी संस्थान, काठमाडौँका अधिकृत कल्पना मानन्धर लगायतका व्यक्तित्व छन् । 

राहत वितरणका अवसरमा ट्रष्टका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले अहिलेको बिकराल परिस्थितिले गर्दा आफू सशरीर उपस्थित हुन् नसकेपनि यस ट्रष्टका संरक्षक प्रेम कुमारी श्रेष्ठको जन्मदिनमा केहि विपन्न परिवारलाई राहत वितरण गर्ने कार्यमा सहयोग गर्नेहरुलाई धन्यवाद दिदै पठाएको संदेश पढेर सुनाइएको थियो।

करिब २ दर्जन परिवारलाई ३० किलो चामल सहित दाल, नुन, तेल, चना,मसला लगायतका सामग्री प्रदान गरिएको थियो। राहत सामग्री ओखलढुंगा क्याम्पसका प्रमुख  तथा जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सुमन राजभण्डारी, उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के, ओखलढुंगा पारस्परिक गुठीका अध्यक्ष लगायतका पदाधिकारीको हातबाट वितरण गरिएको थियो भने कार्यक्रमको मुख्य संयोजन केन्द्र श्रेष्ठले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू