शनिबार, वैशाख ८, २०८१
06:48 | ११:३३

दक्षिण कोरियाले पाकिस्तानी र बंगलादेशी नागरिकलाई प्रवेशाज्ञा नदिने

रासस जुन २२, २०२०


सोल । दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने बताएको छ । दक्षिण कोरियाको योनहाप समाचार समितिले मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यो निर्णय गरेको जनाएको छ ।

तर, दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका कूटनीतिक क्षेत्रका कर्मचारीहरुका साथै अत्यावश्यक व्यापारिक प्रयोजनका लागि प्रवेशाज्ञा आवश्यक परे दिने पनि जनाएको छ । दक्षिण कोरियामा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले ती संक्रमितहरु पछिल्ला केही दिनमा पाकिस्तान र अफगानिस्तानबाट गएका नागरिकमा देखिएको बताएका छन् ।

सोही कारणले ती देशबाट हुने आवागमनलाई सरकारले रोक्ने जनाएको छ । साथै सरकारले ती देशबाट दक्षिण कोरियामा भइरहेका उडानहरुमध्ये नियमित बाहेकका अरु उडानलाई पनि हालका लागि रोक्ने जनाएको हो ।

शनिबारदेखि यहाँ ठूलो संख्यामा नयाँ संक्रमित भेटिएका बताइएको छ । निकै लामो समयपछि यहाँ एकै दिन यतिधेरै मानिस संक्रमित भेटिएका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले गत शनिबारमात्र ६७ जना संक्रमित भेटिएको बताएका थिए । गत मे २८ पछि यहाँ पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देशका रुपमा मानिन्छ । यहाँ पछिल्लो समयमा उक्त प्रकोप नियन्त्रणमा रहेको पाइएको छ । प्राप्त समाचारमा यहाँ गत शनिबारको तथ्यांकमा १२ हजार ३७३ जना संक्रमित छन् । साथै यहाँका २८० जना नागरिकको यो भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू