बिहीबार, वैशाख १३, २०८१
18:30 | २३:१५

अमेरिकाले अफगानिस्तानबाट करिब पांच हजार सेना हटायो

रासस–एपी जुन २१, २०२०


वासिङ्टन, ७ असार – संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसंगको सम्झौता बमोजिम करिब पांच हजार अमेरिकी सैनिकको संख्या कटौती गरिएको हो ।

अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले अफगानिस्तानमा तैनाथ अरु सैन्यबल कहिलेसम्ममा फिर्ता भइसक्छन् भन्ने बारेमा भने बताएनन् । तालिबानसंगको सम्झौता अनुसार अफगानिस्तानमा तैनाथ सबै अमेरिकी र अन्य विदेशी फौज आगामी सन् २०२१ को मे महिनाभित्र फिर्ता भइसक्ने छन् ।

तर जनरल म्याकेन्जीले थप सैन्य कटौतीका लागि तालिबान समूहले पनि आफ्ना प्रतिवद्धता पूरा गर्नुपर्नेमा जोड दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान मिसनको कार्य पूरा भइसकेकाले अमेरिकी फौज फिर्ता गरिने बताउंदै आएका छन् । उनले अमेरिकी सेना अफगानीहरुको आन्तरिक मामिला सुल्झाउन लामो समय अफगानिस्तानमा बस्न नसक्ने बताए ।

अमेरिकी फौज अफगानिस्तानमा सन् २००१ अक्टोबरदेखि तैनाथ छ ।

जनरल म्याकेन्जीले तालिबान समूहसंगको सम्झौतालाई अमेरिकाले कार्यान्वयन गरिरहेको जानकारी दिए ।

आस्पेन स्ट्राटेजी ग्रुपको वेबीनारमा बोल्दै म्याकेन्जीले भने, ‘हाम्रा सेनालाई लक्षित गरी तालिबान समूहबाट आक्रमण हुन छाडेका छन् । अहिले अमेरिका लक्षित केही घटनाहरु अल–कायदा र इस्लामिक स्टेट्सले गराएका छन् ।’

गत फेब्रुअरीको सम्झौतामा तालिबान समूहले अफगानिस्तानमा कुनै पनि अन्य आतंकवादी समूहलाई आश्रय नदिने वा अमेरिका विरुद्ध आक्रमण हुनबाट रोक्ने उल्लेख छ ।

उनले भने, ‘तालिबानले आफूले व्यक्त गरेका प्रतिवद्धता पूरा गरेको छ छैन् भन्ने हामी नियालिरहेका छौं । उनीहरुसंग शान्तिपूर्ण अफगानिस्तान निर्माण गर्ने अवसर छ, तर समय निकै घर्किरहेको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू