शनिबार, भदौ २२, २०८१
14:54 | १९:३९

कोरियाबाट २ सय ३६ नेपाली शनिबार फर्किंदै

रासस जुन १९, २०२०

सउल । दक्षिण कोरियामा प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २ सय ३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ ।

नेपाली दूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल उड्न लागेको हो ।

नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञा अवधि सकिएका तथा तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरी सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको छ । तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्ये १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रही प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली संघ कोरियाका महासचिव विमल सुवेदीले बताए ।

यात्रुले टिकटवापत झण्डै रु ८५ हजार तिरेका छन् । यसका साथै नेपाल पुगेर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वारेन्टिन र क्वारेन्टिन अवधि सकिएपछि घर पुग्नुपर्ने सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने बताइएको छ ।

नेपाल उड्ने यात्रुले उड्नुअघि पिसिआर जाँच गराएर सबैको रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ । पोजेटिभ आएमा उडान अनुमति नहुने बताइएको छ । स्वदेश फर्किन चाहने अन्य यात्रुका हकमा भने अर्को चार्टर्ड विमान कहिले उड्ने वा नउड्ने भन्नेबारे बताइएको छैन । 

यसअघि पटकपटक नेपाल एयरलाइन्सको चार्टर्ड विमान काठमाडौंदेखि कोरिया र कोरियाबाट पुनः काठमाडौँ उडाउने भनिए पनि कोरिया सरकारको विभिन्न नियम पूरा गर्न नसक्दा उक्त उडान अझै अनिश्चित छ । यससँगै नेपालमा अड्केका नेपाली मजदूर कहिले कोरिया फर्कने भन्ने पनि अन्योल नै छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू