शनिबार, वैशाख १५, २०८१
23:01 | ०३:४६

जागरण गान

दुर्गाप्रसाद पोख्रेल जुन १६, २०२०

बोकी मीठो श्रम र पसिना-राष्ट्र भन्दैछ,आऊ
नेपाली हो! वन मुलुकको चेतना, जग्मगाऊ
धर्ती मिच्ने शठ दनुज हुन् मित्र हैनन् बुझाऊ
नेपाली हो! दल र हलको स्वार्थ छोडेर आऊ ।१।

आफू आफैं अमर, पृथिवी, वीरभद्रादि जस्तै
आभा छर्दै समर कसिलो भक्ति थापा दुरुस्तै
त्यागौं निद्रा र विगुल बजून् आत्मचैतन्यबाट
सीमानाको रिपुगण उता फर्कियोस् लाजसाथ ।२।

नेपाली हो! क्षय अति भयो राष्ट्रको वीरताको
कैलेसम्मन् विकलित हुँदै खानु खप्की उताको?
लोहा तात्यो यसपटक यो ठोक बोकेर ढंग
अर्को मौका नकुर जन हो! भाग्यले फेर्छ रंग ।३।

नेपालीको रगत अहिले जुर्मुराइरहेछ
मानौं यौटा सुखद दिनको प्राप्ति हाम्रो हुँदैछ
यस्तो मौका युग युग हुँदै बल्ल बाटो लिंदैछ
हाम्रो आशा मुखरित हुँदै सत्य भै झल्किदैंछ ।४।

कालापानी विषय अति नै बल्झिएको छ घाऊ
नक्शा फेर्यौ, निडर बलियो टेक्नुपर्नेछ पाउ
वार्ता खोजौं, यदि शकुनिले गर्न खोजे त भंग
ढ्यांग्रो ठोकौं भुवन सबमै न्यायको होस् तरंग ।५।

मेची काली समर विजयी राष्ट्र होस्,विश्व देखोस्
नेपालीको अमर प्रतिभा वीरता भाग्य लेखोस्
माटो हाँसोस् पशुपति उठून् धन्य होस् मातृभूमि
एकै ढिक्का जन जब हुनन् बन्छ रे स्वर्ग भूमि ।६।

छन्द: मन्दाक्रान्ता
१४ जुन २०२०, लण्डन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू