बिहीबार, वैशाख १३, २०८१
14:12 | १८:५७

आरजीएनएसद्वारा रुकुममा राहत वितरण

बेलायत र नेपालका सांसदद्वारा प्रशंसा

नेपाली लिङ्क जुन १६, २०२०

लन्डन । साउथ इष्ट लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी (आरजीएनएस) ले रुकुमको सानी भेरी गाउँपालिका ३ मा सोमबार ४० घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । कोरोनाका कारण श्रमजीवी समुदायमा उत्पन्न खाद्य संकट समाधान गर्न संस्थाले राहत स्वरुप प्रति घर १ बोरा चामल, ३ किलो दाल, २ लिटर तेल र २ पोका नुन प्रदान गरेको हो ।

आरजीएनएस अध्यक्ष शर्मिला हिराचन थकालीका अनुसार उक्त खाद्यान्न वितरणका बेला जुममार्फत अनलाइन कार्यक्रम पनि आयोजना गरिएको थियो । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएन यूके) का सचिव एवम् आरजीएनएसका उपाध्यक्ष जीत रानाभाटले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

आरजीएनएसका ४६ जना सदस्यहरुबाट सहयोग संकलन गरिएको रकम सही ठाउँमा जाओस् भन्नका लागि ब्रिटिस र नेपाली सांसदलाई साक्षी राखेर राहत वितरण गरिएको रानाभाटले बताए । उक्त राहत वितरण कार्यक्रमका प्रमुख अतिथि नेपालमा रुकुमबाट रास्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद ठगेन्द्रप्रकाश पुरीले कोरोनाको कहर विरुद्धको लडाईंमा स्वदेश र विदेशमा रहने नेपाली नागरिकहरुको संगठित एकता, संयमता र सहकार्य आवश्यक रहेको बताउदै विषम परिस्थितिमा राहत प्रदान गरेर संस्थाले उच्च मानवीय काम गरेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि बेलायतको इरिथ एन्ड थेम्समीडका सांसद अबेना ओपेङ असरेले कोरोनाको महामारीविरुद्धको लडाईंमा बेलायत सधै नेपाल र नेपालीहरुको साथमा रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उनले आरजीएनएसले ब्रिटिश समाज र नेपाली समुदायमाझ गरिरहेको कार्यको प्रशंसा गर्दै आफू विगतमा झैँ आगामी दिनमा पनि सहकार्य गर्न तत्पर रहेको बताइन् । कोभिड–१९ बाट विचलित नभइ आफू जन्मेको देशलाई राहत वितरण गर्ने कार्यक्रममा सहभागी हुन पाउंदा खुशी लागेको बताउदै आरजीएनएसलाई धन्यवाद व्यक्त गरिन् ।

सानी भेरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर्ख बहादुर बिष्टले राहत बितरण गर्ने सस्था र सहयोगी हातहरुप्रति धन्यवाद व्यक्त गरेका थिए । राहत वितरणको संयोजन नेपाली वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष धनबहादुर सार्कीले गरेका थिए ।

आरजीएनएस महासविब मञ्जु भण्डारीले सानो सहयोगले कसैको मुहार किन उज्यालो नपार्ने भन्ने अभियानमा संस्थाले सहयोग गरेको बताउदै स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बेलायतबाट एनआरएनए आइसीसी सदस्य तथा आरजीएनएस उपाध्यक्ष लीलादेवी गुरुङ, संस्थाका पूर्व अध्यक्ष हरि गोविन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, सल्लाहकारहरु श्याम शेरचन, एनआरएन इंग्ल्याण्डका अध्यक्ष दिपक श्रेष्ठ, योगेश गुरुङ, एनआरएनए यूके कार्यसमिति सदस्य ह्यारी गुरुङ, पत्रकार शिव भण्डारी तथा तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ, नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति कार्यकारी निर्देशक डा. बुद्धि नेपाली लगायतले सम्बोधन गरेका थिए ।

आरजीएनएस अध्यक्ष शर्मिला हिराचन थकालीले सहयोगी तथा राहत वितरणमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू