शुक्रबार, चैत १६, २०८०
11:37 | १७:२२

बेलायतमा हामीलाई किन चाहिन्छ मन्दिर र गुम्बा ?

बिक्रम भट्टराई जुन १४, २०२०

शिव मन्दिर निर्माणका लागि खरिद गरिएको भवन

१४ वर्ष पहिले जब हाम्री आमा बेलायत घुम्न आउनुभयो, त्यति बेला बेलायतमा नेपालीहरुको चाप हिजो आजको जति थिएन । पुरै गाउं नै आफ्नै र गाउंलेहरु सबै आफ्ना बनाएर बस्नु भएकी ‘सुबेदार मेजर्नी साहेब’ मेरी आमालाई बेलायतको पांच महिने बसाई कति सकस भयो होला भन्ने कुरा तब मात्रै मैले हेक्का पाएं जब आमाको नेपाल फर्किने फ्लाइट तय भएपछि उहां बैठक कोठामा रहेको भित्तेपात्रो हेर्दै दिन गन्न थाल्नुभयो । त्यति बेला हामी दुवै श्रीमान श्रीमति लगभग पुरै दिन जागिरमा जानुपर्ने, छोराछोरी पनि स्कुल जाने अनि आमा मात्रै घरमा एक्लै बस्नुपर्ने । त्यतिबेला हामीले घर पनि किनेका थिएनौं, भाडाको दुई बेडरूमको अपार्टमेन्ट, बारीमा गोडमेल, खन्ने कुरा पनि थिएन । हामीले सोच्यौं आमा यहीं (बेलायत) हुंदै एउटा घर लिनुपर्छ र आमाकै रोजाइको घर लिएर आमाले नै पहिलो छाक खाना पकाएर खाना खाएपछि त्यो घर ‘हाम्रो घर’ हुनेछ ।

भयो पनि त्यस्तै, स्थानीय स्टेट एजेन्सीमार्फत चारवटा घर देखाइयो र हाम्री आमाले अहिले हामी बसेको घर रोज्नु भयो अनि हामी घरमा सर्यौं । आमाले घर सरेको केही दिनमा नै कयौं वर्ष बांझो बारीलाई खोस्रेर करेसाबारी बनाउन मिल्ने बनाउनु भयो । तर, संगसगै आमाको नेपाल फर्कने दिन पनि आइहाल्यो । आमालाई पुरयाउन हिथ्रो एयरपोर्टतिर लाग्दै गर्दा बाटोमा मैले आमालाई सोधेको थिएं ‘आमा कस्तो लाग्यो बेलायतको बसाई र दिनचर्या ? अनि कहिले आउनु हुन्छ फेरी बेलायत घुम्न?’ त्यसबेला आमाले भन्नुभयो ‘यहां सबैथोक छ, सरसर्ती हेर्दा केही कुराको कमी महशुस देखिन्न तर नेपालीहरुको आफ्नै एउटा मन्दिर नहुंदा घरै बसाएको तरकारीको बास्नाका कारण हतार हतार खाना खान बस्दा तरकारीमा नुन हाल्न 
बिर्सेर ‘च्यांख्ख’ परेको जस्तो लाग्यो मलाई त । एउटा आफ्नै नेपाली पाराको मन्दिर हुने हो भने सबै कुराले सम्पन्न हुने थियो ।’

आमाका कुरा मेरो मनमा हुंदाहुंदै पनि खासगरी आर्थिक र अन्य विभिन्न कारणले गर्दा तत्काल केही गर्न सक्ने स्थिति थिएन । तर त्यही २००६ तिरै होला मैले के थाहा पाएं भने केही स्थानिय नेपाली सामाजिक व्यक्तित्वहरु र भारतीय मूलका महानुभावहरु मिलेर अल्डरसट वा यसैको वरपर एउटा मन्दिर निर्माणमा जुट्दै हुनुहुन्छ । सन् २००७ मा म पनि त्यो अभियानमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सहभागी हुन सुरु गरें र हामीले स्थानिय नियमलाई मध्यनजर गर्दै शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रको नामबाट आराध्यदेव श्री पशुपतिनाथको मन्दिर बनाउने मनसाय राखेर अगाडि बढ्यौं ।

बेलायत जस्तो अलिखित कानूनले बांधेको र हरेक तह तप्कामा कानून शिरोधार्य गरेर चलेको देशमा मन्दिर बनाउने सोच बनाउंदैमा सहजै नहुने रहेछ भन्ने कुरा हामीलाई त्यतिबेला थाहा भयो जब हामीले कयौं साइटहरु वा निकै पुराना चर्चहरुलाई मन्दिरमा परिणत गर्न स्थानिय निकायमा गरेका प्रयास विफल हुन्थे । सरसर्ती हेर्दा धर्म निरपेक्ष देश भनेर भनिएपनि यहां कुनैपनि धार्मिक गतिविधि गर्न निकै कडा नियम पालना गर्नुपर्ने, हरेक धार्मिक गतिविधि वहुमत समुदायसंग जोडिनुपर्ने, समुदायको कुभलो हुने, समुदाय मा समस्या पैदा गर्नेखालका कुनैपनि गतिविधि गर्न नपाउने भएको हुनाले यी यावत कुरा पालना गर्नुपर्ने त थियो नै ।

त्यो भन्दा महत्वपूर्ण पक्ष आर्थिक जोरजामको कुरा थियो जसका कारण हामी (शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टर) ले लगभग १२ वर्ष कुनै ठोस उपलब्धि नगरी बिताएको पत्तै पाएनौं । तर भनिन्छ नि ‘ईश्वरले हामीलाई लिने पहिलो परीक्षा नै धैर्य गर्न सक्छौं वा सक्दैनौ भन्ने हो ।’ हामीले १२ वर्षको अथक प्रयास र धैर्यपछि गत २०१९ को सुरुवात मै हाम्रै समाजका केही सकारात्मक व्यक्तित्वहरुको सद्भावनाका कारण एउटा पुरानो चर्च तीन लाख पाउण्डमा पहिलोपटक पुरै नगद जम्मा गरेर किनेका छौं र यो पुरानो भवनलाई पूर्ण मन्दिरमा परिणत गर्न लागिपरेका छौं । यो कार्यमा हाम्रा नेपाली समाजका धेरै सकारात्मक व्यक्तित्वहरुको ठूलो योगदान छ । यसमा कसको कति योगदान छ भनेर तुलना गर्न सम्भवत गलत हुन सक्छ किनकि जतिबेला हामीलाई कुनैपनि हालतमा हाम्रै मन्दिर हुनुपर्छ भनेर सुरुमा सोच बनाउने र अहिले आएर कयौं हजार पाउण्ड र अनगिन्ती समय दिनेहरुको योगदान उस्तै उस्तै हो जस्तो लाग्छ मलाई । हुन त जब हामीले मन्दिरका लागि भवन भेट्यौं त्यसको निम्ति चाहिने तीन लाख दश हजार पाउण्ड चार महिनामै हाम्रै नेपाली समुदाय र केही भारतीय तथा अन्य मुलका स्थानियबाट उठाउन सफल भएका हौं ।

स्कटल्याण्ड बस्ने हुन् वा वेल्स्, अथवा न्यूक्यासल देखि ब्लाकपुल हुंदै पुरै लण्डन अनि प्लमस्टेड लगायत जहां जहां नेपाली हुनुहन्छ सबैले सहयोग गरिरहनु भएको छ । अनौठो र गर्व लाग्ने कुरा त के भने एउटै घरबाट एकातिर व्यक्तिगत सहयोग छ भने अर्कोतिर उही संलग्न संस्थाबाट पनि आर्थिक सहयोग गरेको रेकर्ड हामीसंग छ । प्रायः बेलायतमा रहेका जातीय, क्षेत्रीय देखि जिल्लाका संस्थाहरुको समेत सहयोग रहेको यो मन्दिरमा कुनैपनि धार्मिक, जातीय, लैङ्गिक वा वर्णका आधारमा कसैलाई भेदभाव गरिएको छैन् र आगामी दिनहरुमा पनि गरिने छैन् ।

अब आऔं हामीलाई किन मन्दिर र गुम्बा चाहिन्छ चर्चा गरौं । तपाईं हाम्रो बानी के छ भने मन्दिर, मस्जिद गुम्बा या चर्च भन्ने बितिकै त्यसलाई केवल धार्मिक आंखाले मात्रै हेर्छौं । हामी त्यहां हरेक गतिविधिलाई धर्मसंग मात्रै जोडेर हेर्छौ जुन मेरो विचारमा गलत हो । मन्दिर र गुम्बाहरुले हामीलाई धार्मिक बनाउन भन्दापनि हाम्रो जीवन सरल सहज र एउटा नजानिंदो हिसाबले नियममा बांधेर अगाडि बढाएको छ, हाम्रा सम्वन्धहरु नवीकरण मात्रै गरेको छैन् बलियो पनि बनाएको छ । हामीलाई सामाजिक हुन सिकाएको हुन्छ, मिलेर र बांडेर खान सिकाएको हुन्छ । हाम्रा बालबच्चालाई एक आपसमा बोलेर धेरै कुरा 
आदानप्रदान गराउने केन्द्र बनाएको हुन्छ । त्यस्तै हाम्रा मन्दिर गुम्बाहरुबाट हाम्रा पूर्व गोर्खा तथा तिनका परिवारलाई विभिन्न किसिमका चेतनामुलक तालिम तथा जानकारी दिने र लिने कामहरु भइरहेको छ । केही महिना पहिले मात्रै यही मन्दिरमा तीसजना भन्दा धेरै पूर्व गोर्खालाई स्थानिय एउटा संस्थाको नेतृत्वमा भाषा कक्षा सञ्चालन गरिएको थियो । त्यस्तै साना केटाकेटीका लागि हाम्रो परम्परागत र संस्कृतिका बारेमा आइतबार कक्षा सञ्चालन गरिन्छ ।

लेखक बिक्रम भट्टराई

त्यसो त सुरुवातमा हामीले हाम्रै एउटा मन्दिर बनाउन लाग्नुपर्छ भनेर भन्दैगर्दा एकजना निकै दिग्गज सामाजिक व्यक्तित्वले ‘हेर बिक्रम यो मन्दिर बनाउने जस्तो उपलब्धिविहीन (ननप्रडक्टिभ) काममा समय र पैसा खर्च नगरौं’ भन्नु भएको थियो । तर केही समयको अन्तरालमा उहांहरुनै परिवारसहित लगभग दुईसय माइलको यात्रा गरेर अल्डरसटस्थित मन्दिर र गुम्बा दर्शन गरेर जानुभयो । भन्दै हुनुहुन्थ्यो ‘भाउजुलाई बेला बेलामा यस्ता मन्दिर र गुम्बाहरुमा आइरहनुपर्छ ।’ तपाईं हामी लगभग सबै नेपालीहरुको बेलायत बस्दै गरेको पुस्ता पहिलो वा दोश्रो हो । हामी धेरैको शरीर यहां छ तर मन भने अझै नेपालमै छ । फेरी हाम्रो धर्म र परम्परा अथवा संस्कृतिबीचमा अनुन्याश्रित सम्वन्ध रहेको पनि जगजाहेरै छ ।

एउटा सानो उदाहरण, हामी धेरै बेलायती नेपालीको घरको ढोकामा दुवैतर्फ तामाको गाग्री वा अंखरामा पानी भरेर फूलसहित राख्ने चलन अझ बढ्दो छ, घट्दैन् । हामी गाउंमा माटो ढुङ्गा, बोटविरुवा, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा, पशुपंक्षी, हावा पानी, आकाश पाताल, इष्टमित्र, नाता कुटुम्ब, बाआमा, श्रीमति र श्रीमान अर्थात हरेक कुरामा ईश्वर छ र तिनीहरुलाई कहीं न कहीं प्रतिनिधि बनाएर पुज्ने चलन छ । अर्थात यो चराचरमा इश्वर नभएको कहीं कतै छैन् भन्ने मान्यता छ । यसको मतलब हो हामी नितान्त प्रकृतिपूजक हौं ।

हामीलाई हाम्रो संस्कार र संस्कृति समयसापेक्ष परिमार्जित र सर्वस्वीकार्य पनि बनाउन आवश्यक छ । हामीले सन्ततिलाई हस्तान्तरण गर्नैपर्ने त्यस्तो कुनै कुरा छ भने त्यो हाम्रो संस्कृति र परम्परा हो । यसका निम्ति पनि हामीलाई संसारको जुन कुनामा गएपनि धर्म संस्कृतिसंग जोडिएर आउने कुराहरुको जगेर्ना गर्नुपर्छ । तपाईं हामी प्रायः सबै न त पब कल्चरबाट आयौं न त क्लव कल्चरबाट नै आएका हौं । अहिले पनि अधिकांश लाई स्थानिय पवमा गएर एकआपसमा भेट हुने या क्लवमा भेट हुने बानी छैन् । अब कसैको रेस्टुरेन्ट या क्याफेमा जाउं भने त्यहां न हाम्रा मनका कुरा खुलेर गर्न पाइएला न त फ्रिमा पानी नै मागेर पाइएला । उमेर ढल्किंदै गएपछि पक्कैपनि अहिलेको जति काममा व्यस्त पनि नभइएला । त्यो बेला साथीभाई, इष्टमित्र भेट्न कसैको घरमा नै जानपनि विभिन्न कारणले उपयुक्त नहोला । अब त्यस्तो बेलामा हाम्रो भेटघाट हुने सहज स्थान भनेको यही मन्दिर या गुम्बाहरु हुनेछन् ।

अहिले पनि तपाईं हामीलाई थाहै छ नेपाली वृद्धावस्थाका बुबाआमाहरु गुम्बामा गएर दिन बिताउनु हुन्छ, खाना पकाउनु हुन्छ संगै खानुहुन्छ र रमाउनु हुन्छ । पछि शिव मन्दिर तयार भएपछि त्यहां पनि त्यस्तै जमघट हुनेछन् र त्यसरी नै घरमा बसेर दिक्क हुनेहरुलाई खुशी हुने वातावरण बनाउने सोच छ । त्यस्तै जब जब उमेर ढल्किंदै जान्छ तब मानव केही हदसम्म आस्तिक पनि बन्दै जाने रहेछ । भोलि तपाईं हामीमा पनि त्यो आस्तिकपन अहिलेको भन्दा धेरै हुंदै गएमा हामीलाई नै मन्दिर या गुम्वामा गएर समय बिताउन मन लाग्ने छ । त्यसकारण हामीलाई हाम्रा प्रतिष्ठाका धरोहर मन्दिर या गुम्वाहरु अथवा चर्चहरु बनाउन अत्यावश्यक छ । अब बिस्तारै हाम्रा सन्तानहरुको बिहेवारीका कुरा आउन थालेका छन् । कयौंका छोराछोरीहरुले यहींका गोरा या अन्य सम्प्रदायका सदस्यहरुसंग बिवाह गर्न थालेका छन् । कतिले हामी नेपाली कल्चर अनुसार बिवाह गर्न चाहन्छौं भन्न सुरु गरेका छन् । अब त्यस्तो अवस्थामा हामीसंग हाम्रै मन्दिर या गुम्बामा लगेर बिवाह सम्पन्न गर्नेलाई पनि मन्दिर र गुम्बा आवश्यक परिरहनेछन् । जन्मदिन देखि मृत्यु संस्कार, बिवाह व्रतवन्ध देखि छ्योरसम्म, हाम्रा पितृहरुका निम्ति श्राद्ध देखि ग्रह काट्नेसम्म अथवा मन गरुङ्गो भएको बेला हल्का बनाउने स्थान देखि लिएर योगअभ्यास गर्ने 
ठाउंसम्म हाम्रा जीवनका सर्वपक्षीय पाटोसंग सम्वन्धित छन् मन्दिर गुम्बाहरु ।

भनिन्छ, मानव सभ्यताको विकासका क्रममा जब मानवहरु घुमन्ते युगमा प्रवेश गरे, त्यतिबेला उनीहरु घुम्दै हिंड्ने क्रममा कुनै नयां ठाउंमा सर्ने बितिकै आफूहरु बस्ने घर बनाउन भन्दा पहिले आफ्ना ‘इष्टदेवता’ का निम्ति घर बनाउंथे रे । अब तपाईं हामी त एक्काईसौं शताब्दीका ज्ञान, बल बुद्धि र धनले सुसज्जित छौं भने किन हाम्रा अग्रजहरुले मान्दै आएका आराध्य देव पशुपतिनाथको मन्दिर कै सहअस्थित्व सहितको शिव मन्दिर नेपाल देखि सात समुन्द्रपारी बेलायत आएर बनाउन नकस्सिने ? आउनु होस् हामीलाई सहयोग गर्नुहोस् र हाम्रो आफ्नै मन्दिर बनाएर एकपटक आफैंमा गर्व गरौं । यो कुनै एक व्यक्ति या कुनै एउटा समूहले मात्रै बनाउन र संचालन गर्न सम्भव छैन् । तपाईं हामी सबैको रचनात्मक सहयोग बिना केही हुनेवाला छैन् । हाम्रो मन्दिर निर्माणको काम जारी छ । केही रकम अपुग देखिएको छ, तसर्थ कृपया हाम्रा सामाजिक संजालहरु भाइवर, ह्वाट्सएप, फेसबुक तथा वेबसाइट मार्फत जोडिनुहोस् र आफ्नो इच्छा अनुसार सहयोग गर्नुहोस् ।

हामीलाई सहयोग गर्न निम्न बैंक खाता सम्झनुहोला-

Shiva Culture & Community Centre

AC: 41566075

SC:40-08-13
सबैको जय होस् ?????? जय शम्भो…

(लेखक भट्टराई शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसट, बेलायतका महासचिव हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू