शुक्रबार, वैशाख ७, २०८१
14:36 | १९:२१

शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काइंदै, एनआरएनएले सहजीकरण गर्ने

नेपाली लिङ्क जुन ४, २०२०

लण्डन । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु गर्ने भएको छ । पहिलो पटक बर्मा र युएईबाट नेपाली फर्काउन लागिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफलपश्चात सरकारले नेपालीलाई स्वदेश फर्काउन शुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले बताए ।

संघले नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग समेत पटक पटक छलफल गरेको थियो ।

मन्त्रीद्धयले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई जतिसक्दो चाडो उद्धार गर्ने प्रतिबद्धता एनआरएनएसँग जनाएका थिए ।

शुक्रबारबाट सुरु हुने उद्धार कार्यले अर्को हप्ताबाट तिव्रता लिनेछ भने पहिलो चरणमै करिब ४० हजार नेपालीहरुलाई नेपाल फर्काउने सरकारको तयारी छ ।

लामो समयसम्म विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कन सुरु हुने भएसँगै संघका अध्यक्ष पन्तले खुसी व्यक्त गरे ।

नेपालीहरुलाई स्वदेश फर्काउने कार्यमा गैरआवासीय नेपाली संघले सक्दो सहजीकरण गर्ने संघका सबै राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । संघले विश्वभर छरिएका नेपाली दुतावाससंग सहकार्य गर्दै नेपालीहरुको फिर्तीको लागि सहयोग गर्न सबै शाखालाई गत हप्ता नै निर्देशन दिएको थियो ।

पहिलो पटक बर्माबाट २६ जना र संयुक्त अरब इमिरेट्सबाट २ सय ५० जना नेपालीलाई स्वदेश फर्काइने तयारी भएको अध्यक्ष पन्तको भनाइ छ ।

अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारोमा परेका सबै नेपालीहरुलाई धैर्य गरी बस्न र एकअर्कालाई सहयोग पुर्याउन समेत आग्रह गरेका छन् ।

यसअघि संघका विदेशस्थित शाखाहरुले नेपाल फर्कन चाहनेहरुको तथ्यांक संकलन गर्दै आएका छन् । तथ्यांकअनुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची तयार छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू